वातावरण

साम्पाङकाे निम्ताेमा बिरूवा राेप्न धरान पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार धरान पुगेर वृक्षारोपण गरेका छन् । प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग गरेको बाचा पूरा गरेका छन् ।  

दुई साता अघि काठमाडौं आएका बेला साम्पाङले खुमलटार पुगेर प्रचण्डलाई श्रमदानको लागि निम्तो दिएका थिए ।  सो क्रममा प्रचण्डले छिट्टै श्रमदानका लागि धरान आउने बाचा गरेका थिए । आज धरान पुगेर साम्पाङसँगै वृक्षरोपण गरेर प्रचण्डले सो बाचा पुरा गरेका हुन् । 

उनले सर्दुखोला जलाधार क्षेत्रमा पुगेर विरुवा रोपेका हुन् । विरुवा रोप्ने क्रममा धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम वेघा पनि सहभागी भए ।

विरुवारोपण कार्यक्रममा संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नु पर्ने काम हर्कले गरेको बताए । ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’  प्रचण्डले भने, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ ।’

उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह गरे । ‘म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहारबाट, उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्न चाहान्छु,’ प्रचण्डले भने ।

 प्रचण्ड धरान पुगेर प्रदेश नं १ को केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा सहभागी हुनेछन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत