पूर्वाधार

विद्यार्थीहरू टहरामा बसेर पढ्न बाध्य

  • २२ मङ्सिर बिहीबार, २०७९ | १६:२३:०० मा प्रकाशित

सल्यान । जिल्लाको शारदा नगरपालिका वडा नं. ७ कजेरीमा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरू टहरामा बसेर पढ्न बाध्य भएका छन् । जीर्ण अवस्थामा रहेका विद्यालय भवन भत्काइएपछि विद्यार्थीहरूले करिब २ महिनायता टहरामा बसेर पढ्दै आएका हुन् ।

पुराना र जीर्ण भवन भत्काइएपछि कक्षा कोठाको अभावमा ३, ५ र ७ कक्षाका विद्यार्थीहरूले टहरामा बसेर पढ्दै आइरहेका छन् । अहिले निकै चिसो छ, बस्न पनि असहज छ । कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीले भने ‘साँघुरो कोठा भएकाले टहराभित्र भन्दा खुला चौरमा बसेर पढ्न सहज हुन्छ ।’ कक्षा ५ मा अध्ययनरत अर्का विद्यार्थीले चारैतिरबाट जस्तापाता लगाएर बनाएको टहरामा बसेर पढ्दा अर्को कोठामा बोलेका सबै कुरा सुनिने भएकाले पढ्न समस्या भएको बताए । ‘यता सरले पढाउन लागेका हुन्छ, अर्को कोठामा बोलेको सबै कुरा यता सुनिन्छ’– उनले भने– ‘यसले गर्दा पढ्न, लेख्नमा समस्या भएको छ ।’

विद्यालय प्रशासनले भने जीर्ण अवस्थामा रहेका विद्यालयका भवन भत्काइँदा कक्षा कोठाको अभाव भएको र वैकल्पिक बसाइको लागि टहरा बनाइएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक भीम खड्काले पुराना, जीर्ण र जोखिमयुक्त भवन भएकाले भत्काइएको बताए। ‘भवन भत्काएर नयाँ बनाउनुको विकल्प भएन’– उनले भने– ‘भवन भत्काएपछि मात्रै फिल्ड निर्माण भएको हो, अब यही फिल्डमा नयाँ भवन निर्माण हुन्छ ।’ उनले दुई कोठे भवन निर्माणका लागि बजेट पनि विद्यालयमा प्राप्त भइसकेको बताए ।

दुई कोठे नयाँ भवन निर्माणको लागि कर्णाली प्रदेश सरकारले यसै वर्ष २५ लाख रुपैयाँ छुट्याएको छ । विद्यालयमा टहरा निर्माणका लागि नगरपालिकाले सहयोग गरेको छ । २०२१ सालमा स्थापना भएको यस विद्यालयमा अहिले दुई सय ५८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । 

तपाईँको मत