सपनामाथि लगानी, सम्भव छ समृद्धि
- मोती भुजेल
- २० मङ्सिर बुधबार, २०८० | ०७:२९:०० मा प्रकाशित

विश्वकप २०२२ कतारमा सकिएको पनि एक वर्ष पुग्दै छ । विश्वकप २०१८ को आयोजक राष्ट्र रुसले खर्च गरे भन्दा झन्डै १५ गुणा बढि रकम खर्च गरेर कतारले विश्व कप २०२२ भव्यताका साथ सम्पन्न गरेको थियो । यो पनि कतारले कुनै बेला देखेको सपना माथिको लगानी हो । विश्वकपका लागि कतारले २२० बिलियन अमेरिकी डलर खर्चेर अहिले सम्मकै धेरै खर्च गर्ने राष्ट्रमा आफुलाई दर्ज गरेको छ ।
विश्वकप कतारका ७ नवनिर्मित र एक पुरानै रंगशाला गरि ८ वटा रंगशालामा विश्वकप खेलाइएको थियो । कतारका नवनिर्मित रंगशाला नेपाली दाजुभाइहरुको पसिना र रगत पनि मिसिएर बनेको छ । हामी यसमा गौरव गर्न सक्छौँ । तर जति नेपालीले कतार रंगशाला निर्माण क्रममा ज्यान गुमाएका थिए उनीहरुका परिवारलाइ कतारले हेर्नु पथ्र्याे । विशेष गरि नेपाली दूतावासले यसमा पहल कदमी उठाउनु जरुरी थियो तर उठाएन । अरबौ डलर खर्चेर मरुभूमिमा रंगशाला बनाएर कतारले विश्व रेकर्ड राखेको छ त्यो इतिहासमा दर्ज भैसकेको छ । एउटा गरीब राष्ट्रले कति छिट्टै प्रगति गरेर आफुलाई विकसित राष्ट्रमा दर्ज गरायो । कतार गरीब राष्ट्रहरुको सुचीबाट हटेको पनि धेरै भएको छैन । तेल र ग्यास क्षेत्रहरुको अन्वेषण साथै कुशल नेतृत्वले देखेको समृद्धिकाे सपनाले सम्भव भयो ।
विश्वकप २०२२ जित्ने राष्ट्रको नाम हामी जो कोहीले भन्न सक्छौँ । गोल गर्ने खेलाडी र स्कोरसमेत पनि भन्न सक्छौँ तर २००२ को विश्वकप बिजेता र उपबिजेता राष्ट्रको नाम धेरैले भन्न सक्दैनौँ । गोल स्कोर त झन अझ गाह्राे लाग्छ । किन कि हामी इतिहास अनि भुगोल पढ्दैनौँ र स्कुलले पनि इतिहास पढाउन छाडिसकेको छ । जबसम्म हामी हाम्रो देशको इतिहास,भुगोल पढ्दैनौँ आफ्नो गाउँको भुगोल हेर्दैनौँ हामी अगाडी बढ्दैनौँ । छिमेकी राम्रा भएपछि हामी पनि त राम्रो हुनुपर्ने हो । तर हामी राम्रो हुन सकनौँ किन कि हामीले छिमेकीको सिको गरेनौँ सात समुन्द्र पारिको भाषा र संस्कृतिको सिको गर्दैछौँ । आफ्नो भाषा, संस्कृति र इतिहास छोडेर अर्काको भाषा , संस्कृति अगाल्न लालायित हुने हामी र हाम्रा सन्ततीहरुले कालान्तरमा पाउने सुख हाेइन दु:ख नै हो । छिमेकी विशाल राष्ट्र चीनले संसार जितिसकेको छ । उसले आफ्नो भाषा, संस्कृति र इतिहास छोडेको छैन । हामी आफ्नो देशको पहिचान बिदेशमा दिन सकिरहेका छैनौँ । नेपाललाई विश्व मानचित्रमा देखाउन सगरमाथा र बुद्ध जन्मेको देश बाहेक छिमेकी दुई ठुला राष्ट्रको सहायता लिनुपर्छ । अब पनि हामीले सपना नदेख्ने हो भने एकादेशको कथा हुने छ । बाङ्गा टिङ्गा नै किन नहोस् सपना देख्नुपर्ने बेला आएको छ ।धेरै पहिला नै देख्नुपर्ने सपना अब पनि देखिएन भने पछुताउनु बाहेक केही हुने छैन । त्यसैले पनि सपनामाथि लगानीगर्ने बेला भएको छ । विकासको सपना विश्वभरका समुदाय र राष्ट्रहरूको साझा आकांक्षा हो । विकासले आर्थिक वृद्धि, सुधारिएको पूर्वाधार, शिक्षामा पहुँच, स्वास्थ्य सेवा, व्यक्ति र समुदायका लागि जीवनको उच्च स्तर जस्ता विभिन्न पक्षहरूलाई समेट्छ ।
सपनामाथि लगानी धेरै कारणले लाभदायक हुन सक्छ !
सपनाहरूमा व्यक्ति, समुदाय र समाजलाई उनीहरूको लक्ष्य पछ्याउने प्रेरणा र उत्प्रेरित गर्ने शक्ति हुन्छ । जोश, दृढता, र लगनशीलतालाई प्रज्वलित गर्न सक्छ भन्ने मार्गदर्शन प्रदान गर्छ । सपनाहरूले अक्सर सीमाहरू धकेल्छन र मानिसहरूलाई कुवा भन्दा बाहिर निस्केर सोच्न प्रोत्साहित गर्छन् । सपनाहरुमा लगानी गर्दा विभिन्न क्षेत्रहरूमा प्रगति र सामाजिक उन्नति गर्न सक्ने अभिनव विचारहरू, प्रविधिहरू र समाधानहरू निम्त्याउन सकिन्छ । सपना र आकांक्षाले उद्यमशीलतालाई बढावा दिएर, नयाँ उद्योगहरू सिर्जना गरेर र लगानी आकर्षित गरेर आर्थिक वृद्धिलाई प्रोत्साहित गर्न सक्छ । जब व्यक्ति र समाजलाई उनीहरूको सपना पछ्याउन प्रोत्साहित गरिन्छ, यसले रोजगारी सिर्जना गर्न, उत्पादकत्वमा वृद्धि र समग्र आर्थिक विकास गर्न मद्धत गर्दछ ।
जब मानिसहरूसँग आफ्नो जुनून र लक्ष्य पछ्याउने अवसर हुन्छ, यसले उनीहरूको कल्याण र समग्र जीवनको गुणस्तर बढाउन सक्छ । सपनाहरूले प्रायः समाजको मूल्य र मान्यता, आकांक्षा र पहिचान झल्काउँछ । सपनाहरूमा समर्थन र लगानीले सामाजिक एकता, सांस्कृतिक विकास, र सम्बन्धको भावनालाई बढावा दिन सक्छ । समग्रमा, सपनाहरूमा लगानी गर्नाले मानवीय क्षमतालाई बिकास, प्रगति र थप जीवन्त र समृद्ध समाज सिर्जना गर्न सक्छ । यसले व्यक्ति र समुदायहरूलाई उत्कृष्टताको लागि चुनौतीहरू पार गर्न र रउज्जवल भविष्यतर्फ काम गर्न प्रोत्साहित गर्दछ ।
अब सपना त देख्ने कस्तो सपना देख्ने त ? चीनको जस्तो, अमेरिकाको जस्तो कि जापानको जस्तो, हाेइन आफ्नो स्रोत र साधनले भ्याउने खालको, ठ्याक्कै भन्नुपर्दा भारतको जस्तो । भारतले ७५ औँ स्वतन्त्रता दिवस मनाएको पनि धेरै भएको छैन । अरुको सिको गर्न उसको इतिहास पनि पढ्न जरुरी छ । भारत धेरै वर्षसम्म ब्रिटिश शासनको अधीनमा रह्यो । इस्ट इन्डिया कम्पनीले भारतमा करिब १०० वर्ष शासन गर्याे । १७५७ मा जब ईस्ट इण्डिया कम्पनीले प्लासीको युद्ध जित्यो त्यो जितपछि कम्पनीले भारतमा आफ्नो अधिकार स्थापित गर्न थाल्यो । सन् १९५७ मा पहिलोपटक भारतमा विदेशी शासनविरुद्ध विद्रोह भयो । बेलायती शासनको विरुद्धमा सिंगो देश एकजुट भयो । यो दुर्भाग्यपूर्ण घटना थियो किनकि त्यतिबेला भारतले हारेको थियो । त्यसपछि भारतीय शासन अंग्रेजहरूको हातमा गयो जसले भारत स्वतन्त्र नभएसम्म ब्रिटिशले शासन गर्याे । भारतले स्वतन्त्रताका लागि लामो अभियानको सामना गर्नुपरेको थियो । दुई विश्वयुद्धपछि बेलायत कमजोर हुन थाल्यो र अन्ततः भारत स्वतन्त्र भयो । भारतको स्वतन्त्रता संग्राम सधैँ विश्वको लागि प्रेरणाको स्रोत भएको छ किनकि यो संसारको सबैभन्दा अहिंस्रक अभियान थियो । आज ७५ बर्षभित्र भारतले गरेको बिकासको छलाङ हेर्ने हो भने समयाबधिको हिसाबले विश्व भरिमा तेस्रो नम्बरमा आउँछ । उसले आफ्नो देशमा भएका आफ्ना प्राकृतिक जडिबुटी र आफ्नो मौलिक इतिहास, धार्मिक विविधता भएकै भरमा यति छिटो बिकास गरेको हो भन्नुमा अतिशयोक्ति नहोला । हामी त्यस्तै प्रकृति भएको देश, हाम्रो आफ्नै इतिहास छ । हाम्रो देशमा भएको धार्मिक सहिष्णुता विश्वमा नै एक छ । हामीसँग पनि भारतमा जस्तै प्रसस्त प्राकृतिक जडिबुटीहरु छन् । त्यही छिमेकीका छिमेकी हामी भने किन दिन प्रतिदिन उँभो गति भन्दा उँधो गतिमा छौँ त । किनकि हामीले सपना देख्न नै छाडिसकेका छौँ ।
अब सपना देख्ने हो । हामीले हाम्रो गाउँ ठाउँ र समाजमा भएका त्यस्ता ऐतिहासिक देवस्थल, मठ मन्दिरको संरक्षण गर्दै जानु पर्दछ । पुराना र इतिहासबोकेका त्यस्ता स्थानलाई संरक्षणसँगै सम्बर्द्धन गर्दै जाने हो । यहाँको स्थानीय परम्परा र धार्मिक रितीरिवाजलाई उजागर गर्दै धार्मिक पर्यटनको बिकास गर्ने हो । यस भेगमा भन्नाले विषेश गरी कास्की जिल्लाको दक्षिणी भेगमा बसोबास गर्ने ब्राम्हण, क्षेत्री, गुरुङ, मगर, ठकुरी,नेवार, घर्ती, भुजेल, कामी, दमाई, सार्कीलगायत अन्य जातजातीको आ-आफ्नो परम्परालाई पनि पर्यटनसँग जोड्न सकिन्छ । जस्तो कि गुरुङ समुदायमा गरिने पितृ कार्य अर्घौंँ र ब्राह्मण र क्षेत्री समुदायमा गरिने पितृ कार्य एकाहार सप्ताहलाई छुट्टै किसिमले धार्मिक पर्यटनसँग जोड्न सकिन्छ । अहिलेसम्मको धार्मिक पर्यटनको अर्थ धार्मिक स्थलको भ्रमण र पुजा आजामा मात्रै सीमित पारिएको छ अब यसलाई फराकिलो पार्दै लाने सपना देख्नु पर्दछ । पितृ कार्यलाई कसरी धार्मिक पर्यटनसँग जोड्न सकिन्छ भन्ने उदाहरण नेवार समुदायको गाईजात्राको तयामचा नाचलाई लिन सकिन्छ ।
आफ्नै गाउँको भुगोलको सपना
पोखरा महानगरपालिका ३३, बरपाण्डेथुममा रहेको शताब्दी पुरानो महारुद्र मन्दिरलाई परिस्कृत स्वरुपमा परिवर्तन गर्ने । प्रत्येक शिवरात्री पर्वमा ठुलो मेलाको आयोजना गर्ने जहाँ बसेर हजारौँ भक्तजनले शिव भगवानको पुजा आरधना गर्ने छन् । महारुद्रको महिमा यस्तो छ । निशन्तान दम्पतीले बिहानै स्नान गरि निराहार बसि केवरे पधेंराबाट जल लिएर बाटोमा कसैसँग नबोलि (दम्पती बाहेक) शिव भगवानलाई गाइको दुध वा जल चढाउने । मन्दिर परिसर भित्र गुरु पुरोहितसँग मात्रै आफ्नो भाकल सुनाउने र प्रसाद ग्रहण गर्ने । साँझ परेपछि ठाडो जोर बत्ति बालेर रातभर जाग्राम बसेर सन्तान प्राप्तिको लागि व्रत बस्ने चलन चलिआएको छ । व्रतपछि फल प्राप्त हुने जनविश्वास छ । ठाडो जोर बत्ति बाल्दा दम्पती नै उपस्थिति भएर वा एक जना असक्त वा कारण वस उपस्थित हुन नसकेमा लोग्ने वा श्रीमती एक्लैले पनि सो भाकलमा ब्रत बस्ने चलन रहिआएको छ । शिवरात्री पर्वबाहेक पनि प्रत्येक सोमबारका दिनमा र अन्य दिनमा पनि भाकल बस्न र जल चढाउन सकिन्छ । वडा नं ३३ भरतपोखरीस्थित प्रचलित मल्लकालिन कोटभैरव मन्दिर जहाँ मगर मुख्य पुजारी छन् ।
देशका अन्य शक्तिपीठमा जस्तै कोटभैरव मन्दिरमा धुमधामका साथ फुलपाती भित्रयाउने चलन छ । नवरात्रीमा यहाँ विषेश मेला लाग्ने गर्दछ । प्रचार प्रसारको कमिले केहि बर्ष देखि भक्तजनहरुको कमि देखिएता पनि फोरी गुल्जार गराउन सकिन्छ । कोटभैरव मन्दिर नजिकै समुन्द्र सतहदेखि १२६५ मिटर अग्लो उचाईमा रहेको हुडीकोट दृष्यावलोकनको उत्कृष्ट गन्तव्यका रूपमा चर्चित पर्यटक आवागमनको केन्द्र बनाउन सकिन्छ । जहाँबाट सुर्योदय र सुर्यास्थको बेला देखिने मनमोहक ल्याण्डस्केपले जोसुकैको मन आनन्दित बनाउँछ । हुडीकोटबाट दुरबिनको सहायताले १४ जिल्ला तथा नाङ्गो आँखाले तनहु, स्याङ्जा, नवलपुर, नवलरासी, लमजुङ, गोर्खा, पर्वत लगायतका जिल्लाका बिभिन्न क्षेत्र देख्न सकिन्छ । साथै आँपुकस्यरि थाप्लोमा रहेको मणिस्थान मन्दिर जाहाँ फागु पूणिमामा ठूलो मेला लाग्ने गर्दछ ।
यसरी तीन वटा धार्मिक स्थललाई पर्यटनसँग जोडेर आम्दानी लिन सकिन्छ । यहाँ ठूलाठूला रिसोर्टहरु निर्माण गरि पर्यटकलाई आकर्षित गर्न सकिन्छ । निर्मल पोखरीको शिवालय , मैदान, भरतपोखरीको गैरागाउँ, डाँडागाउँ हुँदै हुँडिकोट सम्म र धारापानीको थापा गाउँदेखि मालागिरी, चिलाउने, आंपुकस्यरि र ठूलोपाखाका मगर, गुरुङ बस्तीमा पनि होमस्टेका साथै धेरै होटेल रेस्टुरेन्ट र रिसोर्टहरु खुल्ने छन् । जहाँबाट उत्तरी हिमश्रृङखला, बिहानको सुर्योदय र रातिमा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लने विमानको दृश्य हेर्न आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने छ । शान्ति उदय माविमा बि.एच.एम.को उत्कृष्ट पढाई हुनेछ । त्यहाँ उत्पादन भएका जनशक्तिले स्थानीय मागलाई पूरा गर्दै पोखरा र काठमाडौंको मागलाई पनि धान्ने छन् । बरपाण्डेथुममा रहेको महारुद्र मन्दिरबाट हुँडिकोट, कोटभैरव मन्दिर र हुंडिकोट देखि आँपु कस्यरिमा रहेको मणिस्थान मन्दिरसम्म ६ लेनको विद्युतीय केवलकार बनाउने । जहाँ साहसिक खेल स्काइ साइकीलिङ, स्काइ रिसोर्ट हुनेछ । तीन वटै स्थानीय उत्पादन र प्राकृतिक जडिबुटीको प्रचुर बिक्री बितरणले स्थानीयको आय स्रोत राम्रो हुने छ । निर्मलपोखरीदेखि भरतपोखरी हुँडिकोट र आँपुकस्यरिको टापुसम्म फैलिएको कुनै आधुनिक दार्जिलिङ शहर जस्तै हुने छ । सपना सानो हाेइन ठुलो देख्नु पर्छ । पूरा हुन्छ ।
प्रतिकृया दिनुहोस