गाउँ सहर

सहकारीको क्षेत्र बिस्तार गर्न करोड घुस खाने प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

पर्वत । ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो। 

प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए। 

सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो।

कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले बताए।

तत्कालीन रजिस्ट्रार पराजुलीलाई एक करोड पाँच लाख घूस लिएको आरोप लागेको छ।  मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित छ जना पक्राउ परिसकेका छन्।

पोखरा २१ का वडाध्यक्षसहित दुई दर्जनभन्दा बढी अझै फरार छन्। फरारहरूको खोजी भइरहेको र अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

मित्रमिलन सहकारीका सात सय ४४ बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेका छन्। उनीहरूले २० करोड ठगी भएकाे बताएका छन्।

 

गाउँ सहर संवाददाता

तपाईँको मत