ब्लग

लाेकप्रिय : “स्मृतिमा रंगिएको तिहार र बलिराजाको कथा”

"हेर्तो बाबु कौवा छन् कि छैनन् वरिपरि। आज कौवा तिहार हो। तिनीहरुलाई भात दिनु पर्च। मैले टपरीमा राख्देकी छु। गोठको टुडातिर लगेर राख्दे तो", आमाले जाँतो वरिपरिको पिठो जम्मा गर्दै भन्नु भयो। मैले भिरमुनिबाट एक भारि घाँस लिएर भर्खर आएको  थिए। तालुमा फापरको दाना जस्तै नाम्लोको डाम अझै हटेको थिएन। चिसो घाँस भएकोले जाँयबाट पानि चुइँदै थियो। टिसर्टको पछाडिको भाग पोतारी झैँ भएको थियो। 

"माला पनि लाइदिने हो र कौवालाई ? " मैले नाम्लो र हँसिया तखतामा घुसार्दै भने। पीँढिको खाटमाथि टपरीमा फुल थिए। 

"हेर्न पढेको मान्छेको बुद्धि। कौवालाई कसैले लाइदिन्छ माला। भोलि कुकुर तिहार हुन्। माथि गोठमा पतेरे फुल रैछ। एउटो माला बन्ला भनेर टिपेर ल्याएकी हुम। भोलि कुकुरलाई लाइदेलास्। घरको फुल तिमीहरुलाई माला बनाउन पनि नपुग्ला जस्तो छ। गाग्रीलाई चाइयो। सात सात भाई छौ। भान्जा आउनोला। आज आगो भर्भरायको छ। पाउना आउलान्। तम्घासबाट नानि पनि आउनुन्चकी," आमाले भन्नुभयो। 

"आमाले पनि चख्ख पार्नुन्छ। आगो भर्भरायर पनि पाउना आउचन र ?" मैले भिजेको टिसर्ट किल्लामा झुन्ड्याउदै भने। बाहिर ताता घाम लागेका थिए। बुवा तल्लोपट्टिको दलानमा बसेर टोपाज ब्लेडले दाडी काट्दै हुनुहुन्थ्यो। गालामा अलिकति काटेछ, मलाई भित्रबाट दन्तमन्जन ल्याउन भन्नु भयो। मैले बाबाको बाकसबाट मन्जन झिकेर ल्याइदिएँ। अलिकति झिकेर काटेको ठाउँमा दल्नु भयो। 

"जा आँमाले के अराइकी छ, गर। घाँसको भारी राम्ररी कसेको पनि ल्याकोछैनस् तँ ठगले । एक पहरलाई राम्रोसंग पुग्ने भारि त ल्याउनपर्छ", बुवाले आँखा तर्दै भन्नुभयो। 

मैले भित्रबाट आँमाले कागको लागि तयार गरेको टपरी उचालेर गोठतिर गए। यताउति कतै पनि कागहरू देखिनँ। घरको माथिपट्टि पोखरी थियो। पोखरीको छेउमा म्यालका रुखहरु  थिए। प्रायजसो कागहरु त्यहि हुन्थे। म टपरी बोकेर त्यतै जाँदै थिएँ एउटा काग आएर गोठमाथिको काप्रोको रुखमा बस्यो। म गोठको छानामाथि चढे र कागले देख्ने गरी टपरी छानोमाथि राखिदिएँ। म त्यहाँ हुन्जेल काग भात खान झरेनन्। एकछिन पछि गएर हेर्दा दुइ तिनवटा कागले टपरी ठुङ्ग्दै थिए। 

घर अगाडिको म्यापलको रुखमा पातहरु सबै झरिसकेका छन् । चिसो सुरु हुन लागेको भएर होला अन्य चराहरु पनि देखिन छोडेका छन् आजभोली। दायाँपट्टीको छिमेकीलाई महिनाको एकदुई पल्ट गाडीमा झल्याक झुलुक देखिन्छ। बायाँतिरको छिमेकी श्रीलंकाबाट सन् १९८० को दशकमा शरणार्थी बनेर झरेका रहेछन्। कहिलेकाँही ब्याकयार्डमा देखिन्छन्। त्यो पनि आजभोली कोभितले गर्दा रेस्टुरेन्ट बन्द गरेको भएर। घरको अघिल्तिर भियतनामी छन्। उनीहरु पनि सन् १९ ७५ मा  शरणार्थीको रुपमा आएका थिए रे। मौका मिल्नासाथ् म आफैँले बोलाएर भएपनि अलिकति कुरा खोतली हाल्छु। रंगी बिरंगी मान्छेहरु देख्दा मनमा खुल्दुली हुन्छ। सबैजसो छिमेकीहरु आफ्नो देशमा मारकाट अर्थात् युध्द चलेपछि ज्यान बचाउन यता पसेका रहेछन्। 

थालेपोखराको सिरेटो झैँ चिसो चिसो हावा चलेको छ आज। सूर्यका किरणहरु नरम भएका छन्। मौसम नेपालको पहाडि भेगसंग झन्डै झन्डै मिल्दो जुल्दो छ। यो बेला नेपालको मौसममा मखमली र सयपत्रीको सुगन्ध मिसियको हुन्थ्यो। ढिकी र जाँतोको संगीत मिसियको हुन्थ्यो।अलि उमेर काटेकाहरुले तास जुगाड गर्दै गर्थे। भर्खर पानि चढेकाहरुले खोरखोरे किनेर ल्याएका हुन्थे। कोहि  पैसाका ढेकी  गोजीमा राखेर खोपी खेल्न निस्कन्थे। तर यहाँको हावामा बाफिलो आद्रता मिसियको छ। एकोहोरो बज्ने आपतकालीन गाडीहरुको साइरन मिसियको छ। न कतै ढिकी बजेको सुनिन्छ। न सेलरोटीको मगमग बासना। न पाकाहरु कल्ब्रेक र दवल मारा नै खेलेका छन्, न केटाकेटी खोप्पी र खोरखोरे। म घर पछाडिको आगनमा कार्पेट ओक्षाएर रापिलो घाम ताप्दैछु।पोहोरसाल यतिबेला हिऊँ झरिसकेको थियो। धन्य यो वर्ष आजसम्म घाम ताप्न पाइएको छ। 

दिउसो बाह्र बजेतिर दुइहल गोरु फुकाएर तिर्तिरेको बनमा चराउन लगे। अलि ढिलो भएछ क्यारे फ़ुकाउनासाथ् पुच्छर ठाडो पार्दै फुर्के र तारे गोरु डाडोको तल र माथि गरे धेरै बेर सम्म। थाकेपछि बन भित्र छिरे। एकैछिनमा गैरा काले, धाब कान्छो र  चन्द्रे बिकले पनि बस्तुभाउ चराउन आए। देरालीका रूनमाया र पुतलीले पाखा रन्किने गरि पात बजाईरहेका थिए। भाई निलम बैनसंग बाख्रा चराउन उतै गएको रहेछ। थुम्कोमाथि बसेर बासुरी बजाउँदै थियो। गोरु बाख्रा जंगलमा छोडेर सबैजना डन्डीबियो खेलियो। त्यहि मौकामा दुइवटा गोरु थापा बाजेको खरबारीमा पसेछन्। बाँजेले खोलै सरङ्ग सरङ्ग गरुन्जेल गालि गर्दा पो बल्ल सुने । दगुर्दै गएर गोरु खोलातिर झारे। खोलै खोला भिरमाथिको चौरमा पुर्याएर छोडिदिए। त्यहि सबैजना पुनः सबै गोठालाहरु भेला भयौँ।

"दाई यो पालि त हामी मज्जाले देउसीरे खेल्न पर्च। लोके दाईले पनि भनेका छन्। दश पन्द्र जना जति भईन्च", धाबको कान्छाले भन्यो। सबैले खेल्ने खेल्ने भने। नौटुवा सम्म जान पर्च। लाउरे आछन्। मैले आफ्नै आँखाले देखेको हुम", चन्द्रेले थप्यो।

अनि रातिमा देउसीरे खेल्न जान दिन्चन त बाउआमाले ?", मैले सोधेँ। 

"एकडा कुडोओं । मेडा बाउले ट लौराले सोठ्यौचन", गैरा कालेले हातको लौरो बाटामाथि फाल्दै भन्यो। 

एकछिन यस्तै यस्तै कुरा गरेर  औँसीको रातबाट देउसीरे खेल्न जानी कुरा पक्का भयो। निलम भाई मादले, चद्रे मारुनी, धाबको कान्छो पुरुसुय र म र लोकबहादुर भट्याउने सल्लाह भयो। को कसको घरमा धेरै पैसा दिन्छन भन्ने बारेमा पनि छलफल भयो। घाम ईश्माको धुरीबाट  डुब्दै गर्दा हामीहरुले बस्तुभाउ घरघर लग्यौँ।

आकाशमा अलि बाक्लो बादल जम्मा हुदै गर्दा लेक ओन्टरियोबाट आएको चिसो सिरेटोले टाउको नै दुखायो। लि चाइल्ड सिरिज " ब्लु मुन" हातमा थियो। आँखा किताबको बिस नम्बर पेजमा पुगेका थिए। दिमागमा भने तिहारको सम्झना अगेनाको दुध उम्लेझैँ उम्लिरहेको थियो। आँगनको छेउमा भएको नास्पतिको रुखमा घरीघरी आँखा पुग्थे कतै काग आएर बसेको छ कि भनेर। कालो लोखर्के झरेर खुर्रर छिमेकीको बगैँचातिर छिर्यो। एउटा हातमा किताब अर्को हातमा मुबाइल लिएर भित्र छिरे। छोरा छोरीले "बाबा आज काग तिहार हो? भनेर सोध्दै थिए। "हो", भन्दै म आफ्नो कोठाभित्र छिरेँ। 

फोनमा घन्टी बज्यो। हेरे, घरबाट आमाले फोन गर्नु भएको रहेछ। फोन उठाएँ। "के गर्दैछौ? सन्चै छ सबैलाई, अनितालाई? नानि बाबुहरुलाई?" आमाले सोध्नुभयो। मैले सबै सन्चै भएको कुरा बताएँ। "किन मुख उज्यालो छैनय। के बिरामी भछस र?", आमाले मातृवात्सल्य खन्याउँदै सोध्नु भयो। मनै अमिलो भयो। हिजो राति ब्लगमा एउटा सस्मरण लेख्दै गर्दा सुत्न ढिलो भयो। दाडी पनि काटेको थिइन होला। मनको पिर जतिसुकै लुकाउँछु भनेपनि आँमाको मन हो थाहा पाइहाल्छ। 

"केहि भएको छैन आमा। अलि दाडी बढेको भएर त्यस्तो देखिएको होला", मैले भनेँ। आमाले खेतको धान स्याहार्न मान्छे नपाएको ले गर्दा दुःख भएको, साइलो दाइले एक्लै काम गर्न परेको कुरा सुनाउनु भयो। "हेर बाबु धानको झुसले मेरो एलर्जी जगायो। हिजो देखि छिउकि छिउ गराएको छ। छिउ गर्दा नि डराई डराई गर्न पर्च बाय ! कोरोना हो कि के जाति लायो भन्चन्। यो सप्पै धर्म नासियएर यस्तो भएको हो", आमाले भन्नु भयो। आमासंग कुरा गर्दा गर्दै साइलो दाईलाई पनि जोडे। एकैछिनमा जापानबाट भाइपनि जोडियो। लगतै बुटवलबाट ठुल्दाई र माइल्दाई पनि। अनि सुरु भयो बाल्यकालका कुराहरु। तिहारको बेला कल्ब्रेक खेलेको, तास लुकाएको, अर्काको भागको सेलरोटी चोरेको। कुरा गर्दै जाँदा यस्तो लाग्थ्यो कि हामी सबै एउटै अँगेनाको डिल वरिपरि छौ। भाई, बैनी सबै जम्मा भयौ  मेसेन्जरमा। त्यो जमघटमा सधैँ एउटा ठाउँ रित्तो रित्तो हुन्थ्यो। लाग्थ्यो माथि आकाशबाट बुवाले पनि हाम्रो संबाद सुन्दै हुनुहुन्छ।

एकाबिहानै बटामुनी कान्छो घरमा आएका थिए। कालो अनुहारमा मोति झैँ चम्किने सेता दाँत खिसिक्क पार्दै कुरा गर्थे उनी। " म त तोरण बाट्नलाई बाबियो माग्न आएकुम कान्छा बा। भोलि बिहानै काट्न पर्ला केरे", आगनको डिलमा टुक्रुक्क बस्दै भने। बुवा भैसी दोएर बाल्टी पखाल्दै हुनुहुन्थ्यो। "के को आज खर माग्छ कुकुर त्यारको दिन। आजै बाट्छस र ?", बुवाले ठट्टा गर्दै भन्नुभयो। कान्छा दाई जोडसित हाँसे। 

"धेरै हैन एक मुठी लैजालास्। तल  भीरको खर पनि अधिया काट्लास् भनेको खै कता कता छस् आजभोलि। केराउ छर्ने बेला बोलाउन पठाए। आइनस केरे", बुवाले हातमा काठको फिर्की समाउँदै भन्नुभयो। 

"आम्ला भनेको थे। बस्नेतले भारी बोक्न पठाए। चामल ल्याएर खाएको तिर्न परो। हजुर्कोमा पनि गरम्ला केरे। खेताँ गहु रोप्न लानो भने जाने विचार गरेको छु । अलि पैसाको खाँचो छ यसपाला। दशैँमा छोरो आउँचु भनेर आएन। पैसा पनि पठाएन। जैरे  एकमुठी मसला र एउटो डल्लो साबन पठाएको थ्यो। साहुले अत्याएका छन्", कान्छा दाइको हँसिलो अनुहारमा हल्का बादलको छायाँ परेजस्तो देखियो। 

"दुइ चार सय लैजालास्। कसको ऋण तिर्न छ भन बरु मै तिर्दिम्ला। तलाईं दियो भने रक्सी खाएर सक्छस्। त्यो जाबो कुकुरको मुत नखा भन्दा सुन्देनस्। तल माथि जताततै खर काट्न छ। खुरु खुरु काम गर्न आइज। चलेको निमेख लैजालास्", बुवाले फिर्किमा पटुवा बेर्दै भन्नु भयो। 

माइलोदाइले भित्र ठूलो ठेकोमा मुही पार्दै हुनुहुन्थ्यो। कान्छादाई एकछिन पर्खेर एक कसौडी मुहि लगेर घरतिर लागे। आमाले कुकुरलाई माला उनिदिनु भयो। बैनी र भाइहरु उठेर घाँस काट्न हिँडे। साइलो दाई लगाना उठाउन भेडिखातिर लाग्नु भयो। 

आमाले कुकुरलाई भात पकाइदिनु भयो। बुवाले कुकुरलाई भात दिई फुलको माला लगाइदिनु भयो। सेनी दिदी र म ढिकीमा चामल कुट्न गयौँ। माला लगाएर कुकुर घरवरिपरी डुल्दै गर्दा यस्तो लाग्थ्यो कि राजा युधिष्ठीरले आफूसंगै स्वर्ग लगेको कुकुर जस्तै भाग्यमानी छ हाम्रो कुकुर पनि। चामल कुटीसकेपछि खाना खाएर म साहुपोखरा तिर लागेँ। मेरो शिसु कक्षादेखि संगै पढेको साथि लोकबहादुरको घर त्यहि नजिकै थियो। उसको हजुरबुवालाई सबैले साहु कान्छा भनेर बोलाउँथे। हल्दार बाजेको घरमुनि चौर थियो। अरु केटाहरु पनि त्यहि आएका थिए।भेडिखा दुर्गे, खिमे, चन्द्रे, लाखोके मना, लोके, पतिराम, केदार, भोडे, म र भाई निलम भएर औँसीको दिन भैलो खेल्ने कुरो भयो।

बेलुका घर पुग्दा तम्घास देखि फुपू र भान्जा आउनुभएको थियो। फूपुले ल्याएको सेलरोटीबाट तिहारको उद्घाटन भयो। बेलुका अबेर सम्म बसेर कुराकानी भए। फूपुले काम गर्न दुःख भएको गुनासो सुनाउनु भयो। पुराना पुराना कुराहरु भए। सेनी दिदी र कमला बैनीले फिने रोटी बनाउने तयारी गर्न थाले। बुवाले भोलीको लागि सबैको काम बाँडफाँड गर्नु भयो। सधैँ भन्दा ढिलो सुत्न गयौँ। 

"बाबा मम्मीले खाना खान बोलाउनु भएको छ। आउनुस रे ", छोराले कोठामा आएर भन्यो। आँखा किताबमै अडिएका थिए। किताबको प्रोटागोनिस्ट रिचर ग्रेहाउन्ड बसमा एउटा बृद्ध जोडीसंग भेट हुँदै थियो। मैले किताब बन्द गरे र खान खान गए। खाना खाँदै गर्दा छोराछोरीहरुले तिहारको जिज्ञासा राखे। "आज हामीले टिचरसंग दिवालीको बारेमा टक गर्ने हो", छोराले भन्यो। मैले "तिम्रो कलासमा इन्डियन छन् र भनेर सोधेको 'आधा भन्दा धेरै इन्डियन छन्, सम पिपुल श्रीलंकाबाट पनि छन", छोराले भन्यो। छोरीले पनि आफ्नो टिचरले दिवालीको बारेमा भनेको कुरा सुनाई। 

यो सिंगो संसार एउटा सानो गाउँ जस्तै भएको छ आज। क्यानाडाको स्कुलहरुमा दशैँ तिहार मनाउने विद्यार्थी र यसको बारेमा जानकार शिक्षकहरु छन्। नेपालमा क्रिसमस र हलविन। संसारका सबै कुराहरु सबै ठाउँमा पाइन्छ। क्यानाडाको म्यपल सिरफ भाटभटेनीमा पाइन्छ भने नेपालको भटमास, चाउचाउ पनि क्यानाडाको बजारमा पाइन्छ। परिवारका सबै सदस्य एकैठाउँमा बसेर हाँस्न सकिन्छ। सुख दुःख साट्न सकिन्छ। नेपालमा भन्दा धेरै साथीभाई यतै भेटिन्छन्। खोज्दै जाँदा नातापाता पनि यतै छन् दशैँ र तिहारमा निधार खालि राख्नु पर्दैन। सम्बन्धहरु बनाएर बनेका हुन्। यदि सम्बन्ध बिग्र्यो भने आफ्नै भाई, भतिज, छोरा, छोरी कोहि पनि आफ्नो हुँदैन। ढुंङ्गालाई देवता माने देवता नै हुन्छ, नमाने त्यसैले चाक पुछेर फालिन्छ। राष्ट्रियता देशको सीमाभित्र कैद हुन कतापी सक्दैन। भूकम्पले देश घाइते हुँदा संसारभरिका नेपालीको मन रोयो। ढोरपाटन र ताप्लेजुङ्ग भत्किँदा हाम्रो पनि छाती चर्कियो। घरघरमा कान्तिपुर समाचार सुनिन्छ। कायकैरन बजाइन्छ। रियाल्टि सो हेरिन्छ। कतै सहयोग गर्न परे कसैले पनि मुठ्ठी कसेर बस्दैनन्। सकेको सहयोग सबैले गर्छन्। 

सरकारी कार्यालयका कर्मचारी, डाक्टर, कलेजका प्राध्यापक, रियल स्टेट देखि होटल व्यवसायी सम्म नेपालीहरु छन्। दशैँ, तिहारमा भव्यताका साथ् कार्यक्रम हुन्छन। यो वर्ष स्थिति अलि फरक छ। यहाँ मात्र हैन संसारभरी नै फरक छ। इन्डियन, श्रीलंकनहरुको पशलमा नेपालमा पाइने तिहारको लागि चाहिने सामानहरु सबै पाइन्छ। लक्ष्मीको मुर्ति, धुप, रातो कपडा अरु के के हो के के  सबै पाइन्छ।  के छैन यहाँ दुःख छ, सुख छ, हाँसो, रोदन सबै छ।  जे त्यहाँ छ त्यो यहाँ छ। सिवाय आत्मियता र  आफ्नोपनाको कमी छ। आफ्नो माटोको कमी छ। मेरो भनेर गर्भ गर्न मिल्ने बनावटी हैन खाट्टी संकृतिको कमी छ। नेपाल आमाको काखको कमी छ। 

औँशीको एकाबिहानै बुवाले उठाएर खरबारीमा खर कुर्न पठाउनु भयो। "सबैलाई एक दुई मुठी भन्दा धेरै काट्न नदिनु। मुठै कसेर लान्चन्। दुदेलाको रुखमुनीबाट चोर्छन्। लाटो जस्तो गरेर एकैठाउमा बस्लास्। गुन्द्री लएर उतै बाटे हुन्छ तोरण। म इन्द्रजाल र गाईफुल खोजेर आउँछु", बुवाले भन्नु भयो। गाउँघरमा धेरैको बारीमा बाबियो थिएन। तोरण बाबियोबाट बाट्ने हुनाले धेरै मान्छेहरू हाम्रो खरबारीमा लिन आउँथे। सबैले  तोरण बट्न पुग्ने खर लगे। दश बजे सम्म मान्छेहरु खर माग्न आइरहे। मैले पनि उही बसेरै तोरण बाटे। 

तोरणमा गाईगोठमा लगेर राखे। बुवाले इस्न्द्रजाल, गाईफुल, लालुपाते फुल, सुकेको लटै, मकैका पोस्कर तोरणको बिचबिचमा घुसार्नुभयो। तोरणको मध्यभागमा ओदान र कुचो बाटेर झुन्ड्याउनु भयो। आमाले चामलको पिठोको रोटि बनाउनु भयो। ओदान र कुचो बिचमा त्यो रोटि झुन्ड्याईयो। त्यसपछि गाईपूजा गर्ने ठाँउमा तोरण पूजा गर्नुभयो। गाईपूजा गर्नको लागि गोबर्दन  बनायर त्यसमा दियो राख्ने कोपिल्टो पारिन्थ्यो र यसको वरिपरि फूलहरु गाडिन्थ्यो। त्यो गोबर्धन पर्बत निकै सुन्दर देखिन्थ्यो।  चामलको पिठोमा पानि मिसाएर दयो बनाइन्थ्यो। अनि त्यो दयो ठेकिको बिर्कोमा चोबेर गाईको निधार र ढाडमा लगाइन्थ्यो। गाईको सिङ्गमा तोरीको तेल लगाइन्थ्यो। त्यो काम बुवाले गर्नुहुन्थ्यो। यदि बुवा नभएको खण्डमा जो जेठो छ उसैले गर्थ्यो। महिलाले गरेको थाहा छैन। गाईलाई रोटी, नुन खुवाएर बल्ल गोरुको पालों आउँथ्यो। त्यसपछि गाईगोठको एउटा छानोबाट तोरण टाँगेर घरमाथिको बाटो कटाएर लाकुरिको रुखमा पुर्याइन्थ्यो। तोरण या त खोला तार्नु पर्छ, खोला भएन भने बाटो तार्नु पर्छ भन्ने मान्यता थियो। तोरण टाँगेको केहि घण्टाभित्र लौराले वा ढुङ्गाले हानेर रोटी झरालिन्थ्यो। घरमा जति रोटी पाके पनि तोरण बाट झारेको रोटी खानुको मज्जा नै बेग्लै हुन्थ्यो। 

दिउसो घरका पुरुष सदस्यहरु सबैजना आआफ्ना दौतरी जता छन् उतैतिर लागे जुवा तास खेल्न। बुवाको टोलि हल्दार बाजेको घरमा दैलामार खेल्थ्यो, माल्दाइको टोलि मानसिंङ्गको घरमा सत्र खेल्थ्यो । साइँलो दाई, निलम र मेरो टोलि कता तास खेलेका छन् हेर्दै हिँड्ने र कतै मौका मिल्यो भने एकदुई हात सत्र खेल्ने गरिन्थ्यो। भाइहरु खेमु, गोपाल र भतिजो कमलको फुच्चे ग्याङ्ग थियो। उनीहरु भने खोर्खोरे खेल्न निस्कन्थे। महिला टोलि भने घरमै सेलरोटी बनाउने तयारीमा लागेका हुन्थे। ढिकी र जाँतोमा ब्यस्त हुन्थे। बेलुका सबैजना  घर फर्केर घाँस दाउरामा लग्नु पर्थ्यो। 

त्यो दिन बेलुकाको खाना खाएर म र निलम भाई गयौ देउसी खेल्न। सुरुभयो हल्दार बाजेको घरबाट। "आहै भन भन भाई हो -देउसीरे  आहै स्वारमिलाई भन -देउसीरे स्वर्मिलाई गन -देउसीरे" शुरु भयो भट्याउन। भित्र तास खेल्नेको टोलि रैछ। पाँच रुपिया दिएर लखेटे। थानको गाँउ सकेर राति बाह्र बजे धाब जनुबनको घरमा पुग्यौ। अलि पैसा देलान् जस्तो मान्छे थिए। तर धेरै बेर भट्याउँदा समेत भित्रबाट कोहिपनि निस्केनन। केटाहरु झ्यालबाट भित्र हेर्दै चिच्याउदै थिए। सेलरोटीको हरहर बास्ना आइरहेको थियो। धेरैबेर भट्याउदा समेत कोहि ननिस्के पछि चन्द्रे र धनेले ढोकामा लात्ताले हानेछन। एकैछिनमा भित्रबाट कम्मरमुनि नाङ्गै देखाउदै एकजना बुढो बुढो मान्छे निस्के। हातमा ढोकाको आग्लो समातेका थिए। डरले कोहि मलखादमा फ़ुङ्गाले। कोहि पाटातिर भागे। धेरैबेर पछि माथि डाँडामा सबैजना जम्मा भयौँ। लाखोके मनाले पट्पटी फुटेको काक्रो भेटेछ घरमुनिको पाटामा। टिपेर काँधमाथि हालेर आएका थियो। ढुंङ्गाले चिरा पारेर टोक्दै नौटुवातिर लाग्यौँ। लालटिनमा तेल सकिएर बिचबाटोमै निभ्यो। एउटा टर्च लाइट थियो त्यो पनि जुनकिरीको पुच्छर झैँ। साच्चीकै लड्दै र पड्दै रातिको दुई बजेतिर नौटुवा पुग्यौँ। 

अधिकारी टोलबाट देउसीरे सुरु भयो। प्रायजसो घरमा रोटी बनाउँदै थिए मान्छेहरु। कुनै कुनै घरमा त भट्याउन सुरु नगर्दै एक दुइ रुपियाँ दिएर भगाइहाल्थे। कुनै घरमा मादल बज्नासाथ् भित्रबाट आग्लो लगाउँथे। गाउँको बिचमा देबीको थान थियो। त्यसको तलपट्टिको घरमा "लाउरे आछन् मेरै आँखाले देखेको हुम्" भनेको थियो चन्द्रेले। धेरै बेरसम्म ढोका खुलेन। माथि बार्दलीबाट लुकी लुकी हेर्थे केटा केटिहरु। धेरैबेर सम्म कोहिपनि बाहिर ननिस्केपछि केटाहरुले सराप्न थाले। कोहि बगैँचाको सुन्तला टिप्न थाले। एक्कासी भित्रबाट कुकुर फ़ुकाइदेछन् भुक्दै बाहिर निस्क्यो। सबैको भागाभाग भयो। म सिस्नोको घारीमा छिरेँछु। सिस्नोले पोलेर फोकै फोका भयो शरीरभरी। दुइतिन जना भीरतिर भाग्दा दुइतिन भर्ल्यांङ्ग मारेछन्। धेरैबेरमा सबैजना खाम्तालेको भिर माथिको बाटोमा जम्मा भयौ। कसैले खुट्टा मर्काएका थिए। कसैको खुट्टाको नङ्ग उक्केको थियो। त्यसपछि हामी देउसी नै खेल्न छोड्यौँ। देउराली पुगेर जम्मा भएको पैसो भागबन्डा लगायौँ। मेरो भागमा बिश रुपियाँ परेको थियो। त्यहि पैसोले सिस्नोले पोलेको फोकामा मलम लगायाैँ। बिहानपख सबै आआफ्नो घर घर लाग्यौँ। 

भाईटीकाको अघिल्लो दिन हामी सपरिबार एकै ठाँउमा जम्मा भएका थियौँ। बुवाले काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा किन मनाइन्छ भन्ने बारेमा पौराणिक कथाहरु सुनाउँदै हुनुहुन्थ्यो। उहाँले सुनाएको बलिराजको कथा अझै ताजा छ। बुवाले कथा भन्ने बेलामा कसैलाई पनि एक शब्द सम्म बोल्न छुट थिएन। सबै चुप लाएर सुन भन्दै उहाँले बलि राजाको कथा शुरु गर्नु भयो। 

"एक दिन किरात बंशका बलिराजा  सिकिस्त बिरामी परेछन्। उनलाई भेट्नको लागि उनको बैनी जमुना उनको दरबारमा पुगिन। बलि राजाले आफूलाई अत्यन्त गाह्रो भएको कुरा सुनाए। आफ्नो दाजुको कुरा सुनेर उनि सारै दुखि भईन। त्यसैबेला यमराजको दुत  बलिराजालाई लिन आइपुग्यो। उसले बलिराजालाई यमले लिन पठाएकोले आफूसंग जान आग्रह गर्यो। यमदूतको त्यस्तो कुरा सुनेपछि बलिराजाकी बैनी जमुनाले उनि समक्ष बिन्ति गरिन। " मेरो दाजु बलि राजा लामो समय सम्म युद्ध गरेर भर्खर घर आएका छन् । मैले पूजाको तयारी गरेकी छु। मैले पूजा गरेर उनलाई टिका लगाइदिन्छु। तिमीले पनि मेरो हातबाट टिका लगाउ।" जमुनाको बिन्ति सुनेपछि यमदूत एकछिन सोचमा परेछ। त्यसपछि मुन्टो हल्लाउँदै छिटो छिटो गरेर पुजा गर्न भनेछ र आफू पूजा गरुन्जेल कुर्ने कुरा बताएछ। त्यसपछि जमुनाले बलि राजाको भाइपुजा आरम्भ गरिछन्। तेलको धारा लगाउदै दाईको वरिपरि घुमिन। निधारमा सप्तरंगी टिका र गलामा मखमलीको माला लगाइदिन। त्यसपछि उनले यमदूतलाई पनि सप्तरंगी टिका र मखमली माला लगाइदिन। 

यतिकैमा यमदूतले भनेछ,"तैँले पूजा गरुन्जेल मैले पर्खे। अब मैले बिलम्ब गर्नुहुँदैन। बलिराजालाई लैजान दे।" यमदूतको कुराले जमुनाको मनमा फेरी  पिर पार्यो। त्यसपछि उनले पुनः केहि दिनको लागि भएपनि भाइलाई बचाउन आग्रह गरिछन्। बैनीको आग्रहले यमदूतको मन अलिकति पग्लेछ। "त्यसो भए भन म कहिले लिन आऊ?" यमदूतले हार मान्दै भनेछ। त्यसपछि जमुनाले भनिछन् "जुन दिन यो तेलको धारा सुक्ला, गलामा लगाएको मखमली माला ओइलाउला त्यो दिन आएर मेरो दाजु बलिराजा लाई लैजानु। " त्यसपछि यमदूतले एक वर्षसम्म कुरेछ। तर न तेलको धारा सुकेछ, न गलामा लाएको मखमली माला। त्यसपछि उसले हार मान्दै " म तिम्रो भाई प्रेम देखेर अति प्रशन्न भए। तिमीले मलाई बचनले बाध्यौ। मैले बचन तोड्न सक्दिन। तिम्रो दाजुलाई म पुनार्जिवन दिन्छु। आजदेखि तिनै लोकमा दाजुबैनी र दिदीभाई बिचको प्रेम यस्तै बनिरहोस", भनेर यमलोकमा फर्केछ।"

बुवाले यो कथा सुनाउँदा हामी सात भाई र एउटी बैनी सँगै थियौँ। यो कस्तो मिठो संयोग थियो। त्यसपछिका दिनहरुमा भने  एक दुइ भाई भाईटिका छुट्छौ। मैले बैनीको हातको टिका नलगाएको वर्षौं भएछ। "सात भाईको एउटा बैनी कति भाग्यमानी होलिन" भन्छन सबैले। बर्षदिनमा एकपल्ट दाजुभाईको निधारमा सप्तरंगी टिका, र गलामा मखमली माला लगाउन नपाउँदा खै कसरी भाग्यमानी ठान्लिन मेरी बैनीले? कानमा तेल हाल्दा दाईले मुन्टो बटारेको नदेख्दा कसरी मुस्कुराउलिन मेरी बैनी? हात कमाउँदै टिकाको धर्को तान्दा, बाङ्गो भयो भनेर खिस्रिक्क पारेको अनुहार देख्न नपाउँदा कसरी खुसी होलिन बैनी? अनि तिहारमा बैनीको हातबाट बनेका बाङ्गा टिंगा सेलरोटी, चर्को अचार र ओख्खरको घाँजी खान नपाउँदा मैले कसरि ठानु भाग्यमानी। त्यो भन्दा पनि ठुलो हाँस्दै दिएको चिरिन्जीवी आशिर्वाद लिन नपाउदा खै कसरी भाग्यमानी ठानु म। भाग्यमानी हुँदाहुँदै पनि भाग्य खोसिएको जस्तो महशुश हुँदो रैछ यस्तो बेलामा। बिगतका दिनहरुको सम्झना आउँदो रहेछ।

स्मृतिको छालसंगै बग्दै  रहेछु कम्प्युटरमा बसेर म। "बाबा रंगोली हेर्न आउनुस", भनेर छोरीले बोलाइन्। अनिताले ढोकामा रंगोली बनाएकी रहिछन्। केटाकेटीहरु खुसी हुँदै भित्र र बाहिर गर्दै थिए। मपनि स्मृतिलाई पूर्णबिराम लगाएर उठेँ उनीहरुको खुसीमा रंग थप्नलाई।

सम्पूर्ण नेपालीहरुमा दिपावलीको शुभकामना!

तपाईँको मत