अर्थतन्त्र

कस्ताे छ अहिले देशकाे अर्थ-स्वास्थ्य ?

काठमाडौं । यतिबेला मुलुककाे अर्थ-स्वास्थ्य कस्ताे छ त ? चासाे हुनु स्वभाविकै हाे । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको सन्देश प्रवाह गरेको छ । राष्ट्र बैंकले सोमबार देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक सार्वजनिक गर्दै आर्थिक सूचकहरू सकारात्मक बन्दै गएको सन्देश प्रवाह गरेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार महँगी घट्दै गइरहेको छ भने कुल विदेशी विनिमय सञ्चिति पनि बढ्दै गएको छ । तर, विज्ञहहरू भने व्यापार घटेर बढेको सञ्चितिलाई सन्तोष मान्न नहुने बताइरहेका छन् । आयात निर्यातलाई कडाइ गरेर विदेशी मुद्राको सञ्चिति बढ्नुलाई खुसी मान्न नसकिने धारणा विज्ञहरूले राखिरहेका छन् ।

चालु आर्थिक वर्षको बैशाखसम्म मूल्यवृद्धि ४.४० प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत थियो । बैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ । यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप/समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ ।

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप/समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५५ प्रतिशतले घटेको छ ।

शोधनान्तर स्थिति करिब ४ खर्ब बचतमा

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु खाता र शोधनान्तर स्थिति बलियो बन्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म चालु खाता २ खर्बले बचतमा छ । बैशाखसम्म चालु खाता १ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको बैशाखसम्म चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको थियो ।

विदेशी मुद्रा साढे १९ खर्ब पुग्यो

सरकारको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब पुगेको छ । बैशाखसम्म विदेशी मुद्रा सञ्चिती १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार वि.सं २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थियो । १० महिनाको अवधिमा २६.२ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ । अमेरिकी डलरमा २४.२ प्रतिशत वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ । गत असारसम्ममा ११ अर्ब ७१ करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १७ खर्ब २२ अर्ब २ करोड रुपैयाँ रहेको छ । वि.सं २०८० असारसम्ममा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । १० महिनामा २८ प्रतिशत बढेको बताइएको छ । आर्थिक वर्ष २०८०/८१ को १० महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

१२ खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । बैशाखसम्म ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ०१ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

व्यापार घाटामा कमी

आर्थिक वर्ष २०८०/८१ को दश महिनामा कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले कमी आएर ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब २२ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.११९ अर्ब ६० करोड बराबरको भएको थियो ।

सरकारको खर्च साढे १० खर्ब

दश महिनामा नेपाल सरकारको कुल खर्च १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो दश महिनामा १५.३ प्रतिशतले वृद्घि भएकोमा समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र वृद्धि भएको छ ।

समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ५२ अर्ब ५६ करोड, पँुजीगत खर्च १ खर्ब ११ अर्ब ८८ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ९२ अर्ब ४५ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८ खर्ब ३१ अर्ब ९३ करोड भएको छ ।

गत आर्थिक वर्षको पहिलो दश महिनामा १२.६ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा १० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ७ खर्ब ४६ अर्ब ८३ करोड रुपैयाँ र गैर कर राजस्व ८५ अर्ब १० करोड रुपैयाँ परिचालन भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत