पूर्वाधार

सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो

खुर्कोट, सिन्धुली । सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार छिचोलिएको (ब्रेक थ्रु गरिएको) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरुङ छिचोल्ने काम भएको हो । उनले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका थिए । सुरुङ ब्रेक थ्रुको लागि दाहाल मंगलबार साँझ नै मुल्कोटमा आएर बसेका थिए ।

नेपाली सेनाको हेलिकोप्टर चढेर आएका दाहालले बुधबार बिहान आयोजनाका बारेमा जानकारी लिएका थिए । यस्तै सिन्धुली र रामेछापमा अगुवा कार्यकर्ता भेट गरेका थिए ।

मुल्कोटस्थित क्वालिटी बिच रिसोर्टमा बसेका दाहालले मंगलबार साँझै नजिकै रहेको सुनकोशी गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरुसँग भेटेका थिए । भेटमा उनले स्थानीयको समस्याहरुका बारेमा जानकारी लिएका थिए ।

मरिण डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेट अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणकार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने जानकारी गराए ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म हो । सुरुङ निर्माणको अवधि दुई वर्षको भएपनि १९ महिनामै सम्पन्न भएको हो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिएको छ । सुनकोशी मरिणको सुरुङ छिचोलिए पनि अरू काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिए ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर ३१ मेगावाटभन्दा बढी क्षमताको बिजुली उत्पादन गर्ने र धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षौभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । सुरुङ खन्ने काम चाँडै भए पनि बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् ।

२०८४ सालको असोजमा आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य छ । ०७७ फागुन २० मा कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर आयोजना निर्माणको थालनी भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत