वातावरण

रातको समयमा अनधिकृत फोहोर फाल्नेमाथि महानगरको कारवाही

तस्बिरः कामनपा ।

काठमाडौँ । अनधिकृत फोहोर फाल्नेहरुलाई गरिएको कारवाहीका क्रममा काठमाडौँ महानगरपालिकाले ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ । रातको समयमा सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति तथा व्यवसायी तथा संस्थाका प्रतिनिधिहरुलाई पक्राउ गरी जरिवाना गरिएको हो ।

वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा  साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए ।

फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसाँ जरिवाना रकम तोक्ने गरिएको छ । जरिवाना तोकेपछि कतिपय व्यक्तिले गल्ती महसुस गरेर जरिवाना तिर्नुहुन्छ भने कति व्यक्तिहरु जरिवाना तिर्नु नपर्ने अडान लिनुहुन्छ । भट्ट भन्छन्, ‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन् । कतिपयले आफ्नो फोहोर फाल्न अरुलाई प्रयोग गरेका छन् । कतिपय विद्यार्थीहरुले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनु परेको बताउने गरेका छन् ।’

कारवाहीमा परेका व्यक्ति तथा संस्थाका विषयमा जानकारी दिँदै उनले, ‘पक्राउ परेपछि कतिपयले गल्ती महसुस गर्ने गरेको । कतिले आफूले गरेको काम सही भएको दावी गरेको अवस्था सुनाए । यसरी फोहोर फाल्ने कतिले हातमा बोकेर थोरै मात्रा लिएर आउने गरेको त कतिले सवारी साधनको प्रयोग गरेरै आउने गरेका छन् । अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको छ । एक दिनमा ५ जनाको टोली खटिन्छ ।

काठमाडौँ महानगरले फोहोर फालेका कारण कारवाही गर्नु पर्ने अवस्था नआओस् भन्ने चाहना बताउँदै आएको छ । घरमा कुहिने र नकुहिने फोहोर बर्गीकरण गरेर राख्ने र तोकिएका व्यक्ति तथा सवारी आएपछि मात्र बाहिर निकाल्न महानगरको अनुरोध छ । यसरी गरिएको अनुरोधलाई नटेर्नेमाथि कारवाही गर्ने गरिएको अनुगमन टोलीले बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत