खेल

नेपाल सुपर लिगको दोस्रो संस्करण आजदेखि, उद्घाटन खेल काठमाडौं रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम खेल्दै

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिताका खेलहरू काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । उद्घाटन खेल साबिक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलामबिच खेलाइनेछ । उद्घाटन खेल साँझ ६ बजे सुरु हुनेछ । 

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा हुन लागेको प्रतियोगिताका टिमहरु नेपालका ९ शहरबाट बनाईएको छ । 

प्रतियोगिता धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, चितवन एफसी, काठमाडौ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, स्पोर्टिङ इलाम, झापा एफसी, विरगञ्ज सिटी एफसी छन् ।

एनएसएलको पहिलो संस्करण सन् २०२१ मा सुरुआत भएको थियो । एन्फाभित्रको आन्तरिक राजनीतिका कारण दोस्रो संस्करण दुई वर्षपछि हुन लागेको हो । महामारीको रुपमा फैलिएको कोभिड भाइरसको संक्रमणले नेपाल पूर्णरुपमा लकडाउनमा हुदाँ बन्द रंगशालामा यसको सुरुआत गरिएको थियो ।

क्लब स्तरीय यो फुटबल प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँ रेजर्स नेपाल सुपर लिगको पहिलो संस्करणको विजेता टोली हो । पहिलो संस्करणको फाइनलमा काठमाडौँ रेजर्सले धनगढी एफसीलाई हराउँदै उपाधि चुमेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा सातवटा टोलीले मात्र सहभागिता जनाएका थिए । 

आयोजकले दोस्रो संस्करण भने दर्शकको उपस्थितीमा गर्ने मौका पाएको छ । एनएसएलको आयोजनाबाट फुटबलमा दर्शक फर्काउने अपेक्षा आयोजकले लिएको छ । दोस्रो संस्करणको उद्घाटनमा केही मनोरञ्जनात्मक प्रस्तुती राखिएको छ ।

टिकट शुल्क २ सय र ५ सय छ । आइएमई पेमा गएर अनलाइन टिकट लिन सकिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत