गाउँ सहर

जलविद्युत् आयोजनाले अकस्मात बाँध खोल्दा शव बगायाे, मलामी भागाभाग

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा पर्ने लिखु २ जलविद्युत् आयोजनाले अकस्मात बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगाएको छ भने मलामीकाे भागाभाग भएकाे छ ।

शनिबार अपराह्न ६ बजेतिर गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव जलाइरहेका बेला आयोजनाले बाँध खोलेर नदीमा पानी पठाएको थियो । 'लास जलिसक्न अझै २ घण्टा लाग्ने अवस्था थियो, पानी बढेकोले लास बग्यो,' मलामी गएका राजेन्द्र बस्नेतले भने । पानी बढेकाले मलामीका केही सामानसमेत बगेको उनले बताएका छन् । भाग-भाग हुँदा हराएका मलामीहरू सबै सकुशल भेटिएका छन् । 

बस्नेतका अनुसार ५०/६० जना मलामिगएकाहरु एक्कासि लिखु–२ ले बिना सूचना ड्याम खोल्दा भाग-भाग भएका थिए ।

स्थानीय मार्बु दोभान घाटमा थापाको शव जलिरहँदा झण्डै २ सय मिटरमाथि पर्ने लिखु २ आयोजनाको बाँध खोलिएको थियो । बाँध खोल्दा आयोजनाले स्थानीयलाई जानकारी दिनुपर्नेमा उल्टै लास जलाइरहेको देख्दादेख्दै पनि बाँध खोलीदिएकोमा स्थानीयहरु आयोजनासँग रुष्ट बनेका छन् । जलविद्युत् आयोजनाहरुले बाँध खोल्नु पर्दा सार्वजनिक सूचना जारी गरेरमात्र खोल्नु पर्ने प्रावधान छ ।

नदीमा पानीको बहाव बढेर लास बगाएपछि मलामीले बाँध खोल्ने आयोजनाका कर्मचारी सञ्जीव खनाललाई समातेर राखेको उनले बताए । खनाललाई जिम्मा लाउनका लागि किन्जाबाट प्रहरी बोलाइएको छ । बाँध खोलेर भाग्दै गरेका खनालले मेसिनमा समस्या आएकाले बाँध खोल्नु परेको जनाएका छन् ।

५५ मेघावाट क्षमताको लिखु २ जलविद्युत् आयोजना केही महिनाअघिदेखि व्यावसायिक उत्पादन दिन थालेको हो । उक्त आयोजनामा दुगड समूहको लगानी रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत