बागमतीमा मन्त्रालय संख्या थपियो, लुम्बिनीमा पनि थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी
- २१ श्रावण आइतबार, २०८० | १६:४३:०० मा प्रकाशित

मकवानपुर । बागमती प्रदेश सरकारमा लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
प्रदेश सरकारका ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी १२ वटा मन्त्रालय बनाइएको छ । यसरी नयाँ मन्त्रालयका रुपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना गरी मन्त्री चित्रकारलाई सोही मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
नेपाली कांग्रेसका प्रदेश संसदीय दलका उपनेतासमेत रहेका मन्त्री चित्रकारले मन्त्री नियुक्त भएदेखि नै जिम्मेवारी पाउन सकेका थिएनन् । कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आए पनि माओवादी केन्द्रले आफ्नो भागमा परेको सो मन्त्रालय विभाजन गर्न अस्वीकार गर्दै आएको थियो ।
लुम्बिनी प्रदेशमा मन्त्रालय थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी
लुम्बिनी प्रदेशमा मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको छ । गत वैशाख १५ गते नेपाली कांग्रेसका डिल्ली चौधरीको नेतृत्वमा गठन भएको सरकारलाई पूर्णता दिन मन्त्रालय विभाजनको तयारी भइरहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।
उनले हाल भएका मन्त्रालयलाई विभाजन गरी दुई वटा मन्त्रालय थप्ने र साउन महिनाभित्रै सरकारलाई पूर्णता दिने गृहकार्य भइरहेको बताए ।
सरकार गठन गर्दा सत्तारुढ दलहरूबीच भएको सहमति अनुसार कांग्रेसका ३ र माओवादी केन्द्रका २ मन्त्री बनाउने तयारी रहेको मन्त्री पाण्डेले खुलाए ।
दुई वटा मन्त्रालय थपेपछि अब लुम्बिनी प्रदेशमा १२ वटा मन्त्रालय हुनेछन् । अहिले मुख्यमन्त्रीसहित ७ जना मन्त्री छन् । प्रदेशमा हाल ३ वटा मन्त्रालय खाली छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित हाल १० वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खानेपानी, ग्रामीण तथा सहकारी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हालिरहेका छन् ।
नयाँ दुई वटा मन्त्रालय बनाउन उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालय विभाजन गर्ने गृहकार्य भइरहेको बताइन्छ ।
प्रतिकृया दिनुहोस