कला

अलबिदा सिर्मुको रुख

हिजो राति सिर्मुको रुख ढल्यो रे। तिर्तिरे खोलाको मुहानमा वर्षौंदेखि ठिङ्ग उभिएर मेरो तीन पुस्तालाई गार्ड गरेको सिर्मुको रुख ढलेको सुन्दा मेरो मनपनि नराम्रोसंग पछारियो। रुख थुप्रै थिए। सिर्मुको रुख ओरीपरि चिलाउने, उत्तिस, दुदिलो, मौवा, म्याल, कटुसका थुप्रै रुखहरु थिए। कति आफैँ ढले होलान्। कतिलाई हामीले ढालेका हौँला। कहिले लेखाजोखा भएन। तर सिर्मुको रुख हाम्रो लागि ठूलो अभिभावक बनेर वर्षौंदेखि हाम्रो रक्षा खातिर उभिरहेको थियो। त्यो ढल्यो रे! त्यो सुन्दा मन रोयो। आफ्नै अभिभावक गुमाए झैँ मन भरङ्ग भयो। सिर्मुकोको रुख एउटा इतिहास थियो हाम्रो लागि। सिर्मुको रुखसंग हाम्रा थुप्रै कथाहरु जोडिएका थिए।

हामी सानै हुँदा आमाले भन्नुहुन्थ्यो "मलाई बिहे गरेको धेरै वर्ष भैसकेका थिए। सन्तान भएनन्। सासु ससुराले थारी भनेर गालि गर्न थाल्नुभयो। समाजका मान्छेहरुले पनि मलाई अर्कै नजरले हेर्न थाले। सिर्मुको रुख छेवैमा पानीको पँधेरो थियो।  म सधैँजसो एकाबिहानै पानि लिन त्यहाँ जान्थें। एकदिनको कुरा हो। म राति नै उठेर पँधेरामा पानि लिन गएँ। पँधेरोमा पुग्दा कुनै ऋषिमुनिले धारोमा नुहाउँदै गरेको देंखे। म केहीबेर बाटोमा उभिएर नुहाउदै गरेको हेरे। मलाई डरसर केहि लागेन। केहीबेर मै उहाँले नुहाएर जप गरि सिर्मुको रुखको फेदमा गई अलप हुनुभयो। त्यसपछि मैले पानी भोरेर घर गएँ। त्यो  रात सपनामा  त्यहिँ ऋषिमुनि आउनुभयो र भन्नुभयो, 'तिमी नरोउ दुलही। अब तिम्रो कोखबाट छिट्टै नै पहिलो सन्तानको जन्म हुनेछ।” यत्ति भनेर उहाँ अलप हुनुभयो।  मलाई भगवानप्रति पूर्ण भरोसा थियो। मैले घुम्दै आएका जोगीहरुको पनि सेवा गर्थें।  उहाँहरुलाई पनि भगवानकै स्वरुप ठान्थेँ।  नभन्दै त्यहि साल जेठो छोराको जन्म भयो। घरमा ठूलो खुसियाली छायो।"

जुनदिन मैले आमाको मुखबाट यो कुरा सुनेँ त्यसै दिनदेखि त्यो रुखलाई भगवानको स्वरुप देख्न थालेँ। हामीले त्यो रुख वरिपरि कहिले पनि दिशा पिसाबको त कुरा छोडौँ थुक्न समेत थुकेनौँ। कुनै दिन पनि त्यो रुखमा चढ्ने हिम्मत गरेनौँ।  आमाले भन्नु हुन्थ्यो 'रुखको आसपासमा फोहोर गर्यो भने 'लागो' लाग्छ भनेर। 'लागोको वास्तविक अर्थ के हो त्यो मलाई आजसम्म पनि थाहा छैन। तर परिवारको कुनै पनि सदस्य बिरामी पर्दा सर्वप्रथम बुवाले 'लागो' लाग्यो कि भनेर शंका गर्नुहुन्थ्यो। गाउँकै तन्त्र मन्त्र गर्न जानेका मान्छेलाई आखात (चामल) हेर्न पठाएर 'लागो' लागे नलागेको पत्ता लगाउने गर्नुहुन्थ्यो। यदि लागो लागेको ठहर भएमा' भाँले उठाएर भोग दिने चलन थियो। भालेको भोग दिन छिमेको हवल्दार जेठाबा आउनुहुन्थ्यो। उहाँले सिर्मुको फेदमा गोबरले सानो मन्दिर जस्तो बनाएर पूजा गरि भाले काटेर रगत चढाईदिनुहुन्थ्यो। यसरी हाम्रो बालमस्तिष्कमा त्यो रुख एउटा ठूलो अदृश्य शक्तिको बिम्ब बनेर रहिरह्यो।

हजुरबा स्वर्गबास हुँदा म सानै थिएँ। धेरै कुराहरुको याद सम्म छैन। तर सिर्मुको रुखसंग जोडिएको एउटा घटना म सधैँ सम्झिन्छु। सायद त्यो कुरा बुवाले सुनाउनु भएको थियो होला। एक दिन हजुरबुवाले सिर्मुको रुख काट्न खोज्दा बन्चरोको पहिलो चोटसंगै घरको धुरीमा चरेसको थाल बजाए जस्तो आवाज निस्केछ। यो आवाज सुनेर हजुरआमाले रुख काट्न रोक्नुभएछ। त्यसै दिनदेखि हजुबाको घुँडा दुख्न थालेछ। त्यो पछिसम्म बल्झेर उहाँ कुँजो भएको भनेर कसैले भनेको सम्म सुनेको थिएँ। केहि समयपछि जुन ठाउँमा बन्चराेको चोट लागेको थियो त्यही ठाउँबाट अर्को हाँगा पलाएछ। हामीले थाहा पाउँदा त्यो हाँगा अरु हाँगाहरुभन्दा ठूलो र फरक किसिमको थियो।

हामीले प्रत्येक वर्ष नागपंचामीको दिन सिर्मुको रुखको फेदीमा मकैको बोट चढाएर धार दिन्थ्यौ। यदि सिर्मुको रुखमा मकैको धार दिएँन भने सर्पहरुले दुख दिन्छन् भन्ने विश्वास थियो। बारीमा कतै सर्प देखियो भने बुवाले सिर्मुको रुखको फेदमा नागको पूजा गर्नुहुन्थ्यो। एक वर्षको कुरा हो घरमुनिको बारीमा मुसाले मकै अति नै धेरै नोक्सान गर्यो। सुरु सुरुमा त हामीले मुसरी थापेर मार्ने कोशिस गर्यौ। तर मुसाहरु हाम्रो ट्रयापमा परेनन्।  धेरै दिनसम्म उत्पात मच्याए। पछि आमाले सिर्मुको रुखमा पूजा गर्न लगाउनुभयो। नभन्दै पुजागरेको केहिदिनमै मुसाहरू कता लागे लागे। एकदुई बोट मकै खाएपनि पहिलेको झैँ उन्मात रोकियो। यसरी हरेकपल्ट हाम्रो खेतीपातीको समेत रक्षक बनेर अहोरात्र उभिएको देख्दा त्यो रुख परिवारकै अभिभावक झैँ लाग्थ्यो।

हामी कतै गएर घर फर्किंदा सबभन्दा पहिले सिर्मुको रुख देखिन्थ्यो। गहिरो खोंचमा भएर पनि अग्लो र झोपिलो हुनाले सबभन्दा पहिले त्यसैमा आँखा पर्दथ्यो। विभिन्न जातका चराचुरुंगीहरुको साम्राज्य थियो। रुखमा कोहिपनि नचढने भएर पनि होला उनीहरुले निर्धक्कसंग बचेराहरु हुर्काउन पाउँथे। एकाबिहानै चिरबिर चिरबिरको आवाजले पाखै संगीतमय बन्थ्यो।

सिर्मुको रुखलाई कतै कतै टुनिको नामले पनि चिनिन्छ। यसको काठबाट सन्दुक बनाउँथे। दार बलियो हुने हुनाले धरै मान्छेहरुले  समयमै काटेर काठको सदुपयोग गर्न समेत सुझाउँथे। एकपल्टको कुरा हो  बुवाले बेशीमा घर बनाउँदै हुनुहुन्थ्यो।दिनभर उहाँले सिर्मुको रुख काट्ने कि भनेर सोच्नु भएछ।  त्यो रात सपनामा राँगोले लखेटेको देखेपछि सिर्मुको रुख काट्ने कुरो सोच्न पनि छोड्नुभएछ। यति सम्म कि मान्छेहरु भन्थे 'हामीलाई रुख बेच्नुस।  त्यसपछि त्यो तपाइँको हुँदैन। हामी काट्छौँ।' तरपनि बुवाले त्यो रुख बेच्न मान्नु भएन।

हामी कतै गएर घर फर्किंदा सबभन्दा पहिले सिर्मुको रुख देखिन्थ्यो। गहिरो खोंचमा भएर पनि अग्लो र झोपिलो हुनाले सबभन्दा पहिले त्यसैमा आँखा पर्दथ्यो। विभिन्न जातका चराचुरुंगीहरुको साम्राज्य थियो। रुखमा कोहिपनि नचढने भएर पनि होला उनीहरुले निर्धक्कसंग बचेराहरु हुर्काउन पाउँथे। एकाबिहानै चिरबिर चिरबिरको आवाजले पाखै संगीतमय बन्थ्यो।

हामीहरु हुर्किंदै गएपछि पढाइकै सिलसिलामा घर देखि टाढा टाढा हुँदै गयौ। बुवा आमाको पनि काम गर्ने शक्ति कम हुँदै गयो। लेक, बेसी गरेर तीन ठाउँमा जग्गा जमिन थियो। सिजन अनुसारको बारी लगाउन तलमाथि गरेकोगर्यै गर्नुपर्ने भएकोले हामीहरुको सल्लाह अनुसार बुवाले लेकको बारी बेच्ने निर्णय गर्नुभयो। तर यो निर्णय बुवा आमाको भित्री आत्माले स्वीकार गरेको थिएन। बुवाले त सोच्नु भएको थियो 'छोराहरु धेरै छन्।  हुर्केपछि आफ्नो आफ्नो गर्छन् खान्छन्। आफू जन्मेको, हुर्केको माटो पक्कै पनि छोड्दैनन्।' तर उहाँले सोचेजस्तो भएन।  घरमा हुनुभएको दाजुहरु समेतले घर छोडेर आफ्नो आफ्नो तरिकाले बस्न थालेपछि एकजना मान्छेलाई ठेक्का दिएर बेसीमा झर्नुभयो। ठेक्का गर्नेले आफूले मायाले हुर्काएका रुखबिरुवाहरुको राम्रो संरक्षण नगरेको देखेपछि उहाँलाई चित्त बुझिरहेको थिएन। ठेक्का दिएको केहि वर्षमा नै उसैलाई हाम्रो मुल घरबारी सबै बेच्नुभयो। त्यो पनि उधारोमा। तर बुवाले जग्गा जमिन सबै बेचे पनि सिर्मुको रुख बेच्नु भएन। सर्तमै राख्नु भयो कि त्यो रुख जीवित रहुन्जेल कसैले पनि नकाट्ने। यसरी सबैथोक बेच्दा पनि बुवाले त्यो रुख बेच्नु भएको थिएन। हामी बेलाबेला त्यो रुख हेर्नकै लागि पनि हाम्रो मूल घर थान जान्थ्यौँ। त्यो रुखलाई देखेपछि आफन्त भेटे झैँ हुन्थ्यो। रुखको फोटो खिच्थ्यौँ।  अनि बुवा आमालाई देखाऊथ्यौँ।  उहाँहरु पनि रुखलाई देखेपछि परदेशमा बसेको छोराको तस्बिर हेरे जस्तै गरि भाबुक बन्नुहुन्थ्यो।

मूल घरबारी बेचेर राक्से (बेसी) मा बस्न थालेको धेरै वर्षसम्म बुवाले लेकको घरबारी धेरै मिस गर्नुभयो। उहाँलाई आफूले गर्दैआएको खेतबारी एकाएक छोड्दै गर्नु परेकोले ठूलो पिर परेको थियो।  जिमीको बारी पनि आधा बाँझो भयो।  आधामा एकजना गाउँकै मान्छेले अधियाँ गर्थे।  तर बुवालाई उसले गरेको काम चित्त बुझेको थिएन।  तर आफूसंग काम गर्ने तागत नभएपछि चित्त बुझाउनै पर्यो।

एकदिन समय यस्तो आयो कि  घरमा भएको लैनो भैसीलाई घाँस समेत काटेर राखिदिने मान्छे नभएपछि त्यो भैँसी पनि बेच्नु पर्यो। भैँसीको मोलमोलाई गरेपछि भकारोबाट नफ़ुकाउँदै घरको आँगनमै बुवा हृदयघातले ढल्नुभएछ। छिमेकी टोपनारायण अर्याल, अर्जुन अर्याल र साइलो दाजु मिलेर बुवालाई उपचारको लागि बुटवल लिएर आउनुभयो। त्यतिबेला म हेटौँडामा कलेज पढाउथें। बुवा बिरामी भएर बुटवल ल्याउँदै गरेको खबर सुन्नासाथ म बुटवल लागेँ। बुटवलमा मैले बुवालाई देख्दा उहाँ पूर्ण अचेत अवस्थामा हुनुहुन्थ्यो। तर उहाँको स्वासप्रस्वास नियमित थियो। अनुहारको दाइने भाग अलिकति तल झरेजस्तो देखिन्थ्यो। मैले राम्रोसंग उहाँको अनुहार हेर्न समेत सकिन।  बुटवलमा उपचार नहुने भएपछी हामीले तुरुन्त भैरहवा मेडिकल कलेजमा पुर्यायौ। त्यतिबेलासम्म बुवा भेजिटेबल अवस्था थियो।  डाक्टरहरुले इन्टेन्सिभ केयरमा राखेर उपचार गरेपनि एक दुइ प्रसेन्ट भन्दा बढी बाँच्ने चान्स नभएको र  शरीरको आधाभागमा पक्षघात भैसकेकोले केस धेरै जटिल भएको कुरा  बताए।  हामीलाई भने 'सास हुन्जेल आस हुन्छ' भनेझै कतै भगवानको कृपाले गर्दा चमत्कार पो हुन्छ कि  भन्ठानेर जबर्जस्ती आइ सी यु मा राखेर उपचार सुरु गर्न लगायौँ। तर हाम्रो बिन्ति भगवानले सुन्नु भएन। हामीले अकालमै बुवालाई गुमायौँ।

बुवाको मृतु भएको तीन वर्षपछी मात्र मैले बुवालाई सपनामा देखेँ त्यो पनि सिर्मुको रुखसंगै। उहाँले सिर्मुको रुख वरिपरिको घाँस काट्दै हुनुहुन्थ्यो। रुख अलि बुढो देखिएको थियो। रुखको फेदीमा मकैका दुइवटा बोटहरु थिए। सायद बुवाले मकैको धार दिँदै हुनुहुन्थ्यो होला। हाम्रो पुर्खादेखि चल्दै आएको चलन के थियो भने मकै पाकिसकेपछि नाग देवतालाई चढाएर मात्र हामीले खान्थ्यौँ। पछि आएर हामीहरुले नागको पूजा घर नजिकैको पैयुको रुखको फेदमा गर्न थालेका थियौँ। तरपनि दुइवटा मकैको बोट सिर्मुको रुखको फेदमा लगेर राखिदिन्थ्यौँ। गोबरको कुण्ड बनाएर नागलाई धार दिन्थ्यौँ।

आठ/दश वर्ष अघिसम्म सिर्मुको रुखले कैयौँ महिलाहरु गीत घन्काउँदै पँधेरामा पानी भर्न आएको, एकैछिन बसेर जुम्रा मारेको देखेको थियो। लोक भाकामा गित गाएको, दशैंमा लाहुरेहरु टेपरेकर्डर घन्काउँदै त्यो बाटो हिँडेको, पारीपट्टी गोठाला गोठाल्नीहरुले पात बजाएको देखेको र सुनेको थियो। तर केहिवर्ष यता भने उसले एक्लो एक्लो महशुस गरेको थियो। सुनसान थियो वरिपरी। पहिले पहिले दिनभर पारी बनमा गाइवस्तु चर्थे। ऊ त्यहाँ उभिएर सबै गतिविधि हेर्थ्यो। कस्तो रमाइला थिए दिनहरु उसका पनि। तर पछि झ्वाम्मको झोपिलो रुख वोइलिँदै गएको थियो। पानी भर्न पँधेरामा कोहि जाँदैनथे। न कसैले पाखै गुञ्जने गरि गीत गाउँथे। सधैँ सुरिलो भाकामा पात बजाउँदै खोलै रन्काउने गोठाला गोठाल्नीहरु पनि हराए।  निकै सुनो थियो रे तिरतिरे खोला केहि वर्षयता। एक्लो बुढो सिर्मुको रुख जनतन ठडिएको मात्र थियो तर हिजो राति सिर्मुको रुख ढलेछ हावाको झोक्का संगै। हामीले एउटा बलियो अभिभावक गुमायौँ। सिंगो इतिहास बोकेको त्यो रुख ढलेको कुरा सुन्दा हजारौँ माईल टाढाको यो मन रोयो।

अलबिदा सिर्मुको रुख।

तपाईँको मत