स्वतन्त्र उम्मेदवार र विजेताकाे चर्चा चुलिँदा राजनीतिक दलकाे साख घटेकाे बुझ्ने हाे ?
- शुसिल चन्द्र ज्ञवाली
- ४ जेठ बुधबार, २०७९ | २१:१४:०० मा प्रकाशित

लोकतन्त्रमा विचार,योग्यता र दक्षताको प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाबाटै नेतृत्व चयन हस्तान्तरण हुने हो । राजनीतिले राज्यको आधार र शासन पद्धतिको अध्ययन गर्नुका साथै यसको सम्बन्ध शासन, शासकीय स्वरुप र शासन पद्धतिसँग हुन्छ ।
राज्य नै राजनीतिको मूल आधार हो । राजनीतिको माध्यमबाट राज्यको विगत, वर्तमान र भविष्यको योजना लगायतका समग्र विषय वस्तुको अध्ययन गर्ने कार्य गर्दछ ।
राजनीतिक दल एउटा राजनीतिक संस्था हो। जसले शासन सञ्चालनका लागि राजनीतिक शक्ति प्राप्त गरी निर्वाचनका माध्यमबाट राजनीतिक दलहरूले सिद्धान्तलाई लिखित दस्तावेजको रुपमा आम नागरिक समक्ष पुर्याउने कार्य गर्दछन् ।
राजनीति दलको माध्यमबाट आफ्ना प्रतिनिधिहरु राजनीतिक दस्तावेजसहित चूनाव चिन्ह लिएर आमनागरिक समक्ष पुग्छन् र निर्वाचनवाट चुनिएर सरकार राज्य सञ्चालन गर्ने कार्य गर्दछ ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको राजनीतिक दललाई चुनावमा स्वतन्त्ररूपमा प्रचार प्रसार गर्न बन्देज हुँदैन ।
१८ औ शताब्दीमा पुरातनवादी टोरीज विरुद्ध हेविञ्ज समूह पछि बेलायतबाट आधुिनक राजनीतिक दलको उदय भएको हो ।
नेपालमा राजनीतिक दलहरु दुई धारबाट उदाएको पाईन्छ । एउटा धार प्रजातान्त्रिक जुन धार नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी लगायतले प्रजातन्त्रका मूल्य मान्यताका विषयमा वकालत गर्दे आएको पाईन्छ । अर्को धारलाई साम्यवादी कम्युनिष्ट विचार धाराको रूपमा हेरिन्छ ।
कम्युनिष्ट आन्दोलन र विचारलाई अगाडि बढाउदै आएका पार्टीहरुमा, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादाी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी लगायतलाई वामपन्थी अर्थात लेफ्ट भनेर चिन्छौँ ।
नेपालमा कम्युनिष्ट विचारधारा र प्रजातान्त्रिक विचारधारा, मूल्य, मान्यता र सिद्धान्तका आधारमा दललाई दुई खेमामा विभाजन गरेका छन्- दक्षिणपन्थी र वामपन्थी ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुले आफ्नो दवदवा कायम राख्दै आएका छन् । वर्षौँदेखि उहि पुरानै अनुहारले दलको नेतृत्व सञ्चालन गरिरहेका छन् । सबै राजनीतिक दलमा तीस वर्षदेखि माथिल्लो नेतृत्वमा एउटै पुस्ता हावी छ । अधिकांश नेता ७० वर्ष हाराहारीका छन् । लामो समयसम्म एउटै पुस्ताले नेतृत्व लिएर बसिरहेको छ ।
२०७९ को स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ र नतिजा आउने क्रम जारी छ । निर्वाचनमा सहभागी भएका राजनीतिक दलका विजेता भन्दा स्वतन्त्र उमेदवार र विजेताको चर्चा र परिचर्चाले बजार तातेको छ । ४३१ पालिकाको मत परिणाम आउँदा ५ ओटा पालिका प्रमुखमा स्वतन्त्र उमेदवार विजय भएका छन् । अन्तिम मत परिणाम आउँदासम्म केहि सङ्ख्यामा वृद्धि हुन सक्छ ।
संघीय राजधानी काठमाडौं लगायत देशभरि काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र शाहको चर्चा र परिचर्चा चलिरहेको छ । उनि राजनीतिक दलका उम्मेदवार भन्दा डवल मतले अगाडि छन् ।
बहुदलीय व्यवस्थामा राजनीतिक दलका उमेदावर भन्दा स्वतन्त्र उमेदवारका चर्चा र परिचर्चा चल्नु असाेभनिय हो । दलीय व्यवस्थामा यस्ता किसिमका स्वतन्त्र उमेदवारको विजयले । दलीय व्यवस्थाप्रति वितृष्णा पैदा हुनेछ र दलीय व्यवस्थाका मूल्य, मान्यता र सिद्धान्तप्रति आँच आउने छ र व्यवस्था नै जोखिमा पर्ने छ ।
किन दलीय प्रतिस्पर्धाका उमेदवार भन्दा स्वतन्त्र उमेदवार र विजेताको चर्चा परिचर्चा भयो । यसका केहि कारण हुन सक्छन् ।
- राजनीतिक दलका निष्ठावान, इमानदार र नैतिक व्यक्तिले टिकट नपाउनु,
- राजनीतिक दलका प्रमुखहरूले राम्रा मान्छे भन्दा पनि आफ्ना मान्छे छोरी, श्रीमति, साला, बुहारी आदिलाई टिकट दिनु,
- राजनीतिक दलमा धनवाद र डनवादले पकड जमाउनु,
- राजनीतिक दलका उमेदावरले दलीय सिद्धान्तमा मात्र निर्भर हुन र दलका कर्याकर्ताको मात्र काखि च्याप्नु,
- राजनीतिक भाषण र आश्वासन मात्र बाँड्नु र कार्यान्वयन नगर्नु,
- भष्टचार नियन्त्रण गर्नु भन्दा भष्टाचारलाइ प्रशय दिनु,
- शिक्षा, स्वास्थ, प्रशासन र विकास निर्माणका क्रियाकलापलगायतका योजना र कार्यान्वयन इकाइमा योग्य र क्षमतावान व्यक्तिभन्दा दलीय भागबन्डामा आधारित हुनु,
- राजनीतिलाई सामाजिक सेवाको सट्टा राजनीतिको आडमा अवैध किसिमका क्रियाकलाप संलग्न हुनु,
- दलीय व्यवस्थाप्रति आमनागरिकको वितृष्णा र अविश्वास पैदा हुनु,
- राजनीति दल भित्रका निष्ठावान, ईमानदार र योग्य कार्यकर्ताले टिकट नपाएका कारण वागी र स्वतन्त्र उठ्नाले,
- देशभित्र देखिएका जवलन्त विषयहरू वेरोजगारी, गरिबी, महँगी र भष्टचार नियन्त्रण गर्न नसक्नु,
- विकास निर्माणका काममा दलीय जस लिन खोज्नु
- राजनितिक दलका पात्रहरूले देशका लागि भन्दा परिवारका लागि राजनीति गर्नु,
- राजनीतिक दलका व्यक्तिहरू देशको हक, हितका लागि लड्नु भन्दापनि व्यक्तिगत स्वार्थमा रमाउनु ।
लगायतका र अन्य कारणहरूले आमनागरिकामा प्रतिशाेधको भावना जागेको हुन सक्छ ।
स्थानीय निर्वाचन सम्पन्न भईसकेको छ । संघ र प्रदेशको निर्वाचन नजिकिँदै छ । यसरी नै संघ र प्रदेशमा पनि स्वतन्त्र उमेदवारको चर्चा र परिचर्चा चल्यो भने डडेलको रूप लिनेछ र दलीय व्यवस्था, राजनीतिक प्रणालीमा समते आँच आउन सक्छ र दलीय व्यवस्थाको भविष्य अन्योल हुन सक्छ ।
त्यसैले राजनीतिक दलका प्रमुख, राजनीतिकर्ता, कार्यकर्ता, भातृसंस्था शुभेच्छुक संस्थालगायतका शुभचिन्तक व्यक्तिहरूले गम्भीर बहस र छलफल गरी दलीय व्यवस्थामा रहेका समस्याहरूको समाधान गरी आमनागरिकहरूलाई दलीय व्यवस्थाप्रति आशा र भरोसाको किरण जगाई प्रतिवद्धता जाहेर गर्नु पर्दछ ।
लेखक ज्ञवाली काठमाडौं कोटेश्वरमा अवस्थित हिमालय कलेजका अध्यापक हुन् ।
प्रतिकृया दिनुहोस