कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
- गाउँ सहर संवाददाता
- २१ असार बिहीबार, २०८० | १७:२३:०० मा प्रकाशित

विराटनगर । कोसी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा उद्धव थापालाई नियुक्त गरिएको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)समेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन्। उनलाई कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य (सांसद)को समर्थन छ। प्रदेशसभामा नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद छन्।
संसदबाट विश्वास गुमाएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो। प्रदेश प्रमुखले आज साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए। गठबन्धनले समयसीमाभित्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेर थापालाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेको थियो।
मुख्यमन्त्रीमा नियुक्त भएका थापा कांग्रेस कोसी प्रदेशका सभापतिसमेत हुन्। झापाका उनी कांग्रेसका समानुपातिक सांसद हुन्। सरकार गठनमा सभामुखको प्रयोग संविधानविपरीत हुने भन्दै विरोध भइरहेको थियो। विरोधका वावजुत प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ मत आवश्यक पर्ने थियो। एमाले र राप्रपा विपक्षमा बस्दा सभामुखबाहेक बहुमतका लागि संख्या पुग्ने अवस्था थिएन।
राप्रपालाई ल्याउने प्रयास असफल हुँदा संविधानविपरीत गठबन्धनले सभामुखसमेतलाई गणना गरेर मुख्यमन्त्रीका लागि दाबी पेश गरेको थियो। प्रदेश प्रमुखले त्यसलाई स्वीकार गर्दै थापालाई मुख्यमन्त्री बनाएका हुन्।
मुख्यमन्त्री नियुक्तिलाई लिएर सभामुख विवादित बनेका छन्। दाबी पत्रमा उनी आफैले हस्ताक्षर गरेका छन्। प्रदेश प्रमुखको भूमिकामा पनि प्रश्न उठेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
प्रतिकृया दिनुहोस