समाज

न्यायाधीशकाे नियुक्ति ढिलाई हुँदा सर्वोच्च अदालतको न्याय सम्पादन प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले न्याय सम्पादनलाई प्रभावकारी बनाउन रिक्त न्यायाधीश नियुक्ति आवश्यक भौतिक पूर्वाधार अभावको समस्या शीघ्र सम्बोधन गर्न आवश्यक रहेको जनाएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले संवैधानिक तथा न्यायिक पत्रकारसँगको भेटमा रिक्त न्यायाधीशको नियुक्तिमा ढिलाई हुँदा न्याय सम्पादन प्रभावित भइरहेको जानकारी दिए । 

प्रवक्ता पौडेलले सर्वोच्च अदालतमा ५ जना न्यायाधीशको पद रिक्त भएपछि मुद्दाको चापका कारण पेशी तोकिएका मुद्दा पनि हेर्न नभ्याउने गरेको बताए । उनले जनशक्ति अभावका बाबजुद पनि मुद्दा फछर्याैटको अवस्था सन्तोषजनक रहेको बताउँदै पाँच बर्ष नाघेका मुद्दाको सङ्ख्या ४ हजार ५ सयमा झारेको जानकारी दिए । 

प्रवक्ता पौडेलले  सर्वोच्चमा रहेका ५ बर्ष पुरानो मुद्दाको पेशी २ महिनाभित्र र नयाँको हकमा ६ महिना नबढ्ने गरी पेशी व्यवस्थापन गरिएको जानकारी दिँदै अन्तरिम आदेश भएको मुद्दाको पेशी एक हप्ताभित्रै तोक्ने गरी व्यवस्था भएको पनि जानकारी दिए । 

न्यायाधीश अभावका कारण सर्वोच्च अदालतले संवैधानिक इजलास हप्ताको एक दिन बुधबारमात्र गठन गर्न थालेको छ । यसअघि संवैधानिक इजलास हप्ताको २ पटक बुधबार र शुक्रबार गठन हुँदै आएको थियो ।

मुद्दाको चाप बढ्दै गएपनि न्यायाधीश नियुक्तिमा ढिलाई भइरहेको भन्दै प्रवक्ता पौडेलले यो अवस्था एक बर्ष रहे सर्वोच्चमा १० जनामात्र न्यायाधीश हुने जानकारी दिए । २१ न्यायाधीश रहेको सर्वोच्च अदालतमा हाल १६ न्यायाधीश छन् । 

प्रवक्ता पौडेलले सर्वोच्च अदालतमा कुल ३६ हजार ५ सय बढी मुद्दा रहेकोमा यस वर्ष ७ हजार ७ सय मुद्दा फछर्याैट भएको बताए । सर्वोच्च अदालतमा अझै २८ हजार ८ सय बढी मुद्दा फछर्याैट हुन बाँकी छ । 

यस्तै, सर्वोच्च अदालतले भौतिक पूर्वाधार अभावका कारण १५ देखि १६ हजार मुद्दाको मात्र व्यवस्थापन गर्न सकिने गरि ठाउँ व्यवस्था गरिएकोमा ४० हजार मुद्दाको मिसिल व्यवस्थापन गर्नुपर्दा समस्या भएको जनाएको छ । 

प्रवक्ता पौडेलले ठाउँ अभावका कारण कर्मचारीलाई कार्य सम्पादन सहज नभएको र मिसिलहरू सेवाग्राही हिँड्ने करिडोरमा राख्नुपरेको लगायतको समस्या रहेको जानकारी दिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत