अर्थतन्त्र

एक वर्षमा वाणिज्य बैंकले ७० अर्ब १७ करोड नाफा कमाए, यस्ताे छ बैंकहरूकाे अवस्था

काठमाडाैं । बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार  वाणिज्य बैंकहरुले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन् । अघिल्लो आवको असार मसान्तमा बैंकको नाफा ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

तत्कालीन नेपाल बंगलादेश बैंक गाभेको नबिलको नाफा सबैभन्दा धेरै ७६ प्रतिशत बढेको देखिन्छ ।

नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । नबिलपछि ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड खुद नाफा कमाएको छ ।

प्राइम कमर्सियल र कुमारी बैंकको नाफा भने अघिल्लो वर्ष २०७८/७९ को तुलनामा घटेको छ । प्राइम कमर्सियल बैंकको १८ र कुमारीको नाफा २४ प्रतिशतले घटेको हो । यी दुबै बैंकको निष्क्रिय (समयमै उठ्न नसकेको) कर्जा हृवात्तै बढ्दा नाफामा असर देखिएको हो । कुमारीको निष्क्रिय कर्जा ४.७७ प्रतिशत र प्राइम कमर्सियलको ४.२३ प्रतिशत पुगेको छ । यस्तो कर्जा ५ प्रतिशतभन्दा माथि गएमा राष्ट्र बैंकले कारबाही गर्ने व्यवस्था छ ।

वित्तीय विवरण अनुसार सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेष्ट बैंकले राख्छ । एभरेष्टले गत वर्षको नाफाबाट यो वर्ष सेयरधनीलाई ४०.५ प्रतिशत लाभांश दिनसक्छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकको २ वटाको नाफा घटेको छ भने बाँकी १८ बैंकको नाफा बढेको छ । नाफा घट्नेमा कुमारी र प्राइम बैंक रहेका छन् । कुमारी बैंकको नाफा २४.१३ प्रतिशतले घटेर १ अर्ब ९५ ७१ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ। यस्तै प्राइम बैंकको नाफा १८.८० प्रतिशतले घटेर २ अर्ब २६ करोड ३१ लाख ५४ हजार रुपैयाँमा सिमित भएको छ ।

धेरैजसो बैंकको नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकहरुको प्रतिफल क्षमता भने बढ्ने सकेको छैन । प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । प्रतिसेयर आम्दानीका आधारमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । सो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । त्यस्तै स्टान्डर्ड चार्टड बैंकको ३७ रुपैयाँ ३९ पैसा र राष्ट्रिय वाणिज्यको ३३ रुपैयाँ ९६ पैसा छ । वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७४ पैसा छ । २०७८/७९ मा १९ रुपैयाँ ९८ पैसा थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत