नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न
- १८ असार मंगलबार, २०८१ | १९:२३:०० मा प्रकाशित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा वीरगञ्जमा सभा सम्पन्न भएको हो।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत आव २०७८।०७९ र आव २०७९।०८० को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७८।०७९ र आ।व।२०७९।०८० को वासलात, नाफानोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गरिएको छ।
त्यसैगरी आव २०७९।०८० का लागि लेखापरीक्षक एसएआर एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गरिएको छ। सभाले आव २०८०।०८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ। साधारणसभाले आव २०७९।०८० को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
साधारणसभाले सञ्चालक समितिमा संस्थापक समूह (क) का शेयरधनीहरूबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का शेयरधनीहरूका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ।
कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले शेयरधनीहरूका सुझाव अवलम्बन गर्न सदैव तयार रहेको कुरा बताए।
प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आव २०७८।०७९ र आव २०७९।०८० मा हासिल उपलब्धि र भावी योजनाबारे बताएका थिए। कम्पनीले आव २०७८।०७९ मा नेपालको समग्र जीवन बीमा बजारको २५.५९ प्रतिशत र आव २०७९।०८० मा २६.०६ प्रतिशत बजार हिस्सा ओगटेको छ।
२०८१ जेठ मसान्तसम्म कम्पनीको लगानी रु. २ खर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ८९ अर्ब १८ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ।
प्रतिकृया दिनुहोस