अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
- गाउँ सहर संवाददाता
- २२ जेठ आइतबार, २०७९ | १४:३८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ । उनले भने, 'अहिले प्रि–मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ ।'
प्रदेश १, मधेस र वागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताए । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० वर्षा हुने गर्दछ ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज काठमाडौंको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस