दृष्‍टिकोण

त्रिभुवन विश्वविद्यालय विद्यार्थी अभाव झेल्दै, नयाँ विश्वविद्यालय किन ?

नेपालमा जुन सुकै मोडेलबाट नयाँ विश्वविद्यालय खुलेता पनि जबसम्म राजनीतिक हस्तक्षेप जारी रहन्छ र विश्वविद्यालयलाई स्वायत्त ढंगबाट संचालन हुन दिइँदैन तबसम्म संख्या थप्दैमा शिक्षाको गुणस्तर बढ्दैन नत विदेश जाने विद्यार्थी नै रोकिन्छन । प्रतिदिन विद्यार्थी अध्ययनको सिलसिलामा विदेश गईरहेको अवस्था छ । अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत लगायतका मुलुकहरुले विदेशी विद्यार्थीबाट प्राप्त आयले देशको अर्थव्यवस्थ सुधारेका छन् ।

सरकारको लगानी उच्चशिक्षाको संख्यात्मक वृद्धि भन्दा पनि गुणात्मक वृद्धिमा हुनु पर्दछ । नेपालको उच्च शिक्षा दक्षिण एसियाकै कमजोर अवस्थामा देखिन्छ । नेपालमा उत्पादन भएका योग्य र दक्ष जनशक्ति पनि विदेश पलायन भएका छन् । प्रथमत नयाँ विश्वविद्यालय खोल्नु भन्दा अहिले भएको विश्वविद्यालयहरुको संरचनागत सुधार, ऐन नियम र कानुनमा परिवर्तनको जरुरी छ । बंगलादेशमा १६० विश्वविद्यालय खुले, अफ्रिकामा ८० खुले, हाम्रोमा घटी भयो विश्वविद्यालयको संख्या बढाउनु पर्दछ एकातर्फ भनिन्छ भने अर्को तर्फ भैरहेको विश्वविद्यालयकाे अवस्था के छ र सुधारको लागि के गर्नु पर्दछ भन्ने सोच देखिँदैन ।

भएको सोच र योजनाको कार्यान्वयन अवस्था हेर्दा लथालिंग देखिन्छ अनि किन थप्ने विश्वविद्यालय ? उच्च शिक्षा अध्ययन गर्नेहरुको संख्या पछिल्लो समय निकै घटेको छ । केहि मिडीयाका अनुसार १५ देखि १६ प्रतिशत मात्र विद्यार्थीेले उच्च शिक्षा अध्ययन गरिरहेको जनाईएको छ । यो प्रतिशतलाई तुलना गर्दा विश्वका अन्य विश्वविद्यालयमा ३० देखि ३५ प्रतिशतको हाराहारीमा देखिन्छ । भैरहेको विश्वविद्यालयमा समय सुहाउँदो र रोजगारी र व्यवसायिक शिक्षाको पढाई जरुरी छ । कोर्ष स्ट्रक्चर परिवर्तनको जरुरी छ । आज भन्दा १० वर्ष अगाडि बनाएको कोर्ष अहिले पनि त्यहि हुवहु रटाएर कसरी शिक्षा क्षेत्रको विकास हुन्छ ? विद्यार्थीमा लेखनसीपको विकास देखिँदैन । गृहकार्यको अभाव देखिन्छ । अधिकांश विद्यार्थीमा बुझेर लेख्ने भन्दा नि हुवहु घोकन्ते परिपाटीको विकास देखिन्छ । विद्यार्थीको गुनासो सुनिने गरिएको छ लेक्चर दिने शिक्षक पनि टुरिष्ट जस्तो कहिले काहीँ मात्र कक्षा कोठामा प्रवेश गर्नु हुन्छ र विषयवस्तु भन्दा पनि बाहिरको गफ दिएर जानुहुन्छ भन्ने छ । यो प्रवृतिमा सुधारको जरुरी छ । कुनै दलको सदस्यता लिएपछि कक्षामा वा विश्वविद्यालयमा गए पनि ठिक नगए पनि ठिक हुने परिपाटीले विश्वविद्यालयको सुधार होला र ?

विधार्थीहरु १२ कक्षा सक्यो कि विदेश जाने लहड छ । नेपालमा पढिहाले पनि प्राविधिक विषय तर्फ जोड दिन्छन् । त्यो पनि अहिले त पुरा विद्यार्थी भर्ना नभई खाली हुन थाल्यो । त्यसोत गुणस्तरीय शिक्षाको विकासको नाममा प्राविधिक शिक्षामा उच्च शिक्षा आयोगको व्यवस्था र उसको प्रवेश परीक्षा प्रणालीले कलेजहरुलाई थप धरासायी बनाएको सबैमा विदितै छ । यसले त बरु विद्यार्थीहरु थप विदेश जान वाध्य बनायो भन्ने शिक्षाविदहरु नै मनग्य छन् । नेपालमा विदेशी विश्वविद्यालयको बढ्दो आगमन र कक्षा १२ को परीक्षाफल प्रकाशित नहुँदै उनीहरुबाट विधार्थी भर्ना प्रक्रियाको धेरै अघि बढिसकेको एकातर्फ देखिन्छ भने अर्को तर्फ नेपालका विश्वविद्यालयमा विद्यार्थी भर्नामा देखिएको शिथिलताले स्वदेशमा संचालित विश्वविद्यालय विदेशी विश्वविद्यालयको चेपुवामा परेको अवस्थाले कन्त विजोग बनायो भन्नेहरुको कमी छैन । जसको कारण नेपालको मौलिक शिक्षा प्रणाली समेत समाप्त हुँदै गएको छ । जिम्मेवार पदका आसिन उच्च पदस्थ कर्मचारी, नेता तथा व्यवसायी एवं शिक्षाविदहरुले नै विदेशी शिक्षाको भरणपोषण गर्दै आएको र उनीहरु आफैँ उक्त विश्वविद्यालयको संचालक र मालिक समेत रहेको प्रति सबै जानकार छन् । नेपालका विश्वविद्यालयबाट संवन्धन प्राप्त कलेजमा कोटा प्रणाली, चिकित्सा शिक्षा आयोगको परीक्षा नीति, प्रवेश परीक्षा, परीक्षामा फेलको प्रतिशत बढ्दो, कडा परीक्षा प्रणाली र समयमा परीक्षा नहुने र नजिता प्रकाशनमा हुने ढिलाई, रोजगारीको अभाव एवं व्यवसायिक शिक्षाको कमी साथै विदेश जाने बढ्दो क्रेजले विदेशी विश्वविद्यालय प्रति नेपाली विद्यार्थीको मोह बढेको कारण पनि विश्वविद्यालय प्रति विश्वासनियता ह्रास हुँदै गयो भन्नेहरु मनग्गे छन् । 

पुरानो विश्वविद्यालयको संरचना सुधार गर्न सकिँदैन त्यसकारण सार्वजनिक विश्वविद्यालयको खांचो पर्यो भन्नुले के अब पुराना सबै विश्वविद्यालय बन्द गर्ने त ? नेपालको उत्कृष्ट र पुरानो त्रिभुवन विश्वविद्यालयमा विश्वका उत्कृष्ट विश्वविद्यालयका प्राध्यापकहरु पढाउन आउँदैनन र ? तसर्थ भएकालाई सुधार गर्ने र आवश्यकता परेमा मात्र नयाँ विश्वविद्यालय खोल्ने तर्फ ध्यान दिँदा नै मुलुकमा शिक्षा क्षेत्रको विकास हुने कुरामा कसैको दुइमत नहोला । भैरहेका विश्वविद्यालय किन राम्रो संग चलेनन भन्नु भन्दा पनि हामीले विभिन्न लेभलको लागि बनाइएको कोर्ष व्यवसायिक र विश्वसंग प्रतिस्पर्धा गर्ने खालको छ र ? कर्मचारी, शिक्षक र विधार्थी राजनीतिक दलसंग जोडिएका छैनन र ? बारम्बार विश्वविद्यालयमा तालाबन्दी र हडताल किन हुन्छ ?  स्थायी शिक्षकले विश्वविद्यालय भन्दा बाहिर गएर निजी क्षेत्रका कलेजमा किन कक्षा लिईरहेका होलान् ? खोज र अनुसन्धानमा कति ध्यान दिइएको छ ? मेहनतले विद्यार्थीले गरेको अनुसन्धान अर्थात पुराना थेसिस किन चनाचटपटेको पसल र डम्पींगसाइडमा भेटिन्छ ? हजारौँ विद्यार्थी विश्वविद्यालयमा गुणस्तरीय शिक्षा भएन भनेर अध्ययनको लागि विदेश किन जाने गर्दछन् ? रोजगारीमुलक शिक्षाको विकास किन नभएको र स्वदेशमा नै रोजगारीको सुनिश्चितता गर्न के गर्ने ? विश्वविद्यालयको उच्च नेतृत्व तहमा राजनीतिक हस्तक्षेपद्वारा नियुक्ति हुने परिपाटी कहिले सम्म ? संवन्धन अनावश्यक किन बाँडिन्छ ? संवन्धन दिँदा आर्थिक चलखेल किन हुन्छ ?  राम्रा मान्छे कि हाम्रा ? जस्ता प्रश्नहरु अझै उनुत्तरित देखिन्छन् । उपरोक्त प्रश्नहरुमा ध्यान दिई त्यसको उत्तर सहि ढंगले दिन सकेमा र सो को कार्यान्वयन गर्न सकेमा मात्र हाल भैरहेका विश्वविद्यालयको सुधार र विकास धेरै टाढा हुने छैन भन्नुमा अत्युक्ति नहोला । 

व्यावसायिक शिक्षाको नाममा विदेशी चालचलन, संस्कृति, जिवनशैली, परीक्षा पद्धति र अन्य सुविधा लगायतले समेत नेपालका अधिकांश विद्यार्थीहरु विदेश जान उत्प्रेरित एकातर्फ छन भने अर्को तर्फ स्वदेशका विश्वविद्यालयको गुणस्तर, वेरोजगार र सरकारको शिक्षा नीतिले भोलिका दिनमा नेपालको धर्म, संस्कृति नै लोपहुने अवस्था प्रति सम्बन्धित निकाय बेलैमा चनाखो हुन ढिला भैसकेको छ । प्लस टु सकेपछि किन विदेशीने चलन बढ्यो, किन विदेशी विश्वविद्यालयको स्वीकृति नेपालमा बढ्यो र किन स्वदेशका विश्वविद्यालय बन्द हुने अवस्थामा पुग्दैछन र फेरि नयाँ विश्वविद्यालय किन भन्ने तर्फ शिक्षा क्षेत्रमा व्यापक बहस चलाउनु पर्ने बेला आएको छ भन्नुमा कसैको विमति नरहला ।

लेखक त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षक तथा पूर्व बैंकर समेत हुन् ।

तपाईँको मत