सडक/यातायात

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा घट्यो गाडी भाडा

काठमाडौं । वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाएको जानकारी दिएको हो ।

नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ । अब काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । भने १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ ।

यसअघि पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो । भने १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो । १५ किलोमिटरसम्म यात्रा गर्दा पहिला ३० रुपैयाँ रहेकोमा अहिले २९ रुपैयाँ तोकिएको छ । यस्तै, २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ तय गरिएको छ । २० किलोमिटरभन्दा लामो दूरीको भाडा पहिले ३८ रुपैयाँ रहेकोमा अहिले ३७ रुपैयाँ तोकिएको छ ।

यस्तै, वाग्मती प्रदेश सरकारले उपत्यका बाहिर जाने सवारीसाधनमा गत जेठ ११ गतेदेखि लागु गरेको भाडादरमा २.३० प्रतिशत भाडा कम गरेको छ । यात्रुले यो भाडादरमा १५ किलोग्रामसम्मको सामान निःशुल्क र सोभन्दा बढीको प्रति १० किलोग्रामको पाँच रुपैयाँ दरले भाडा तिर्नुपर्ने गरी भाडादर तोकिएको छ ।

यस्तै, वाग्मती प्रदेशमा सञ्चानल हुने मालवाहक सवारीसाधनको भाडा १३.७४ रुपैयाँ प्रतिटन प्रतिकिलोमिटर तय गरिएको छ । विद्युतीय माध्यमबाट सञ्चालित यात्रुवाहक सवारीसाधन र यात्रुवाहक सवारीसाधन ट्याक्सीको हकमा भने २०७९ को वैशाख १ देखि जारी भाडा दर नै कायम रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत