वातावरण

विश्व वातावरण दिवसः ‘हामीले पृथ्वीको निरन्तर-अचाक्ली दोहन गर्‍यौँ’

काठमाडाैँ । आज विश्व वातावरण दिवस । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।

नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।

प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि हुँदै गएकाे छ ।

विश्व वातावरण दिवस, २०२२ को नाराले भन्छ - हामीले पृथ्वीको निरन्तर, अचाक्ली दोहन गर्‍यौँ । अति भयो, अब स्याहार गरौँ । नत्र ८ अर्ब मानव, ८७ लाख प्रजातिका अर्बौं जीवजन्तु र अथाहा वनस्पतिको यो साझा घर हाम्रै लागि घातक बन्न सक्छ । चेतौँ बेलैमा । सुधारौँ बानी–बेहोरा । लागौँ वातावरण संरक्षणतर्फ । दिगो विकासकाे लक्ष्यको १३ नम्बर बुँदाले ‘जलवायुमा पहल’ गर्न भन्छ । किनकी वातावरण स्वच्छ राख्न सकिएन भने सबैकुरा बेकार रहन्छ ।

वातावरणमा भएकाे अधिक दाेहनले समग्र ब्रम्हाण्ड दिनकै बिग्रँदै गएकाे छ । यसलाई जाेगाउनु हामी सबैकाे कर्तव्य हाे । यसै सेराेफेराेमा नेपालले पनि विविध कार्यहरू गर्दै आएकाे छ ।

विभिन्न समयदेखि अर्थात सन् १९६५ देखिकाे वातावरणसम्बन्धी विभिन्न कार्यले पनि दिगो विकासको अवधारणा आज महत्वपूर्ण बनेको कुरामा दुईमत हुन सकिँदैन । विश्व सम्मेलनहरूले थोरै भएपनि वातावरणप्रतिको सहकार्यतामा वृद्धि गराएको छ । यस्ता कार्यक्रमहरूमा अल्पविकसित मुलुकहरूले पनि क्रमशः संलग्नता बढाएका छन् । यसले बोकेका जैविक विविधताको संरक्षण, समाजको दिगोपन, मानविय स्रोतको विकास, जनसंख्या नियन्त्रण, बहन क्षमतामा आधारित विकास, जनसहभागिता, सांस्कृतिक सम्पदाको संरक्षण जस्ता सिद्धान्तहरूलाई अक्षरंस पालना गर्न सके भावि पीढिँको सुरक्षाको ग्यारेन्टी सहजै गर्न सकिन्छ ।

दिगो विकासले भविश्यको पीँढिको आवश्यकता पूरा गर्न बाधा नपुग्ने वर्तमानको आवश्यकता पूरा गर्न जोड दिन्छ । यस सम्बन्धी विभिन्न सम्मेलनहरुले विविध प्रतिवेदनहरुमा छलफल गर्दै हाम्रो साझा भविश्यलाई जोड दिँदै भविश्यको आवश्यकतालाई प्रभाव नपारिकन वर्तमानका आवश्यकताहरुलाई पूरा गर्नुलाई परिभाषित गरेको छ । यस्तै भावी पीँढिको आवश्यकतालाई मध्येनजर गर्दै वर्तमानको आवश्यकतालाई पूरा गर्ने, भोलिको सन्ततिका लागि सञ्चित गर्ने, आर्थिक विकासको उच्चतम फाइदा लिने, भविश्यको उत्पादन बढाउने, एकिकृत विकास गर्ने उद्देश्य दिगो विकासले राखेको हुन्छ ।

यसबाट के स्पष्ट हुन्छ भने दिगो विकासले मुख्यतयाः सामाजिक विकास, आर्थिक विकास र वातावरणीय विकासलाई समेटेको हुन्छ । दिगो विकासका सन्दर्भमा छलफल गर्दा वायूमण्डलीय स्थिति, कृषि, औधोगिक, खाद्य प्रविधि, आर्थिक, उर्जा र सामाजिक अवस्था आदि सूचकको रुपमा लिन सकिन्छ ।

यसकारण वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढंगले अगाडि बढाउनुका साथै शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक रहेको छ । हरेक परिवारले उत्सर्जन गर्ने कार्बन र अन्य हरितगृह ग्यासहरू कम गरेका खण्डमा सौर्यमण्डलको सजीव पिण्डका रूपमा रहेको हाम्रो पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोकिने र मानव अस्तित्व सहजरूपले चलिरहने आशा गर्न सकिने र यसका लागि नगण्य कार्बन उत्सर्जन गर्ने नेपालजस्ता पर्वतीय राष्ट्रले टापु राष्ट्रहरूको समेत साझा आवाज निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चहरूमा जवाफदेहिता र ठोस प्रतिबद्धताको अभियान चलाउन अत्यावश्यक भइसकेको छ ।

यसकारण वातावरणमा बढेकाे दाेहन हरतरहले घटाउँदै दिगाे विकासकाे मुद्धामा केन्द्रित बन्नु नै वर्तमानकाे अपरिहार्यता हुन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत