पत्र-पत्रिकाबाट

आलु उत्पादन काभ्रेमा, भण्डारण ३३२ किलोमिटर टाढा

  • २६ चैत आइतबार, २०७९ | ०७:२७:०० मा प्रकाशित

काठमाडौं । काभ्रेपलाञ्चोकका आलुले भण्डारका लागि ३३२ किलोमिटर दूरी तय गर्ने गरेका छन्। जिल्लामा आलु भण्डारण गर्ने उचित शीतभण्डार (कोल्ड स्टोर) अभावमा किसानले कपिलवस्तुको जितपुरमा रहेको कोल्ड स्टोरमा आलु भण्डारण गर्न थालेका हुन्। किसान आफूले उब्जनी गरेको आलु भण्डारण गर्न ३३२ किलोमिटर टाढाको कोल्ड स्टोरको शरणमा जानुपर्ने बाध्यतामा छन्। 

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका कृषकले पाँचखालमा रहेका शीतभण्डारणमा राखेको आलुमा टुसा पलाउने, अत्यधिक गुलियो हुने र चाउरी पर्ने समस्या देखिएपछि कपिलवस्तुमा रहेको शीतभण्डारणमा लैजाने गरेका हुन्। स्थानीय रामशरण दङ्गालका अनुसार कपिलवस्तुमा रहेको भण्डारणमा भने उत्पादनकै अवस्थाको स्वाद कायम हुने र अत्याधुनिक हुने भएपछि त्यति टाढासम्म आलु भण्डारणका लागि लैजाने बाध्यता देखिएको छ। उनले काभ्रेपलाञ्चोक जिल्लामा रहेका शीतभण्डारणमा राख्ने खर्च र कपिलवस्तुमा लिएर जाँदा लाग्ने खर्चमा खासै फरक नपरेपछि यो वर्ष ४५ हजार किलो आलु भण्डारण गरिएको जानकारी दिए। 

कपिलवस्तुमा प्रतिकिलो तीन रुपियाँ ५० पैसा ढुवानीमा आलु लैजाने गरिएको छ। काभ्रेकै कोल्ड स्टोरमा राख्दा प्रतिबोरा ३५० रुपियाँ शुल्क लाग्ने गरेको र कपिलवस्तुमा सोही बराबरै खर्च लाग्ने र गुणस्तर कायम हुने भएकाले परीक्षणका रूपमा यो वर्ष ४५ हजार किलो आलु भण्डारण गरिएको छ। 

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा आलु उत्पादन, बजारीकरण तथा भण्डारणमा सहयोग पु-याउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन) आलुमार्फत सहयोगका कार्यक्रम सञ्चालन गर्ने विषय उल्लेख भए पनि परियोजना सुरु भएको वर्षाैंसम्म अत्याधुनिक शीतभण्डारका लागि पहलकदमी नभएपछि यस वर्षबाट किसानले ३३२ किलोमिटर टाढा लगेर आलु भण्डारण गर्न बाध्य भएको दङ्गालले बताए। 

सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामार्फत सरकार किसान साझोदारीमा शीतभण्डारका लागि सहयोग गर्ने नीति लिएको थियो। त्यसका लागि प्रस्तावना आह्वान भए पनि काभ्रेमा शीतभण्डार कार्यमा सहयोग आउन सकेन। तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन)का प्रमुख किशोर पन्तले शीतभण्डारका लागि त्यतिबेला १७ करोड रुपियाँसम्म सहयोग भएको बताए। तर सो कार्य कुनै पनि जिल्लामा सफल भने हुन सकेन। 

सरकारले सुपर जोनमार्फत शीतभण्डार गर्न सहयोग गर्ने उल्लेख छ। सोहीअनुसार किसानले उत्पादन गरेको मूल बिउको आलुको भण्डारणमा सहयोग हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन) आलु समन्वय इकाइ काभ्रेका समन्वय प्रमुख सुमन नेपालले बताए। ढुवानी र भण्डारणमा सहयोग गरेर आलुको गुणस्तरीय बिउ उत्पादनमा प्रयास भइरहेको उनले स्पष्ट पारे। गाेरखापत्रमा केशव राज पाैडेलले याे समाचार लेखेका छन् । 

तपाईँको मत