राजनीति

संसद् सचिवालयमाथि सर्वोच्चकाे प्रश्न : कारवाहीको छ वा छैन? नयाँ प्रतिनिधि सभामा पेस हुने वा नहुने ?

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई पत्र पठाएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्प्रभावी भएको बारे विभिन्न प्रश्नहरु सोधेको छ।

राणाविरुद्धको महाभियोग प्रस्ताव अन्तिम टुंगोमा नपुग्दै गौतमले उनको निलम्बन निष्प्रभावी भएको भन्दै पत्रचार गरेका थिए। त्यसमाथि सर्वोच्चले प्रतिप्रश्न सोधेको हो।

 

 

सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले सचिवालयको पत्रका सन्दर्भमा विभिन्न प्रतिप्रश्नहरु गरेका हुन्। मंसिर २१ बसेको सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुल कोर्ट’ को निर्णयानुसार पत्र पठाइएको हो।

सर्वोच्चको पहिलो प्रश्न छ- प्रतिनिधि सभामा मिति २०७८ फाल्गुन १ मा दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा महाभियोग सिफारिस समितिबाट प्रतिनिधि सभामा पेस भएको भनिएको प्रतिवेदनउपरको कारवाहीको निरन्तरता अहिले कायम छ वा छैन?

 

 

दोस्रो प्रश्न छ- नयाँ प्रतिनिधि सभामा सो प्रस्ताव पेस हुने वा नहुने के हो?

तेस्रो प्रश्न छ- उक्त महाभियोग प्रस्ताव तत्कालिन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो? वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो? अथवा महाभियोग लागेका सम्माननीय प्रधान न्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो?

 

चौथो प्रश्न छ- नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो? सर्वोच्चको प्रश्नमा उल्लेखित विषयको जानकारी तत्काल उपलब्ध गराउन भनिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत