सडक/यातायात

कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

  • १९ फाल्गुण शुक्रबार, २०७९ | ०७:३९:०० मा प्रकाशित

जाजरकाेट । शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ।

पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए। पालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त रुपमा रु दुई करोड २० लाख लागतमा सडक निर्माण जारी छ।

सडकको पहुँच नहुँदा नेपामा उत्पादन भएको तरकारी बाली खेर गएर कृषक मर्कामा परेको भन्दै सडकको पहुँच विस्तार गर्न लागिएको अधिकृत बाँठाले बताए। पालिकाका अन्य ठाउँमा समेत उत्पादन भएका कृषिजन्य वस्तु निर्यात गर्न पालिकाले काम थालेको गाउँपालिकाका उपाध्यक्ष गीता शाहीले बताइन्।

असार मसान्तसम्म सडक निर्माण पूरा हुने उपाध्यक्ष शाहीले बताइन्। आर्थिक रुपमा बलियो बनाई गाउँपालिकाको कृषि क्षेत्रलाई अत्यधिक रुपमा उन्नत बनाउन काम भइरहेको बताइएको छ । गाउँपालिकाको वडा नं ३ को घोडेछाल, वडा नं ५ को काउला, वडा नं ७ को भिउसमा दात्ते ओखरको पकेट क्षेत्र बनाएर काम भइरहेको कृषि शाखाका प्रमुख विश्वमित्र शर्माले जानकारी दिए।

त्यस्तै गाउँपालिकाको वडा नं १ को सिस्ने, वडा नं ५ को मन्देराटोल र वडा नं ८ को लिसपानीमा भटमासको पकेट क्षेत्र बनाइ भटमास उत्पादनलाई जोड दिइएको छ । यहाँ उत्पादित भटमासको बजारीकरणको काम समेत पालिकाले गरेको उनले बताए।

केही वर्षअघि बाहिरी जिल्लाबाट बीउ आयात गरेर मकै रोप्ने यहाँका कृषकलाई अहिले तीन वर्षदेखि कृषि शाखाकै पहलमा गाउँपालिकाको वडा नं ३ स्थित सीमामा मकैको मूल बीउ उत्पादन गरी मूल बीउबाट उन्नत बीउ उत्पादनको काम सुरु गरिएको छ ।

यहाँ उत्पादित उन्तत बीउ बाहिरी जिल्लाबाट माग आएपछि बिक्रीसमेत गर्न सुरु भएको छ। मौसमी र बेमौसमी तरकारी बाली उत्पादन गर्न गाउँपालिकाको वडा नं २ मा लगानी गर्नुका साथै लगानीअनुसारको प्रतिफलसमेत आएको उहाँको भनाइ छ । शिवालय–३ घोडेछालमा यस वर्ष आलु उत्पादनका लागि शतप्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ।

त्यस्तै वडा नं ७ को जुङ्गा थापाचौरमा कन्ये च्याउ उत्पादनसमेत सुरु गरिएको छ । गाउँपालिका भरी खाद्यान्न उत्पादनका हिसाबले राम्रो मानिएको ठाउँमा कृषक समूहको मागमा आधारित हाते ट्याक्टर वितरणसमेत गरिएको छ । त्यस्तै कृषि शाखाकै पहलमा बेमौसमी तरकारी बालीको बीउसमेत वितरण हुँदै आएको छ।RSS

तपाईँको मत