कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त
- गाउँ सहर संवाददाता
- १६ श्रावण मंगलबार, २०८० | १७:२०:०० मा प्रकाशित

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।
सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याएको हो ।
एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत भएका थिए । गौतमलाई सभामुख पद छोडेकाले मन्त्री बनाउने निष्कर्षमा पार्टी पुगेको माओवादीका एक सांसदको भनाइ छ । तर गौतम मन्त्रीमा जाने/नजाने अहिले नै भने निर्णय भइनसकेको उनको भनाइ थियो ।
सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहँदा सभामुख गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङले गठबन्धन दल कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निर्णय बिहीबार बदर गर्दै परमादेश जारी गरेपछि खापुङले सरकार गठनका लागि आह्वान गरेका थिए । उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि मंगलबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस