दृष्‍टिकोण

नेपालको संस्थागत सुदृढिकरणमा वर्किङ कल्चर : काम एक - कुरा अनेक

संस्था भनेको सरकारी, गैरसरकारी, राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थान, विभिन्न राजनीतिक दल भन्ने वुझिन्छ । व्यवसायकको मूल्य, मान्यता, अनुशासन, उद्धेश्य, बानी, वर्क प्राक्टिसेस, व्यवहार एवं कार्यशैलीलाई कामको संस्कार वा वर्किङ कल्चर भन्ने गरिन्छ । यस्तो कल्चरको सृजना गर्न संस्था, त्यसको व्यवस्थापन र व्यक्तिको अहम् भूमिका हुने गर्दछ ।

संस्थाको प्रणाली र वनावटले पनि व्यक्तिलाई कामको संस्कार सिकाउँदछ । देशमा नियम कानुन, प्रस्ताव, गाईडलाईन बनाउदै संगठनको स्थापना गर्ने परम्परा यथावत छ तर जति कानुन बनाउँदछौँ र आफूमातहतलाई निर्देशन दिन्छौँ सो को कार्यान्वयन शुन्यप्रायः हुन्छ र परिणाम प्राप्त हुन सक्दैन किनकी हामी जसले कानुन बनाउँदछौँ, नीति निर्माण गर्दछौँ र कार्यान्वयनको लागि निर्देशन जारी गर्दछौँ उसैले यसको पालना गरेको पाईंदैन  किनकी हामीमा वर्किङ कल्चरको अभाव छ । हामी जानेर पनि गर्दैनौँ नजानेर पनि गर्दैनौँ । नीति नियम बनाउँदा र निर्देशन गर्दा पालाना हुने सुनिश्चितता पनि गर्दैनौ फगत सस्तो लोकप्रियताको लागी मात्रै निर्देशन दिने गर्दर्छौँ कार्यान्वयनको इच्छाशक्ति वा मेकानिजम हामीसंग छैन अनि हरेक कुरा परिणामविहीन हुन्छ साथै मिडियाले पनि प्रशस्त न्युज कभरेज पाउने गर्दछन् । तसर्थ हाम्रा काम सीमित - कुरा असिमित हुने गर्दछन् जसलाई काम एक कुरा अनेक भन्ने गरिन्छ ।

नेपालमा वर्किङ कल्चरको कुरा गर्दा  अधिकांस सरकारी तथा गैर सरकारी संघसस्थामा यसको अभाव छ । राजनीतिक दलमा यसको अभाव छ र सवैक्षेत्रमा कार्यरत कर्मचारीमा यसको अभाव छ । संगठनको व्यवस्थापन र नेतृत्वशैली, कंपनीको नीति नियम, मूल्य मान्यता, कार्य प्रणाली, कार्यरत कर्मचारीको दक्षता र व्यवसायिकता यसका निर्धारक हुन् । हाम्रो काम गर्ने संस्कार हेर्दा काम नगरि परिणाम खोज्ने प्रवृति हावी भएको छ एकातर्फ भने अर्कोतर्फ काम गर्ने तौरतरिकाको अभाव छ । अधिकांस व्यक्तिको वर्किङ कल्चर हेर्दा धेरै विदा वस्ने, ढिलो कार्यालय पुग्ने, सरसफाई र कार्यालय ड्रेसमा ध्यान नदिने, सानालाई माया र आफूभन्दा उच्च पदको व्यक्तिको आदरमा कमी गर्ने, दिएको काम समयमा नगर्ने, समान साथी भन्दा केहि माथिल्लो पदमा पदोन्नति भयो वा राजनीतिक नियुक्ति पायो, वा कुनै संस्थाको प्रमुख भयो भने उसले आफ्नो धरातल र औकात विर्सने आफूभन्दा तल्लो दर्जाको पूर्ववत साथी भाई वा नजिकको नातेदार नै किन नहोस संग पनि आफ्नो रवाफ देखाउने, ओभर स्मार्ट बन्ने, सबैसंग नमस्ते खोज्ने, मान सम्मान खोज्ने तर आफूले नगर्ने र  पावरको आडमा जे गर्दा पनि हुने प्रवृति हावी भएको, सार्वजनिक सम्पतिको दोहन गर्ने, ग्राहकसंग मिठो नबाेल्ने, हांसेर नबाेल्ने, छिटै रिसाउने जस्ता प्रवृति व्यक्तिमा देखिनुले संगठनको हित गर्दैन र व्यक्ति वा संगठनकै व्यवसायिकतामा ह्रास आई कालान्तर मा सरकारी वा गैरसरकारी वा राजनीतिक दल नै किन नहोस संगठन वा व्यक्ति फेलियरसम्म हुने दर पछिल्लो समय तिव्र हुँदै गएको छ । त्यसो त राजनीतिक दलको सन्दर्भमा नेताको कुरा गर्दा वैठकमा नियमित नजाने गै हाले पनि निकै ढिला जाने, झुठा आश्वासन निकै दिने, सार्वजनिक कार्यक्रममा निकै ढिला उपस्थित हुने, संगठन विस्तारमा र जनसरोकारका विषयमा पटक्कै ध्यान नदिने अनि पद चाही माथिल्लो खोज्ने प्रवृति तिव्र छ । 

संगठनको वर्किङ कल्चरको कुरा गर्दा नीति नियम, म्यानुयल, गाईडलाईन प्रशस्त वनाउने, निर्देशन दिनहुँ दिने तर यसको कार्यान्वयन सुन्य हुने एकातर्फ देखिन्छ भने अर्कोतर्फ कार्यान्वयन पक्षको अनुगमन नहुने, असंभव कुराको कार्यान्वयनमा वढि प्रेशर गर्ने, संगठन भित्र उचित र मैत्रिपुर्ण एवं कर्मचारी उत्प्रेरित हुने खालको वातावरणको सृजना नगर्ने जसलाई सिम्टम फेलियर भनिन्छ । कार्य वर्णन र कार्य विशिष्टीकरणको अभाव, जव रोटेशनको अभावले संगठनलाई पंगु बनाएको छ । एउटा सानो उदाहरणको लागि ६ महिनामा पुंजीगत खर्च जम्मा १० प्रतिशत छ भन्ने बुझ्दा बुझ्दै बाँकी ६ महिनामा ९० प्रतिशत खर्च गर भनेर निर्देशन दिनु जायज छ वा छैन एकातर्फ अर्कोतर्फ कोभिड संक्रमण तिव्र भएको हुंदा २५ जना भन्दा बढि भेला हुन पाईँदैन भनेर निर्देशन जारी भयो तर त्यसको पालना सरकारी निकायबाटै अझ भनौ संवन्धित मन्त्रालयबाट नै भएन भने अरुबाट होला र ? सस्तो लोकप्रियताको लागि निर्देशन दिँदैमा कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुरा हेक्का राख्नु पर्ने होइन र ? त्यसो त पानी जहाज, रेल, मनोरेल नेताका चुनावी घोषण र सपना देखि जनता वाक्क भएको छैन र ? के नहुने र असंभव काम गर भन्नु राम्रो  राम्रो वर्किङ कल्चर हो र ? कदापी होइन यस्ता गतिविधिले शुसासनलाई चुनौति दिएको छ भन्नुमा अत्युक्ति नहोला ।  संस्थागत वर्किङ कल्चर सुधार गर्न सकेको खण्ड व्यक्तिगत र संस्थागत इमेज बढ्ने, नाफा बढ्ने, ग्राहक सन्तुष्टि बढ्ने, निर्णय प्रकृया छिटो र छरितो हुने, कर्मचारी उत्प्रेरणाको विकास हुने, असल र कुशल कर्मचारी संस्थामा भित्राउन सकिने, कर्मचारी रिटेन्सनमा सुधार हुने, खुसी र स्वस्थ कर्मचारीतन्त्रको विकास हुने लगायतका फाइदा हुन सक्दछ  ।

संगठनमा राम्रो वर्किगं कल्चरको विकास गर्नको लागि कर्मचारी सम्बन्धको विकास, जनअपेक्षित उद्धेश्य निर्धारण, कर्मचारी उत्प्रेरणा र दोहोरो संचारको एवं सहभागितामुलकको साथै उद्धेश्यमुलक व्यवस्थापन अवधारणाको विकास, टिमवोर्कको विकासको साथै फ्रि टु वर्क फ्रि टु टक को वातावरण सिर्जना गर्ने, संगठनात्मक संरचनामा सुधार गर्ने, ग्राहक र सेवाग्राहीसंगको सम्बन्धमा सुधार गर्ने, गर्न नसक्ने कुरा नबाेल्ने र गर्न नसक्ने नीति नियमको परिमार्जन एवं थप विकास गर्ने, कुरा भन्दा काम धेरै गर्ने, स्थायी सरकारको रुपमा रहेको कर्मचारिको मनोबल गिराउने काम नगर्ने, नेतालाई पनि काम हेरेर मत दिने हो कुरा हेरेर होइन तसर्थ संस्था भित्र निश्पक्ष रुपमा जनताको काम गर्ने कर्पोरेट कल्चरको विकास गर्ने, उत्तरदायित्व र जवाफदेहिताबाट पछि नहट्ने । स्मरण रहोस कतिपय नीतिगत निर्णय गर्न उच्च नेतृत्व, कार्यकारी वा मन्त्रिले दवाव दिने वा निर्णय गर्ने जुन निर्णय  जनमानसमा वा संस्थामा हानी पुर्याउने खालको हुन गयो र सोसियल मिडिया लगायतमा र जनमानसमा समेत त्यसको विरोध भयो भने उच्च नेतृत्व पन्छिएर सानाको जागिर चट् पार्ने नीतिलाई कसरी कर्पोरेट कल्चर वा वर्किंग कल्चर भन्ने ? यस्तो परिपाटीलाई हटाउनु वा सुधार गर्नु पर्दछ । मेरो नभनी हाम्रो र राम्रो भन्ने र सामुहिक उत्तरदायित्व एवं जवाफदेहिताको अवधारणाको साथै सहभागितामुलक व्यवस्थापनको अवधारणा विकास गर्न सकेको खण्डमा नेपालमा छिटै सुशासनको क्षेत्रमा विकास भै संस्थागत सुदृढिकरण हुने कुरामा कसैको दुइमत नहोला ।

लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् । माथि उल्लेखित विचार लेखकका नीजि विचार हुन् ।

तपाईँको मत