खेल

प्रधानमन्त्री कप एक क्रिकेट प्रतियोगिताको फाइनलमा एपिएफ क्लब

  • २४ कार्तिक बिहीबार, २०७९ | १६:४५:०० मा प्रकाशित

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 

कीर्तिपुरस्थित  त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । 

मधेश प्रदेशले एपिएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो । जवाफमा एपिएफले २१ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । एपिएफका लागि लोकेश बमले सर्वाधिक ३५ रनको योगदान दिए भने प्रदीप ऐरीले ३३ तथा आशिफा शेखले २५ रनको योगदान दिए । त्यसैगरी सुमित महर्जनले १३ रन जोड्दा सन्दिप जोरा छ रनमा अविजित रहे । 

बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंहले तीन विकेट झारे भने राजेश यादवले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो । 

मधेश प्रदेशका लागि रुपेश सिंहले अविजित रहँदै सर्वाधिक ३६ रनको योगदान दिए । सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल साहले १३, आदील आलमले ११  तथा राजेश यादवले १० रन बनाए ।

एपिएफका कमल ऐरी एक्लैले चार विकेट लिए भने भुवन कार्की र मौसम ढकालले समान २/२ विकेट झारे । भोलि हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने शनिबार हुनेछ ।

तपाईँको मत