दृष्‍टिकोण

मतदाता र दलीय शिक्षाको आवश्यकता

मतदाता लोकतन्त्रका खम्बा हुन् जसले देशविकासमा योजनाकार छनोट गर्दछ । मतदान लोकतन्त्रको सुन्दर पक्ष भएको हुंदा सबै मतदाता हुन योग्य नागरिकले आफ्नो मताधिकारको प्रयोग निर्धक्कसंग गर्नु पर्दछ । निर्वाचन आयोगले आचारसंहिताको मात्र वकालत नगरी मतदाता शिक्षाको बारेमा पनि सुनिश्चित गराउनु उसको प्रमुख दायित्व हो ।

आजको २१ औँ शताव्दी जहां सूचना र प्रविधिको पहुंच बढ्दै गएको छ यसमार्फत पनि अधिकांश मतदाता आफैं सुनिश्चित हुनु पर्दछ । तथापी अझै करिब १८ प्रतिशत देशमा निरक्षर भएको अवस्था र निर्वाचन साक्षरता हेर्दा करिब ५५ प्रतिशतलाई मात्र मतदान कसरी गर्ने सदर वा बदर कसरी हुने, कस्तो उम्मेदवार छनोट गर्ने भन्ने थाहा हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । साक्षरले निरक्षरलाई सकारात्मक भावनाले मतदान र यसको प्रक्रिया, उम्मेदवार छनोट, कस्तो उम्मेदवारलाई भोट दिने कसलाई नदिने, मतपत्र बदर कसरी हुन्छ, मतपत्र सदर गराउनु के गर्नु पर्दछ जस्ता मतदाता शिक्षाको बारेमा शिक्षा दिनु पर्दछ । स्मरण रहोस जानेर वा नजानेर पनि मतपत्र बदर भएका घटना विगतमा प्रशस्त भएको हुंदा सकेसम्म मतपत्रलाई बदर हुन नदिने तर्फ सम्बन्धित सबै चनाखो हुनु पर्दछ ।

मतदाता शिक्षा भनेको मतदान कसरी गर्ने मात्र नभै मतदानको प्रयोग गर्नुपर्दछ, कसलाई छनोट गर्ने ? र किन छनोट गर्ने ? भन्ने कुरा पनि बुझ्न र बुझाउनु जरुरी छ । स्तम्भकारले कुनै दल विशेषको उम्मेदवारलाई भोट दिनु पर्दछ वा पर्दैन भन्ने वकालत गर्न खोजेको होइन तथापी सम्बन्धित दलले समेत आफ्नो चुनाव चिन्हमा छाप लगाउने तरिका बारे बेलैमा मतदातालाई सुनिश्चित गर्नुपर्ने हुन्छ र गरिरहेको पनि पाइन्छ । तर जनुसुकै दलको वा स्वतन्त्र नै किन नहोस उम्मेदवारको बारेमा राम्रोसंग बुझि मतदान दिनु आवश्यक छ ।

जनप्रतिनिधि खराब भए भने लोकतन्त्र कमजोर हुन्छ एकातर्फ भने अर्कोतर्फ कमजोर नेतृत्व आयो भने कमजोर नीतिले प्रश्रय पाउँदछ भन्ने हेक्का राख्नु पर्दछ । चाहे हामी गाउँपालिका वा नगरपालिकाको प्रतिनिधि छनोटको कुरा गरौं चाहे सांसद छनोट वा प्रधानमन्त्री वा मन्त्रीकै छनोट किन नहोस कुनै पनि मतदाता जसले कुनै पनि निर्वाचन प्रणालीमा मताधिकारको अधिकार पाउँदछ उसले मतदान गर्नुभन्दा अगाडि राम्रोसंग बुझ्नु पर्ने कुरा उम्मेदवारको विगतको पृष्ठभूमि, भ्रष्टाचार लगायतका आर्थिक अपराधमा मुछिएको छ वा छैन, यौनहिंसा लगायत कुनै अपराधमा अदालती प्रक्रियाबाट विगतमा दण्डित भएको वा मुछिएको छ कि छैन, शैक्षिक योग्यता के कति छ जसले भोलिका दिनमा गाउँपालिका, नगरपालिका वा माथिल्लो निकाय समेतको आफूमातहतको कर्मचारीसंग नीतिगत विषयमा सुझाव र मत राख्ने वा नीति बनाउने क्षमता पनि राख्न सकोस साथै यदि पूर्व विजेताले नै पुनः सोही ठाउँमा उम्मेदवारको मौका पाएको छ भने तपाईंको घरदैलोमा विकाससंग सम्बन्धित वा सामाजिक सेवाका कुरा लिएर कति पटक भ्रमण गरेको छ ? लगायत विगतका पदमा रहँदा वा नरहँदा उसले विकास निर्माण, सुशासनको क्षेत्रमा गरेको काम के हो ? राजनीतिक पृष्ठभूमि के हो र कहिले देखि ? जस्ता विषयमा ध्यान दिनु पर्दछ । ख्यालै नगरी मतदान गर्ने कार्य मतदाताले पनि गर्नु हुँदैन र उम्मेदवार चयन गर्ने राजनीतिक दलले पनि गर्नु हुँदैन तब मात्र लोकतन्त्र फस्टाउँछ, फल्छ, फुल्छ  । बि.पी. कोइरालाको भनाई हेर्दा "नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता, यात चरमअवसरवादि हुन् यात दास हुन् ।” उक्त भनाई अहिले पनि त्यतिनै सान्दर्भिक देखिन्छ किन भने अहिले पनि अधिकांस दलबाट धेरै जसो चरम अवसरवादीले चुनावमा टिकट पाएको अवस्था एकातर्फ छ भने नियुक्ति वा सत्ताको चोघेरामा तिनै चरम अवसरवादी र नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता जसलाई बि.पी.ले दास भन्नु भएको थियो अर्थात जे कुरा पनि हुन्छ भन्ने मानिस वा जसले बढि चन्दा र आर्थिक सहयोग गर्दछ कार्यकर्ता होस वा नहोस उनिहरुनै छन जसको कारण राजनीतिक दल र प्रजातन्त्र प्रतिनै दिनप्रतिदिन जनस्तरमा वितृष्णा बढ्दै गएको प्रति दलहरु बेलैमा सचेत हुनु पर्दछ भन्ने कुरामा कसैको दुइमत नहोला  ।

विगत केहि दिनकै गतिविधि हेर्ने हो भने पनि दल र तिनका प्रभावशाली नेताले उम्मेदवार छनोटमा गरेको हस्तक्षेपले निम्त्याएको जोखिम र आपसी मतभेदको छताछुल्ल अवस्थाले ति दलहरुलाई मतदाताले कुन साइजमा राख्ने हुन भन्न सकिँदैन तथापी निर्वाचन परिणामले उनिहरुलाई कडा चुनौति दिने छ । विचार स्वतन्त्रता प्रजातन्त्रको सुन्दर पक्ष भएता पनि दलको अनुशासन अर्को महत्वपूर्ण पाटो हो । दलको व्हिप र अनुसासन कार्यकर्ताले किन नमानेका होलान भन्ने प्रश्नको उत्तर सजिलो छ किन भने केन्द्रीय नेतृत्व नै अनुशासनमा बसे पो अरुले अनुशासनको पालना गर्दछन भन्नेहरुको कमी छैन । यद्धपी दलगत अनुशासनको दायरामा कार्यकर्ता तथा नेता नरहने हो वा दलको नीति नियम नमान्दै जाने स्थितिले देशमा राजनीतिक अस्थिरता बढ्न कै एकातर्फ यसले देशको अर्थतन्त्रमा प्रतक्ष्य असर पारिराखेको हुन्छ भने अर्कोतर्फ कुनै पनि बेला हजारौँको बलिदानबाट आएको प्रजातन्त्रको घाँटी निमोठिने दिन धेरै टाढा नहुन सक्छ भन्नेतर्फ हामी प्रजातन्त्रका हिमायति हरु सधैँ सचेत हुनु पर्ने देखिन्छ ।

हामीले मतदाता शिक्षाको कुरा गरिरहँदा बहुदलिय गणतान्त्रिक मुलुक नेपालमा दलको नीति नियम र त्यसको कार्यान्वयन पक्ष, संघीयता खारेज गर्नु पर्दछ बढि खर्चिलो भयो भन्ने आवाज उठिरहेको अवस्था र  यसको सुदृढिकरण साथै  कम खर्चिलो कसरी बनाउने? समग्र गणतन्त्र र संघीयतालाई कसरी विवादरहित बनाउने, सुशासनको सुदृढिकरण कसरी गर्ने ? आम चासोको विषय बनेको भ्रष्टाचारलाई कसरी उन्मुलन गर्ने, जनताका काम छिटा छरितो कसरी गर्ने ? राष्ट्रिय गौरवका आयोजनालाई कसरी समयमा नै सम्पन्न गर्ने ? राष्ट्रिय हितमा कसरी दलीय एकता कायम गर्ने र अन्तराष्ट्रिय सम्बन्धलाई कसरी सन्तुलित बनाउने भन्ने वारेमा प्रजातन्त्र र गणतन्त्रका हिमायति राष्ट्रवाट ट्रेनर नै बाेलाएर तालिम दिन ढिला भैसकेको देखिन्छ । दलले शिक्षा पाएन भने खराब उम्मेदवार चयन वा निर्वाचित गर्न सक्दछ त्यस्तै मतदाताले शिक्षा पाएनन भने पनि खराव प्रतिनिधिको चयन हुन सक्नेतर्फ सम्बन्धित सबै वैलेमा सचेत नहुने हो भने देशको विकास झनै पछाडि धकेलिने छ । हामी मतदाता कसले के भन्छ, कसको घोषणा पत्रमा के कुरा उल्लेख छ हेरौँ, बुझौँ कतै त्यो हावा गफ त हैन । त्यो कार्य गर्न संभव हुन्छ वा हुँदैन गहिरिएर सोचौं । हामीले भोगेका छौँ विगतमा घेरै हावा गफ भए कार्यान्वयन भएन र कतिपय बाचा गरेका कुराको कार्यान्वयन संभव पनि थिएन । तसर्थ कसैको वहकाउमा नलागौं, आर्थिक लोभमा नपरौं, नाता गोता हाम्रो मान्छै नभनौँ राम्रो मान्छे छनोट गरौं तब मात्र सम्वृद्ध नेपालको कल्पना साकार हुन सक्छ । खोला, नाला, ढल, रोडको हिलो, धुलो, उदाहरणको लागि नारायणगढ देखि दाउन्ने सम्मको यात्राको कष्ट, कार्यालयमा कामको ढिला सुस्ती, एक दिनमा हुने काम ७ दिन नहुने, मालपोत, यातयात लगायत जनसरोकारसित सम्बन्धित सबै कुरामा पहिला हामीले छातीमा हात राखेर सोचौं के भैरहेको छ अनिमात्र कसलाई ? किन ? मतदान गर्ने भन्ने विचार गरी अनिवार्य मतदानमा सहभागी हुनु हामी सबैको कर्तव्य हो ।

यी लेखकका नीजि विचार हुन् ।

तपाईँको मत