दिगोविकास

सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेस ठूलो दल बन्दा कसले कति स्थानमा जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७५१ तहको परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिकाको गणना जारी छ भने सुदूरपश्चिमको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाको पुनः मतदान निश्चित भइसकेको छैन ।

स्थानीय निर्वाचनलाई लक्षित गरी तथ्याङ्क अद्यावधिक गर्न तथा सुरक्षालगायत अन्य व्यवस्थापकीय कार्यका लागि निर्वाचन आयोगबाट कार्यसम्पादन हुने गरी गठन गरिएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले आफ्नो गतिविधिसमेत स्थगित गरेको छ । तथ्याङ्क सङ्कलनको कार्य भने अब आयोगको सूचना केन्द्रले गर्नेछ । 

कांग्रेस ठूलो दल

निर्वाचन आयोगको मतपरिणाम बमोजिम स्थानीय तहमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको छ । नेपाली कांग्रेसले ३२८ स्थानीय तहमा प्रमुख-अध्यक्ष पद जितेको छ । यो २०७४ को निर्वाचनमा जितेभन्दा ६२ पद बढी हो । सत्तागठबन्धनले भने ५०३ स्थानीय तहको प्रमुख/अध्यक्ष पद जितेको छ । गठबन्धनका पाँच दलले करिब ६२ प्रतिशत स्थानीय तहका प्रमुख पद जितेका छन् । जसअनुसार नेकपा (माओवादी केन्द्र) ले १२१, जनता समाजवादी पार्टी नेपालले ३० तथा नेकपा (एकीकृत समाजवादी) ले २० स्थानीय तहको प्रमुख वा अध्यक्ष पद जितेका छन् । राष्ट्रिय जनमोर्चाले चार स्थानीय तहको प्रमुख-अध्यक्ष पद जितेको छ । 

माओवादी केन्द्रले २०७४ भन्दा १५ प्रमुख-अध्यक्ष पद थपेको छ भने तत्कालीन सङ्घीय समाजवादी फोरमले चार र राष्ट्रिय जनता पार्टी नेपालले नौ स्थानीय तह गुमाएका छन् । २०७४ को निर्वाचनबाट स्थानीय तहमा पहिलो दल बनेको नेकपा (एमाले) ले भने यसपटक २०५ प्रमुख-अध्यक्ष पद पाएको छ । उसले २०७४ भन्दा ८९ प्रमुख-अध्यक्ष पद गुमाएको हो । नेकपा (एमाले) विभाजनको असर स्थानीय तहको निर्वाचनमा स्पष्ट देखिएको छ । यद्यपि एमाले दोस्रो ठूलो दलको हैसियतमा रहनेछ । 

६२ प्रतिशत पदमा गठबन्धन

स्थानीय निर्वाचन २०७९ मा सत्ता गठबन्धनले करिब ६२ प्रतिशत पद जितेको छ । ३५ हजार २२१ पदका लागि निर्वाचन भएकोमा हालसम्म ३५ हजार ११५ पदको मतपरिणाम सार्वजनिक भइसकेको छ । सत्तागठबन्धनका पाँच दलले २१ हजार ५९२ पद जितेका छन् । १३ हजार ८५० पद जित्दै नेपाली कांग्रेस पदीय बाँडफाँटमा समेत पहिलो दल बनेको छ ।

यो कुल पदको करिब ४० प्रतिशत हुन आउँछ । नेकपा (एमाले) ले ११ हजार ९६९ पद जितेको छ । जुन स्थानीय तहको कुल पदको करिब ३४ प्रतिशत हो । नेकपा (माओवादी केन्द्र) ले पाँच हजार ४४, जनता समाजवादी पार्टी, नेपालले एक हजार ५४८, नेकपा (एकीकृत समाजवादी)ले ९८६ तथा राष्ट्रिय जनमोर्चाले १५९ पद जितेका छन् । गठबन्धनबाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले भने ५८१ पद जितेको छ ।

२२ दलको प्रतिनिधित्व

स्थानीय निर्वाचन २०७९ मा मतपरिणामका आधारमा कुल २२ दलले प्रतिनिधित्व गरेका छन् । करिब आधा दर्जन दल पहिलो पटक प्रतिनिधित्व गर्दैछन् । स्थानीय निर्वाचन २०७९ का लागि कुल ७९ दल दर्ता भएकामा ६५ दल मात्रै चुनावमा स्पर्धामा थिए । विवेकशील साझा पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, नेपाल सद्भावना पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल सुशासन पार्टीले स्थानीय तहमा पहिलो पटक प्रतिनिधित्व गर्न लागेका हुन् । नेपाल जनता पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक पार्टीले समेत प्रतिनिधित्व गर्नेछन् । 

२५ पालिकामा महिला प्रमुख 

स्थानीय निर्वाचन २०७९ मा १४ हजार पाँच सय महिला जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचनमा ५५ हजार ६९९ जना महिला उम्मेदवार थिए । निर्वाचन आयोगका अनुसार तीनवटा पालिकामा प्रमुख र उपप्रमुख दुवैजना महिला निर्वाचित हुनुभएको छ । झापाको गौरीगञ्ज गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र कैलालीको लम्की–चुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार निर्वाचित हुनुभएको हो । दैलेखको भैरवी गाउँपालिकामा रीताकुमारी शाही, कैलालीको लम्कीचुहा नगरपालिकामा सुशीला शाही निर्वाचित हुनुभएको छ । देशभर २५ वटा पालिका प्रमुख-अध्यक्षमा महिला उम्मेदवार निर्वाचित हुनुभएको हो । 

स्वतन्त्रको पनि उल्लेख्य हिस्सा

स्थानीय निर्वाचन २०७९ मा स्वतन्त्रतर्फ १२ जना उम्मेदवारले प्रमुख-अध्यक्ष पदमा जित हात पारेका छन् । अघिल्लो निर्वाचनमा भने छ जना स्वतन्त्र उम्मेदवार मात्रै प्रमुख पदमा निर्वाचित भएका थिए । काठमाडौँ महानगरपालिका र  धरान, धनगढी एवं जनकपुरधाम उपमहानगर तथा बर्दिबास नगरपालिका गरी पाँच विशेष महìवका स्थानीय तहको प्रमुख स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभयो । त्यसैगरी दुई उपप्रमुख र दुई उपाध्यक्ष पदमा समेत स्वतन्त्र उम्मेदवार निर्वाचित भए । 

गाउँ सहर संवाददाता

तपाईँको मत