खेल

पोखरामा जारी पाँचौँ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु

  • ११ मङ्सिर सोमबार, २०८० | १९:५०:०० मा प्रकाशित

पोखरा । कोभिडका कारण विगत तिन वर्षदेखि युनिप्स खेल महोत्सव स्थगित रहेकामा यसवर्ष सञ्चालनमा आएकाे छ । पाँचौँ युनिप्स खेल महोत्सवअन्तर्गत सोमबारबाट पोखरा रंगशालामा भलिबलका प्रतिस्पर्धाहरु सुरु भएका छन् ।

संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा सुरु भएको छात्र/छात्रा भलिबलतर्फ १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत सेमीफाइनलका खेल पुरा भएको युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिए ।

पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ कालिका इङलिश बोर्डिङ फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उपाधिका लागि छात्रतर्फ वेलनन एकेडेमीसंग छात्रातर्फ होली एन्जल स्कुल संग प्रतिस्पर्धा गर्ने खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए ।  

छात्र/छात्रा भलिबलमा कालिका, होली एन्जल, शिलशिला, स्माइल हेभन, गेफ, पिनाकल र एकता वोर्डिङ स्कुलको सहभागिता रहेको थियो ।

मंसिर १६ गते सम्म हुने खेल महोत्सव अन्तर्गत छात्र/छात्रा भलिबल, छात्र फुटबल, छात्रा/छात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने युनिप्सका अध्यक्ष गुरुङले जानकारी दिए । महोत्सवको औपचारिक उद्घाटन १४ गते हुनेछ ।

प्रतियोगिता अन्तर्गत मावि स्तरीय (कक्षा ९–१०),छात्र फुटबल छात्र/छात्रा भलिबल, छात्रा खोखो, आधारभुत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डी, एथलेटिक्स छात्र/छात्रा सबै तह अन्तर्गत हुने खेलकुद उपसमितिका संयोजक नेपालीले जनाए ।

प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृत गरिने भएको युनिप्स सचिवालयले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब १२ लाख खर्च हुने बताइएकाे छ ।

तपाईँको मत