शिक्षा

पोखरा विश्वविद्यालयको रजत जयन्ती समारोह एवं २६ औं स्थापना दिवस

लेखनाथ । पोखरा विश्वविद्यालयको रजत जयन्ती समारोह एवं २६ औं स्थापना दिवस सम्पन्न भएको छ ।

समारोहमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्रनराज पौडेलले बेला बेलामा विश्वविद्यालयमा आउने समस्याको हल वार्ताको माध्यमबाटै हुनुपर्नेमा जोड दिएका छन् । उनले विभिन्न मागहरु पुरा गर्ने उद्धेश्यले पठनपाठन अवरुद्ध हुने गरी विश्वविद्यालयमा बेला बेलामा हुने तालाबन्दी विश्वविद्यालय परिवारबाट नै हुने हुँदा यस्ता समस्याहरुको समाधान वार्ताको माध्यमबाट नै गर्न प्राध्यापकहरु, पदाधिकारीहरु, कर्मचारीहरु एवं विद्यार्थीहरुलाई आग्रह गरे ।

मन्त्री पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने क्रममा रहेकाले यससँगै संसारभरका मानिसहरु आउने क्रमसँगै विश्वविद्यालयले पनि आफ्नो क्षमता, योग्यता र कुशलतालाई प्रकट गर्नुपर्ने बताए । उनले सातै प्रदेशमा मेडिकल कलेजहरु सञ्चालन गर्नुपर्ने सरकारको नीति बमोजिम पोखरा विश्वविद्यालयका उप–कुलपति र रजिष्टारले सोहि अनुसारको प्रतिवद्धता जनाएकाले केही समयमै सञ्चालनमा आउने विश्वविद्यालयको आफ्नै मेडिकल कलेजको लागी हार्दिक वधाई ज्ञापन समेत गरेका थिए ।   

सातै प्रदेशमा नास्टको रिर्सच सेन्टर स्थापना गर्ने निर्णय भएको बताउँदै  यस्तो अनुसन्धान केन्द्र, नाष्ट र विश्वविद्यालयलाई समायोजन गरेर अनुसन्धान केन्द्रलाई अघि बढाउने विषयमा विश्वविद्यालयभित्र राखेर अनुसन्धान केन्द्र अगाडि वढाउने निर्णय विश्वविद्यालयले पनि गरेका बताए ।

कार्यक्रममा विश्वविद्यालयका उप–कुलपति प्राध्यापक डा. प्रेम नारायण अर्यालले विगतदेखि यस क्षेत्रका शिक्षाविद, विश्वविद्यालयका पुर्व पदाधिकारीहरु र प्राध्यापकहरुको अथक प्रयासले विश्वविद्यालय अहिलेको अवस्थामा आईपुगेको बताउँदै अझै पनि विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्ने आफ्नो रात दिनको सपना रहेकोमा यसमा सबैले साथ दिनको लागि आग्रह गरे । उनले विद्यार्थीहरुलाई भत्काउने र बिगार्ने कार्यमा नलागी सिर्जनात्मक र अनुसन्धनात्मक कार्यमा लाग्न आग्रह गरेका थिए ।

विश्वविद्यालय २५ औं वर्ष सफलतापुर्वक पार गरी २६ औं वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती स्मारीका समेत विमोचन गरिएको सो कार्यक्रममा पुर्व उप–कुलपतिहरु प्राध्यापक चिरञ्जीवी प्रसाद शर्मा, प्राध्यापक खगेन्द्रप्रसाद भटृराई, प्राध्यापक डा. केशरलजङ्ग बराल, विश्वविद्यालयको स्थापनार्थ महत्वपुर्ण योगदान पुर्याउने पुर्वसभासद एवं शिक्षाविदहरु अशोक पालिखे र आनन्दराज मुल्मी, प्रकाशमान गुभाजु लगायतले बोलेका थिए भने विश्वविद्यालयको चिनारी एवं कार्यक्रमको विषयमा विश्वविद्यालयका रजिष्टार डा. दिपक बहादुर भण्डारी, स्मारिकाका सम्पादकको तर्फबाट विश्वविद्यालयको अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. नमराज धामीले बोलेका थिए ।

कार्यक्रममा विश्वविद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान गर्ने पूर्व उप–कुलपतिहरु, पूर्व रजिष्टारहरु, पुर्वसभासद एवं शिक्षाविदहरु, पुर्व डिनहरु, पूर्व परीक्षा नियन्त्रकहरु, पूर्व कार्यकारी निर्देशकहरु, प्राध्यापकहरु एवं प्रशासकहरुलाई सम्मान गरिएको थियो ।

विश्वविद्यालयका उप–कुलपति प्रा.डा. प्रेमनारायण अयालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विज्ञान तथा प्रविधि संकायका डिन राजेश कुमार ठकुराठीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन उप–प्राध्यापक अतिश कौडिन्यायनले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत