गाउँ सहर

बाघको संख्या बढेर तेब्बर, मानव वन्यजन्तु द्वन्द्वनले व्यवस्थापनमा चुनौती

काठमाडौं । आज  विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।

वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम गर्दैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे सन् २०२३–३२० कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । कार्ययोजनामा बाघको संख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको उनले बताए । 

पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । 

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

संकल्प दोब्बर, वृद्धि झण्डै तेब्बर
उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संख्या १२१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको संख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी संख्याले बाघ बढाउन सफल भएको छ । 

उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ थिए । बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्यांक छ ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्यांक छ । सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको संख्या बढेर २३५ पुगेको थियो ।
    
नेपालबाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको संख्या रहेको अनुमान थियो । त्यो संख्या सन् २०१० मा घटेर तीन हजार दुई सयमा सीमित भएको थियो । त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको संख्या बढेर २०१६ मा तीन हजार ९०० र सन् २०२२ मा चार हजार ५०० पुगेको विश्व वन्यजन्तु कोषको तथ्यांक छ ।  

सन् २०१६ को तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी भारतमा दुई हजार २२६ र सबैभन्दा कम लाओसमा दुईवटा बाघ थिए । 

बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु
नेपालमा बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । 

उनीहरुलाई जंगल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जंगली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा २०० मानिसको मृत्यु भएको तथ्यांक छ । साथै क्षतिपूर्तिवापत सरकारले रु ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ । वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् ।

त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्यांक छ । आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, आव २०७८/७९ मा २१, आव २०७७/७८ मा १३, आव २०७६/७७ मा आठ र आव २०७५/७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो ।

विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जंगल वरपरका समुदायलाई जंगल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए ।  

उनले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जंगल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । 

बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्‍याउँछ । खाद्य शृंखलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ । रासस

तपाईँको मत