खेल

नेपाल ‘ए’ ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य

काठमाडाैं । एक दिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपाल ‘ए’ ले क्यानडा–११ सामु जितका लागि १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा क्यानडा–११ का कप्तान साद बिन जफरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४७ ओभरमा १ सय ८१ रन बनाउँदा नेपाल अलआउट भयो। 

पहिलो विकेटका लागि ओपनर अर्जुन कुमाल र आशुतोस घिरैयाले १३.५ ओभरमा ५४ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। ओपनर आशुतोष घिरैया १३.५ ओभरमा २८ रन बनाउँदा साद विन जफरको बलमा विकेटकिपर श्रीमान्था विजयरत्नेको हातबाट क्याच आउट भए।  अर्का ओपनर अर्जुन २१ औँ ओभरको दोस्रो बलमा २७ रन बनाउँदा डिलोन हेलिगरको बलमा विकेट किपरकै हातबाट आउट भए।

कप्तान सन्दीप जोरा २३ औँ ओभरको दोस्रो बलमा २४ रन बनाउँदा डिलोन हेलिगरकै बलमा आउट भए। ३१ औँ ओभरको दोस्रो बलमा रासिद खान १९ बनाउँदा कलिम सानाको बलमा आउट भए। ३९ औँ ओभरको चौथो बलमा सुजन थपलिया २० रन बनाउँदा निकोलस कीर्तनको बलमा एलबीडब्लु धरापमा परे। 

बसिर अहमद ४२ औँ ओभरको चौथो बलमा हर्श थाकरको बलमा २५ रन बनाउँदा रन आउट हुन पुगे।  प्रतिश जिसीले १९ रन बनाउँदा हर्श ठाकेरको बलमा क्याच आउट हुन पुगे।  हेमन्त धामीले ६ रन बनाउँदा रन आउट भए। शेर मल्ल २ रन बनाउँदा निकोलस किर्तोनको बलमा एलबीडब्लु धरापमा परे। साहब आलम शून्यमा नै हर्ष ठाकेरको बलमा बोल्ड आउट भए। 

क्यानडा ११ का लागि निकोलस किर्तन, डिलोन हेलिगर र हर्श ठाकेरले समान २ विकेट लिए। कलिम साना, साद विन जफरले समान एक विकेट आफ्नो नाममा गरे।  कप्तान विनोद भण्डारी बिरामी परेका कारण आजको खेलमा पनि उपलब्ध छैनन्। उनको अनुपस्थितीमा सन्दीप जोराले नै कप्तानी सम्हालेका छन्। 

सिरिजको अन्तिम खेलमा नेपाल ए टोलीका आज ४ खेलाडी परिवर्तन भएका छन्। मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन्। आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसी टोलीमा अटाएका छन्।

नेपाल 'ए' टोली पहिलो खेलमा क्यानडा–११ सँग ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले २ विकेटले जित निकाल्दै तीन खेलको सिरिज बराबरी गरेको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत