विद्युत

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट विजुली उत्पादनमा वृद्धि

  • १८ जेठ बिहीबार, २०८० | १७:२५:०० मा प्रकाशित

तनहुँ । मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित विजुली वृद्धि हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट विजुली उत्पादन वृद्धि हुन थालेको हो । 

हाल वर्षा हुनका साथै हिमालमा हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि दैनिक ६० मेगावाटसम्म विजुली उत्पादन भइरहेको केन्द्रले जनाएको छ । हिउँदमा ४० मेगावाट उत्पादन भएकोमा हाल  २० युनिट बढेर ६० मेगावट पुगेको केन्द्रका प्रमुख बद्री फूयाँलले बताए । 

गर्मी बढ्ने र वर्षा धेरै हुने समय सुरु भएकोले जेठ महिनाभित्रमा पुरै क्षमतामा उत्पादन हुने केन्द्रले जनाएको छ । यस आयोजनाबाट बर्खायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दा बिजुली उत्पादन बढ्ने र पानी घट्दा उत्पादन घट्ने भएकाले नदीको पानीको बहाव क्षमताको आधारमा विजुली उत्पादन हुने गर्दछ । 

केन्द्रका प्रमुख फूँयालले भने, "यतिबेला प्रशस्त पानी पर्ने समय हो तर खडेरी लामो समय सम्म भएकोले नदीमा पानीको बहाव कम भएकोले पूर्ण क्षमतामा उत्पादन हुन सकेको छैन ।" धेरै समय खडेरी परेकोले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले पूर्ण क्षमतामा उत्पादन हुन नसकेको केन्द्र प्रमुख फूयाँलले जानकारी दिए । यो समय वर्षा मौसमको भएपनि वर्षा थोरै मर्स्याङ्दीमा मिसिने स्रोतमा पानीको बहाव कम भएकाले ६९ मेगावाट उत्पादन हुनु पर्नेमा ६० मेगावाट मात्रै भएको फूयाँल बताउछन् । फूयाँल भन्छन्, "गर्मी बढ्ने र पानी पर्न थालेसँगै केन्द्रको विजुली विस्तारै वृद्धि हुँदै गएको छ जेठ महिनाभित्रै पूर्ण क्षमतामा सञ्चालनमा आउने अपेक्षा गरेका छौं ।" साँझ र विहान विजुलीको माग धेरै हुनेभएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्मा जम्मा गरेर लैजाने साँझ विहान भने पूर्ण उत्पादन बढाउने गरिएको केन्द्र प्रमुख फूयाँलले जानकारी दिए । 

केन्द्रका अनुसार विद्युत्को माग साँझ ५ बजे देखि १० बजेसम्म र विहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर करीब पूर्ण क्षमतामै उत्पादन गरिएको छ । विद्युत्को माग धेरै भएको समयमा तीन वटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भैरहेको छ । 

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिँउ कम पग्लिने, यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि घट्ने गर्दछ । 

यसैगरी गर्मी मौसम पानी धेरै पर्ने हिमाल पनि धेरै पग्लने भएकोले उत्पादन वृद्धि हुने गर्दछ । वर्षा धेरै भएकोमा क्षमताभन्दा पनि तीन युनिट बढीसम्म उत्पादन हुने केन्द्र प्रमुख फूयाँल बताउछन्। यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौंको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

तपाईँको मत