स्वास्थ्य

चिकित्सकसहितको स्वास्थ्य सेवा नहुँदा विपन्न परिवारकालाई समस्या

  • २८ पौष बिहीबार, २०७९ | १४:२२:०० मा प्रकाशित

भोजपुर । यहाँका अस्पतालमा विषेशज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा नहुँदा ठूलो रोग तथा आकस्मिकरूपमा हुने दुर्घटनाको उपचारका लागि सेवाग्राही बाहिरका अस्पताल जान बाध्य छन् ।

सुविधासम्पन्न अस्पताल नहुँदा आकस्मिकरूपमा हुने दुर्घटना तथा गर्भवतीलाई अहिले पनि हेलिकोप्टर चार्टर्ड गरेर बाहिर लैजानुपर्ने अवस्था छ ।  त्यो पनि गरिब तथा विपन्न परिवारका लागि सम्भव छैन । एम्बुलेन्समार्फत यहाँबाट बाहिर सिफारिस गरिँदा लामो बाटो भएका कारण कतिपयको अकालमा ज्यान गएको अवस्था पनि छ ।
 
जनताले पाएको सास्तीलाई ध्यानमा राख्दै जिल्ला अस्पतालमा आधुनिक सघन उपचारकक्ष (आइसीयू) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । उपकरण जडानकार्य सम्पन्न भए पनि आवश्यक जनशक्तिको अभावका कारण सेवा सञ्चालन गर्न समस्या छ । सङ्घीय सरकारबाट आएको रु दुई करोड लागतमा यहाँ चार शय्याको भेन्टिलेटरसहित आइसीयू कक्षमा उपकरण जडान गर्ने काम सम्पन्न भए पनि आवश्यक दक्ष चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ ।

यहाँ आवश्यक परेको खण्डमा अझै दुई शय्या थप्न सकिने अस्पतालको भनाइ छ । आइसीयू सञ्चालनका लागि एनएसथेसिया चिकित्सकसहित १० देखि १२ जना आवश्यक रहेको भए पनि जनशक्ति अभावमा सेवा सुरु गर्न नसकिएको अस्पतालका  प्रमुख डा मिलन राईले जानकारी दिए । केन्द्रबाट दरबन्दी आउन ढिलो हुने भएकाले अहिले स्थानीय तहहरूसँग छलफल गरेर बजेटको व्यवस्थापन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

“जिल्लाले भोग्दै आएको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर आइसीयू सेवा सञ्चालनका लागि उपकरण जडानका काम सकिएको छ”, डा प्रमुख राईले भने, “आवश्यक जनशक्ति अभावले सेवा सञ्चालन गर्न समस्या भएको छ, केन्द्रबाट आउने दरबन्दी ढिला हुने भएकाले स्थानीय तहसँग छलफल गरेर जनशक्ति परिचलानका लागि बजेट व्यवस्थापन गर्ने सोच छ, त्यो पनि कतिसम्म सम्भव हुन्छ ।”

आइसीयू सेवा सञ्चालन गर्न भवनको समेत अभाव रहेको छ । बिरामीको चाप बढेकाले १५ शय्याको अस्पतालमा ३७ शय्या सञ्चालन गरिएको छ । जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नोति गर्न मन्त्रालयबाट स्वीकृति पाएको भए पनि आवश्यक काम अघि बढ्न ढिला भएको प्रमुख डा राईले जानकारी दिए । पचास शय्याको अस्पताल सञ्चालनका लागि विशेषज्ञ चिकित्सकसहित एक सय ४९ जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ ।

“अस्पतालमा भवनको अभाव छ”, डा राईले भने, “पचास शय्या सञ्चालनका लागि स्वीकृति पाएको छ, तर आवश्यक काम अघि बढेको छैन, अहिले पनि १५ शय्याको अस्पतालमा ३७ शय्या सञ्चालन गर्नुपरेको अवस्था छ ।” अस्पतालमा हिउँदको समयमा दैनिक एक सयको हाराहारी बिरामी आउने र अन्य समयमा दैनिक दुई सयसम्म बिरामी आउने गरेका छन् । अस्पताललाई आवश्यक पर्ने थप नयाँ भवन निर्माणका लागि रु ४७ करोड ५० लाख बजेट माग गरेको भए पनि त्यसको सुनुवाइ नभएको डा राईले बताए । “अस्पताललाई आवश्यक पर्ने भवनका लागि प्रदेश नं १ सरकारमा बजेट माग गरेका थियौँ”, उनले भने, “बजेट परेन, अहिले जसोतसो गरेर काम सञ्चालन गरेका छौँ, स्वास्थ्यजस्तो कुरामा राज्यले ध्यान दिनुपर्ने हो ।”

अस्पताललाई अवश्यक सुविधासम्पन्न बनाउन करिब रु एक करोड लागतमा अक्सिजन प्लान्ट जडान गर्ने काम पनि सकिएको छ । आइसीयूकक्ष सञ्चालनका लागि जनशक्ति जुटेपछि त्यसलाई पनि सञ्चालनमा ल्याउने उनको भनाइ छ । जिल्ला अस्पतालमा चाँडो आइसीयू सेवालाई सञ्चालनमा ल्याउन जनशक्ति व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । यहाँबाट प्रतिनिधित्व गरेर देशको महत्वपूर्ण जिम्मेवारीमा नेताहरू पुगे पनि आफ्नो जिल्लाको विकासमा ध्यान नदिएको स्थानीय लोकबहादुर प्रधानले बताए ।

“जनशक्ति अभावका कारण आइसीयू सेवा सुरु गर्न नसक्नु जिल्लाका लागि दुःखको कुरा हो”, उनले भने, “आवश्यक जनशक्ति व्यवस्थापनका लागि राज्यले पहल गर्र्न आवश्यक छ, यहाँ यो सेवा चाँडो सुरु भए उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने थिएन ।” विगतमा कच्ची भवनमा सञ्चालन भइरहेको जिल्ला अस्पतालको अहिले केही स्तरोन्नति गरिएको छ । यहाँ करिब रु १३ करोड लागतमा अस्पताल भवन बनेको छ भने रु चार करोड लागतमा चिकित्सक आवास र रु आठ करोड लागतमा नर्सिङ आवास निर्माण भइरहेको छ ।

विगतमा हुँदै आएको रगत अभाव भने अन्त्य भएको छ । यहाँ आवश्यक पर्ने रगतका लागि रेडक्रसमा ब्लड बैंक स्थापना गरिएको छ । अस्पतालमा ५० पिन्टसम्म रगत राख्न सकिने अस्पतालले जनाएको छ । यहाँ सञ्चालनमा रहेको शल्यक्र्रियाबाट गरिने प्रसूति (सिजेरियन सेक्सन) सेवा भने सञ्चालन भइरहेको छ । यहाँ सेवा सञ्चालन भएपछि शल्यक्रियाबाट जटिल खालको प्रसूतिसमेत हुने गरेको छ । सेवा सञ्चालनका लागि दुई चिकित्सक रहेको अस्पतालले जनाएको छ । 

यो सेवा लिनका लागि जिल्लासँगै छिमेकी जिल्ला खोटाङबाट समेत बिरामी आउने गरेको अस्पतालले जनाएको छ । यो सेवा पनि दक्ष चिकित्सक जिल्लामा नबस्दा बन्द हुने गरेको थियो । खास गरेर पहाडी जिल्लाको दुर्गम क्षेत्रमा चिकित्सक बस्न नचाहँदा स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ । अहिले भने जिल्ला अस्पतालमा छ चिकित्सकले सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।

तपाईँको मत