गाउँ सहर

ऐतिहासिक दरबार दियालो बंगला सर्वसाधारणका लागि खुला हुँदै

  • २१ मङ्सिर बिहीबार, २०८० | ०९:४९:०० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्को बैठकमा निर्णय गरिँदै छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । महानगरपालिकाको अनुरोधमा दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेशको व्यवस्था मिलाइनेछ । जीर्ण रहेको संरचनाको मर्मतसम्हार र अत्यावश्यक थप संरचनासमेत निर्माण गरेर खुला गरिने उनको भनाइ छ ।

सञ्चालक सदस्य उपाध्यायले भने, “भरतपुर भ्रमण वर्षमा सर्वसाधारणले दियालो बंगला हेर्न पाउँछन् ।” ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन् । तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बंंगला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्थे ।  अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षण नेपाली सेनाले गर्दै आएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा थप महत्वपूर्ण गन्तव्य दियालो बंगला  दरबारलाई बनाइएको बताइन् । महानगरले लिखितरुपमा नेपाल ट्रष्टलाई आग्रह गरेपछि खुला गर्ने निर्णय गरिएको हो । नगरप्रमुख दाहालले नेपाल ट्रष्टसँग सहकार्य गरेर सर्वसाधारणका लागि दियालो बंगला खुला हुने बताए । उनले भनिन्, “भ्रमण वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ ।”

नेपाल ट्रष्ट प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्छ ।  महानगरले दियालो बंगलालाई खुला गर्न अधिकतम प्रयास गरेपछि ट्रष्टले निर्णय गरेको हो ।
 
के छ दरबारमा ?
दियालो बंगला क्षेत्र देवघाट प्रवेशद्वारमा छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भर्याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ ।

दरबारमा पाँचवटा खोपी छन् । १ नम्बरको खोपी मुमा रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा भित्रै शौचालय पनि छ ।

राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि आवास  पनि छ । साथै सो क्षेत्रमा ‘ग्यारेज’ र त्यसको छेउमा ‘स्वीमिङ पुल’ पनि छ ।

ऐतिहासिक यो दरबार सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । शान्त एवं रमणीय यो बंगलाको पश्चिम भएर बग्ने नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छ भने दरबारको बगैँचाले जोकोहीलाई आकर्षित गर्छ । रासस

 

तपाईँको मत