अर्थतन्त्र

मर्जर नीतिमा सफल र रोल मोडल बैंक - ग्लोबल आइएमई

काठमाडौँ । एकपछि अर्को बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गरेर अगाडि बढेको बैंक ग्लोबल आइएमईले मर्जरलाई सफल व्यवस्थापन गरेकाले यसलाई मर्जर नीतिमा सफल र रोल मोडल बैंकका रूपमा लिने गरिन्छ । ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई आत्मसात गरेर अघि बढेको बैंक स्थापनाको छोटो समयमै सफलताको फड्को मार्न सफल भएको छ ।

बैंकका अनुसार खुद नाफा, वितरणयोग्य नाफा, शुल्क तथा कमिसन आम्दानी, पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगातका आधारमा यो बैंक बलियो अवस्थामा पुगेको छ । अहिले यो देशकै ‘नम्बर वान बैंक’ बन्न पुगेको उसकाे भनाइ छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा तीन अर्ब ३२ करोड ३३ लाख रूपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा नौ रूपैयाँ ९६ पैसा छ । ३६ अर्ब १२ करोड रूपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रूपैयाँ सञ्चित छ । बैंकका अनुसार यसले प्रविधिमा आधारित आधुनिक सुविधा दिँदै आएको छ ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार- हालसम्म २१ बैंक तथा वित्तीय संस्था यो बैंकमा समाहित भइसकेका छन् । बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रूपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधि भन्दा बढी हो । यस्तै पहिलो त्रैमासमा बैंकको निक्षेप ३.९१ प्रतिशतले र कर्जा ०.२७ प्रतिशतले बढेको छ ।

अहिले प्रायः बैंकहरूले घरबाटै बैंकमा खाता खोल्ने, फण्ड ट्रान्सफर, अनलाइनबाटै लोन लिने, पानी, बिजुली, स्कुल तथा कलेजको बिल भुक्तानीदेखि लिएर धेरै सुविधा डिजिटल माध्यमबाटै गर्न सकिने सेवा दिँदै आएका छन् । यो बैंकले पनि डिजिटल बैंकिङलाई उत्तिकै प्राथमिकतामा राखेको जनाएको छ । यस्तै बैंकले बेला–बेला सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, आर्थिक सहयोगलगायत कार्य पनि गर्दै आएको छ ।

गत वर्ष यो सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको थियो । बैंकले आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट तीन अर्ब २० करोड रूपैयाँ कर दाखिला गरेर सरकारबाट सम्मानित भएको थियो । बैंकको तथ्यांक अनुसार यसले सेयरधनीलाई नौ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले यस वर्ष एक प्रतिशत बोनस र कर प्रयोजनका लागि आठ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकले आफ्नो १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/०७६ मा २५.५० प्रतिशत बाँडेको थियो ।

बैंकले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियाे । यो बैंक अहिले देशको ७७ जिल्लामा पुगेको छ । बैंकका ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ इकाइ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लण्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीन वैदेशिक सम्पर्क कार्यालयहरू छन् । बैंकले बजार हिस्सा आठ प्रतिशत रहेको दावी पनि गरेको छ ।

अहिले बैंकले ‘लक्ष्य २०२५’ को रणनीतिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । जुन कार्यक्रम लक्ष्यनजिक पुगिसकेको बैंकले जनाएको छ । बैंकका अनुसार साे अवधिमा धेरै कुरा समेटिएका छन् । बैंकले सन् २०२५ सम्ममा आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य समेत लिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत