गाउँ सहर

सङ्घर्षमय थियाे सीता दाहालकाे जीवनयात्रा

सन् २००५ मा जनयुद्धको क्रममा दाङमा सेटलाइट फोनमा बोलिरहेका प्रचण्ड, साथमा सीता (तस्बिर स्रोतः नेपाली टाइम्स)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ।

बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालले उनलाई मृत घोषित गरेको हो। श्वासप्रश्वासमा समस्या आएपछि बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अस्पताल ल्याइएको थियो।

सीता विगत २ वर्षदेखि ओछ्यानमै अचेत पल्टिरहेकी थिइन्। उनलाई केही समययता प्रधानमन्त्री निवास बालुवाटारको एक कोठामा निजी नर्ससहित राखिएको थियो। 

सीतालाई  प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) थियो। त्यससँगै डायबिटिज, हाइपरटेन्सन र ब्लड प्रेसर रोग थियो। उनलाई पाइपबाट खाना खुवाइन्थ्यो। 

ओछ्यानमा पल्टिरहेकी उनी बोल्न र हिँडडुल गर्न सक्नुहुन्न। हातखुट्टा नचल्ने उनी आँखा जुधाएर हेर्न सक्दैन थिइन्।

सीता दाहाल वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिएकी हुन् । सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाह भएको थियो ।

वि.सं. २०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन् ।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् ।

सीता दाहालका बारेमा पार्टीका महासचिव देव गुरुङ भन्छन्, ‘‘सीता दहालले जनयुद्धको समयमा  आँधीमय वर्षहरूमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लोसमय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोगलगायतका रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थियो ।’’

भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आएको जानकारी पनि महासचिव गुरुङले दिए ।

जनयुद्धको भूमिगतमा पनि छाडिनन् श्रीमानकाे साथ

तीन छोरी र एक सानो छोराको हेरचाह गर्नुपर्ने बेला प्रचण्ड जनयुद्धको अन्तिम तयारी गरिरहेका थिए। अर्धभूमिगत रुपमा श्रीमानले आन्दोलनको तयारी गरेको सीताले सुइँको नपाउने कुरै भएन। त्यसबेला प्रचण्ड नेकपा मशालको महामन्त्री थिए। 

प्रचण्डबारे उनी पार्टीको सम्पर्क सूत्रमार्फत जानकारी लिन्थिन्। २०४९ सालमा जेठी छोरी ज्ञानुको बिहे भयो। त्यसपछि प्रचण्डले निर्मल लामाको नेकपा चौथो महाधिवेशन, नेकपा मसालको हरिबोल गजुरेल, डा. बाबुराम भट्टराईको समूहसँग एकता गरी नेकपा एकता केन्द्र बनाए। 

जनयुद्ध थाल्ने बेला एकता केन्द्रको नाम फेरेर नेकपा माओवादी राखियो।युद्धका अन्तर्राष्ट्रिय अभ्यास, फौजी रणनीतिको प्रयोग, हतियार र सैन्य दस्ता निर्माणमा गहन अध्ययन गरेका महामन्त्री प्रचण्डले अन्तिम तयारी सके। युद्धको तयारीसँगै प्रचण्डलाई सुरक्षा चिन्ता थपियो। उनी सुरक्षित रहन र युद्धलाई थप अघि बढाउन सेल्टर परिवर्तन गर्नुपर्ने अवस्थामा पुगे। दुई छोरी रेनु र गंगाको पढाइ सक्नुपर्ने थियो। छोरो प्रकाश निकै सानो थिए। उनले सीतालाई भने– युद्धमा जे पनि हुनसक्छ। तिमीले बालबच्चाको हेरचाह गर्नू। तर, सीताले श्रीमानलाई आफू पनि युद्धमा सँगै जाने प्रस्ताव राखिन्। सुरुमा प्रचण्डले मानेनन्। दुई छोरी र छोराको भविष्यको चिन्ताले उनी सीतालाई सँगै लिएर हिँड्न तयार भएनन्। फेरि सीताले आत्मविश्वाससहित भनेपछि सहमत भए। प्रचण्डसँगै सीता पनि युद्धमा मिसिइन्।

२०५२ फागुन १ गते जनयुद्ध सुरु भयो। पश्चिम र पूर्वका केही ठाउँमा एकैसाथ प्रहरी कार्यालयमाथि माओवादीले आक्रमण गर्‍यो। त्यो बेला प्रचण्ड र सीता काठमाडौंमै थिए। त्यसपछि सीता कहिले रोल्पा, रुकुम त कहिले काठमाडौं, ललितपुरका विभिन्न ठाउँ सर्दै बसिन्। युद्ध चर्किंदै गएपछि उनीहरु भारतका विभिन्न सहरमा बसे। सीताले प्रचण्डलाई युद्धका आरोह–अवरोहहरुमा हरतरहले साथ दिएको र उनलाई बचाएको माओवादी नेताहरु बताउँछन्। ‘जनयुद्धमा निरन्तर लागेर हेडक्वार्टरको रक्षा र विकास गर्ने मुख्य भूमिका सीता दाहालको थियो,’ माओवादीका एक नेताले भने, ‘प्रचण्डलाई सफल बनाउन उहाँको ठूलो र महत्वपूर्ण योगदान छ।’‘सीएमको म्याडम भएर मात्र होइन, सीताजीमा साँच्चै सल्लाहकारमा हुने क्षमता थियो, उहाँको सल्लाह अनुसार चालिएका कतिपय कदम सही साबित भएको थियो,’ पदाधिकारी समेत रहेका ती नेता भन्छन्।

आरोह–अवरोह

दोस्रो संविधान सभाको चुनाव हुनुभन्दा केही समय अघि मात्र जेठी छोरी ज्ञानुमा स्तन क्यान्सर देखियो। यसले सीता दाहाललाई ठूलो तनाव दियो। छोरीको उपचारका सबै उपाय खोजी भयो। देशभित्र र बाहिर (भारत) पनि उपचारका लागि लगियो। तर, क्यान्सर निको भएन। २०७० चैत १३ गते ज्ञानुको ४० वर्षकै उमेरमा काठमाडौँको ओम अस्पतालमा मृत्यु भयो। एक्कासि छोरीको निधनले सीता विक्षिप्त भइन्। उनमा पार्किन्सन जस्तो रोगको लक्षण देखिन थाल्यो। तर, धेरै मानसिक तनाव नलिन र खुसी रहन डाक्टरले सुझाव दिएका थिए। 

२०७४ मंसिर १० र २१ गते प्रतिनिधि सभाको चुनाव मिति तय भयो। एमाले र माओवादीले चुनावी तालमेल गरे। चुनाव प्रचारमा प्रचण्ड जति व्यस्त थिए, त्यति नै प्रचारमा खटिएका थिए छाेरा प्रकाश पनि। तर, चुनाव आउन एक हप्ता बाँकी हुँदा (२०७४  मंसिर ३) प्रचण्ड–सीतालाई अर्काे बज्रपात पर्‍यो। लाजिम्पाटमै घरमा सुतिरहेका बेला छोरा प्रकाश दाहालको ३ मंसिर २०७४ मा मृत्यु भयो। छोरोको मृत्युपछि सीता झन् विक्षिप्त भइन्। एकपछि अर्काे सन्तान गुमाउँदाको पीडा नै सीताको रोग बल्झाउने कारण बन्यो। उनी दैनिक शिथिल बन्दै गइन्।

गाउँ सहर संवाददाता

तपाईँको मत