गाउँ सहर

जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी  अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ ।

मोहम्मदी अहिले इरानको जेलमा छिन् । इरानको सरकारले उनलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । पाँच पटकसम्म उनी दोषी ठहर भइसकेकी छन् । मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ । यस्तै एक सय ५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ ।

नोबेल शान्ति पुरस्कार आउँदो डिसेम्बर १० मा वितरण गरिने छ । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्विडेनमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ । प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा ९ लाख ९० हजार अमेरिकी डलर पाउँछन् । यदि एकभन्दा बढी विजेता भएमा त्यही रकम उनीहरूबीच भाग लगाइन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत