अर्थतन्त्र

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित, बागमतीमा बजेटमाथि उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । 

अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे ।

आव २०८०/०८१ का लागि प्रदेशसभामा सरकारका तर्फबाट अर्थमन्त्री धनबहादुर मास्कीले असार १ गतेका लागि रु ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो । जसका कारण चार पटकसम्म सदन अवरुद्ध हुन पुगेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षीबीच मङ्गलबार भएको वार्तापछि प्रदेशसभाको बुधबारको बैठक सञ्चालन भएको थियो । 

सरकारले असार १ मा ल्याएको बजेट चालुतर्फ रु १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ रु २३ अर्ब २५ करोड ६९ लाख एक हजार रहेको छ । त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ५८ करोड ९७ लाख छ । जुन चालुतर्फ ३३ दशमलव ६८ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव ४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ आठ दशमलव ८७ प्रतिशत रहेको छ । 

आगामी वर्ष आन्तरिक राजस्वबाट रु छ अर्ब ७३ करोड ५१ लाख, सङ्घबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट रु ११ अर्ब ३१ करोड ७४ लाख, सङ्घबाट प्राप्त हुने रोयल्टी रु २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व रु दुई अर्ब ५० करोड ३० लाख हुने अनुमान गरिएको छ । 

त्यस्तै, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब १४ करोड ८३ लाख, ससर्त अनुदानबाट रु पाँच अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट रु ८४ करोड, विशेष अनुदानबाट रु ५६ करोड, चालु आवको नगद मौज्दातबाट रु तीन अर्ब र आन्तरिक ऋणबाट रु एक अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ । चालु वर्ष २०७९/८० मा रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो ।

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने

बागमती प्रदेश सभा बैठक बस्दैछ ।

प्रदेश सभा भवन, हेटौंडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । 

आर्थिक वर्ष २०८/०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरुले प्रतिपक्ष दलहरुले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरु कार्यान्वयन गरेर अघि बढ्ने बताए पछि बैठक सुचारू भएको थियो ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा विभेद गरेको भन्दै बजेट माथी छलपफल चलाउन दिएको थिएन तर बागमती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ गरेर अघि बढने प्रतिबद्धता जनाए पछि बुधबारबाट बैठक सुचारू भएको हो । 

हिजोको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

बिहिवारको बैठकमा पनि मन्त्रीहरूले बजेट माथी उठेका प्रश्रको जवाफ दिनेछन्  ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत