मेयर बालेन भन्छन् : कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसादको जस्तो नियति भोग्न नपरोस्
- गाउँ सहर संवाददाता
- ११ माघ बुधबार, २०७९ | १२:१७:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रेमप्रसाद आचार्यको आत्मदाहले राज्यको हरेक निकाय असफल भएको पुष्टि गरेको बताएका छन् ।
आचार्यको मृत्यु भएको खबर बाहिरिए लगत्तै साहले सामाजिक सञ्जालमा लेखेका छन् -'आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।'
आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सीपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको दाबी साहले गरेका छन् ।
मेयर बालेन साहकाे स्टाटस्
एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।
नागरिककारुपमा, जनप्रतिनिधीकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।
एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस