सडक/यातायात

नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक सञ्चालन

  • ११ जेठ बिहीबार, २०८० | १५:४४:०० मा प्रकाशित

सिमकोट । पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो ।   

डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक सञ्चालन आएको हो ।  नाम्खा–५ को यारीमा पर्ने नारा लेकमा जमेको झन्डै चार फिटसम्मको हिउँ र पहिरो पन्छाएर सडक सञ्चालन भएको हिल्सा–सिमकोट सडक आयोजनाका इञ्जिनियर नीरज राजवंशीले बताउनुभयो । नारापासमा यातायात सञ्चालन गर्न नौ दिन लगाएर हिउँ र पहिरो पन्छ्याइएको इञ्जिनियर राजवंशीले बताए ।

सिमकोट–हिल्सा सडकखण्डको सिमकोटदेखि यारीसम्म यातायात सञ्चालन भए पनि नारामा हिउँ जमेको हुनाले पाँच महिनादेखि सडक अवरुद्ध थियो । हिल्सा–यारी खण्डको २८ किलोमिटर सडकमध्ये १० किमी सडकबाट हिउँ र १८ किमी सडकबाट पहिरो पन्छाइएको हो । 

पाँच महिनादेखि सडक यातायात अवरुद्ध हुँदा स्थानीय एवं व्यापारी पैदलै हिँड्न बाध्य थिए । वैशाख १८ गतेदेखि जेठ पहिलो हप्तासम्म ताक्लाकोट जाने हुम्ली तथा हिल्सामा कार्यरत सुरक्षाकर्मीले यसअघि पैदल भएर आवतजावत गरिरहेका थिए । अहिले पहिरो र हिउँ पन्छाएसँगै सडक यातायात सञ्चालन भएकाले यात्रुलाई सहज भएको सिमकोट गाउँपालिका–७ का बासिन्दा वीरबहादुर सिंहले बताए ।

कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट सडकखण्ड हिल्सा–सिमकोट सडक आयोजनाको क्षेत्रमा पर्ने भएकाले कार्यालयले आफैँले मेसिन लगाएर हिउँ पन्छाएको इञ्जिनियर राजवंशीले बताए । अघिल्लो वर्षसम्म हिल्सा नाका बन्द भएकाले सीमितरूपमा सञ्चालन हुने सवारीसाधन नाका खुलेपछि भने चीनको ताक्लाकोटसम्मै सञ्चालन भएका छन् । यससँगै त्यहाँ जानेको सङ्ख्या बढेको छ ।

तपाईँको मत