पूर्वाधार

चिवाभञ्ज्याङ नाका खोल्न ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा पहल गर्न माग

  • १८ जेठ बिहीबार, २०८० | ०७:४२:०० मा प्रकाशित

पाँचथर । पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका-१ चिवाभञ्ज्याङ नाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा यसबारे पहल गर्न माग गरिएको हो ।

नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ । नाका सञ्चालनमा नआउँदा नेपाल-भारत (सिक्किम) आवतजावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताए । स्थानीय उत्पादन भारत निकासी रोकिएको, चिवाभञ्ज्याङ हुँदै नेपाल आउन चाहने पर्यटक र तीर्थयात्रीले बाटो प्रयोग गर्न नपाएकाले यथाशीघ्र नाका सञ्चालनको व्यवस्था गर्न माग गरिएको उनले बताए ।

नेपालले चिवाभञ्ज्याङसम्म एक दशकअघि नै सडक पुर्‍याएको थियो । मध्यपहाडी लोकमार्गको ट्र्याक खोलिएसँगै यहाँसम्म सवारीसाधन पुग्न थालेका थिए । दुई वर्षअघि भारतको सिक्किम राज्य सरकारले पनि चिवाभञ्ज्याङसम्म सडक विस्तार गरिसकेको छ । नेपालका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलसम्म जान चाहने पर्यटकले यो बाटो प्रयोग गर्न पाएका छैनन् ।

‘सिक्किमबाट पाथीभरा मन्दिरको दर्शन गर्न र पूर्वी पहाडका विभिन्न स्थानमा रहेका आफन्त भेट्नका लागि आउने भारतीय नागरिकले बाटो प्रयोग गर्न पाएका छैनन्’, याङवरक-१ का वडाध्यक्ष राजेन्द्र खालिङले भने, ‘यहाँबाट सिक्किम जान चाहनेले पनि बाटो प्रयोग गर्न पाएका छैनन् ।’

पाँचथर र ताप्लेजुङका सयौं परिवारको सिक्किमसँग पारिवारिक सम्बन्ध छ । अहिले पनि वारिपारि बिहेवारी हुने गरेको छ । प्रहरीले उपलब्ध गराएको प्रवेश अनुमतिपत्र बोकेरमात्र आफन्त भेट्नुपर्ने स्थानीयवासीको बाध्यता छ ।

‘सरसामान ल्याउन तथा लैजान उत्तिकै कठिन छ’, वडाध्यक्ष खालिङले भने । चिवाभञ्ज्याङको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल तैनाथ छ । नेपालतर्फ पनि तीन वर्षअघि बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

दुवैतर्फ सुरक्षाकर्मी तैनाथ गरिएको अवस्थामा नाकालाई व्यवस्थित गरिनुपर्ने गाउँपालिकाका अध्यक्ष योङ्याको भनाइ छ । यहाँ भन्सार कार्यालय स्थापना गर्न माग गरिएको छ । नाका सञ्चालन भए पाँचथर र ताप्लेजुङका सीमावर्ती गाउँपालिका याङवरक, फालेलुङ, सिरिजङ्घा, सिदिङ्वाका ग्रामीण क्षेत्रको उत्पादनले भारतमा बजार पाउने स्थानीयवासी बताउँछन् ।

मध्यपहाडी लोकमार्गसँग याङवरक-६ गणेशचोकमा मेची राजमार्ग र हिलिहाङ-१ फेदापामा तमोर करिडोर जोडिन्छ । नाका खुलेमा सामग्री आयात गर्न सहज हुने, राजस्व सङ्कलनमा वृद्धि हुने अध्यक्ष योङ्या बताउँछन् । चिवाभञ्ज्याङबाट याङवरक-४ दारिम्बासम्म मध्यपहाडी लोकमार्गको बाँकी ५१ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको छ ।रासस

तपाईँको मत