पूर्वाधार

सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा

  • १८ माघ बिहीबार, २०८० | ०९:५३:०० मा प्रकाशित

भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए । 

उनका अनुसार हलमा सिट राख्ने, रङरोगनका केही काम, सभाहल परिसरमा ‘ब्लक’ बिछ्याउनेलगायत सरसफाइको काम बाँकी छ । विसं २०७६ कात्तिक २२ गते रेलीगर कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता भई सभाहल निर्माणको काम सुरु गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०७९ वैशाख २१ गते म्याद थप गरेर काम गरिएको थियो । थपिएको समयमा सभाहलको काम सम्पन्न हुने चरणमा रहेको प्रमुख थापाले जानकारी दिए । उनले बजेट विनियोजन नभएका कारण निर्माण कम्पनीलाई पैसा भुक्तानी गर्न नसकिएको भन्दै यस वर्ष जम्मा रु डेढ करोड मात्र विनियोजन भएको बताए । 

सभाहलको क्षमता एक हजार जनाको छ । ठूलो हलसँगै एक सय ५० जना अट्ने र ५० जना अट्ने छुट्टाछुट्टै बैठक हलसमेत निर्माण गरिएको आयोजनाका इञ्जिनियर सुजन खतिवडाले जानकारी दिए । निर्माणको लागत रु ३५ करोड २२ लाख ७० हजार (भ्याटसहित) रहेको उनले बताए । सभाहल निर्माणले सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने जनाइएको छ ।  रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले सभाहल सौराहाको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुने बताउनुभयो । रत्ननगरले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा ‘सिटीहल’ निर्माण गरिएको हो । 

तपाईँको मत