स्वास्नीमात्र देख्ने आँखाका लेन्स फेर्नुपर्छ
- डा. रेणुका साेलु
- २५ बैशाख आइतबार, २०७९ | ०५:३४:०० मा प्रकाशित

आफ्नो करियर राजनीतिमा नै बनाउने सपना देखेर योजना बनाउँदैगरेका किशोरीहरूको जब उस्तै सपना देखेका किशोरसँग बिबाह हुन्छ तब त्यहिँनिर तुहिन्छ सारा सपना र चुँडिन्छ सबै योजना चकनाचुर भएर असरल्ल पोखिन्छ बटुल्नै नसकिनेगरी । बिग्रेको घर सम्हाल्छे महिला, लथालिङ्ग भएको परिवार पनि सम्हाल्छे, कुमान्छे पति छ भने पनि मान्छे बनाउँछे । पति, परिवार, बालबच्चा, इष्टमित्र, नातागोताको साइनो र सम्बन्ध जोगाउँदा जोगाउँदै आफ्नो करियर कहिले भत्किसक्छ ऊ आफैँलाई पत्तो हुँदैन ।
विशेष गरेर राजनीतिक क्षेत्रमा होमिएका महिलाहरूको राजनीतिक व्यक्तित्व निर्माणमा वाधक भनेकै बिबाह कर्म रहेको धेरै उद्वाहरण छन् हाम्रो समाजमा । राजनीति गर्दागर्दैको यात्रामा नै भेट भएर, विचार मिलेर बिबाह हुन्छ तर एक धर्को सिन्दुरमा यति ठूलो तागत हुन्छ कि एउटा केटो घर परिवार सारा एउटी केटीको जिम्मा लाएर पतिबाट देशको नेता बन्छ तर एउटी केटी नेताबाट पत्नीमा सीमित हुन बाध्य हुन्छे । पतिको घरलाई आफ्नो घर सम्झेर त्यही घरभित्रको व्यवस्थापनमै आफ्नो राजनीतिक यात्रा तिलाञ्जली दिन बाध्य हुन्छे एउटी नारी भने एउटा पुरुष आफ्नै घरको वास्ता नगर्ने, सारा व्यवहार पत्नीलाई थुपारिदिएर देशको बागडोर सम्हाल्ने वरिष्ठ नेता कहलिन्छ ।
भनेपछि राजनीतिज्ञ महिलाको घर, थर मात्र गुमाउँदैन बिबाहले उसको राजनीतिक करियरमा नै जहर पिलाउँछ । कतिपय महिलाहरू आफ्नो किशोरावस्थामा अत्यन्तै सक्रिय राजनीतिमा विभिन्न निर्णायक पदीय जिम्मेवारी सम्हाल्दै गरेका भए पनि बिबाहपश्चात कतिले व्यवसाय बदलेका र कतिले त पतिको मृत्युपश्चात मात्र राजनीतिमा फर्किएका धेरै उद्वाहरण छन् । कतिपय महिलाले आफ्नो राजनीतिक करियरका लागि अविवाहित नै बसेको नजिर पनि पाइन्छन् ।
यसरी नियाल्दै गर्दा महिलाले राजनीतिमा आफ्नो व्यक्तित्व निर्माण गर्न के अविवाहित रहनुपर्ने हो ? कि लोग्ने मर्नु नै पर्ने हो ? भन्ने अत्यन्तै संवेदनशील प्रश्न परोक्ष रुपमा हामीतिर नै तेर्सिएको छ ।
यस्तो बेला काठमाण्डौँ महानगरको मेयर जस्तो गरिमामय पदमा सिर्जना सिँहको उम्मेद्वारी परेको छ, यो गौरव गर्नुपर्ने बेला यहाँ विभिन्न मतमतान्तर सार्वजनिक भइरहेका छन् । ती मध्ये सबैभन्दा घिनलाग्दो निच मत भनेको सिर्जना सिँहलाई प्रकाशमान सिँहको स्वास्नीभन्दा माथि नदेख्ने नजर र ती नै निच तर्कहरू नै रहेका छन् । गोरखाजस्तो पहाडी जिल्लामा जन्मेर १७ वर्षको कलिलै उमेरमा नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष जस्तो जिम्मेवार र जवाफदेही गरिमामय पदमा बसेर नेतृत्व सम्हालिसकेकी सिर्जनाको जब राजनीतिक परिवारमा नै बैबाहिक नाता जोडिन्छ तब राजनीतिक यात्रा तोडिन्छ अनि पारिवारीक व्यवस्थापनमा नै मोडिन्छ ।
सर्वोच्च कमाण्डर नेता स्व. गणेशमान सिँह र स्व. मङ्गलादेवी सिँह कि बुहारी र प्रकाशमान सिँहकि पत्नी जस्ता साइनोले सिर्जनाको राजनीतिक व्यक्तित्वलाई क्वाप्लाक्कै निलेको हुनुपर्दछ । बिबाहपश्चात पति प्रकाशमानसिँह नेता प्रकाशमानसिँह हुन सफल भए भने नेता सिर्जना पत्नी सिर्जनामा हराउन बाध्य भइन् । पति प्रकाशमानलाई नेता प्रकाशमान बनाउन पत्नी सिर्जनाको सानो त्याग, तपस्या र समर्पण पक्कै छैन । आफ्नो राजनीतिक अस्तित्वलाई तिलाञ्जली दिएर पतिको नामका लागि सिर्जनाको योगदान कम सोच्नु भनेको मुर्खता मात्र हुनेछ । बिबाह गरेको घर परिवार मात्र नभएर नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता, नेपाली जनतालाई नै हार्दिक स्वागत, सम्मान, सत्कार, सद्भाव, आत्मीय व्यवहार गरेर सबैलाई पारीवारिक सदस्य ठानेर व्यवहार व्यवस्थापन गर्न सामर्थ्य राख्ने एक सक्षम महिला नेता हुन् सिर्जना सिँह भन्ने कुरा जो चाक्सीबारी पुगेको छ उसलाई पक्कै अवगत हुनुपर्छ ।
यी सबै पाटाहरू व्यवस्थापन गर्न कति कठिनाई हुन्छ भन्ने कुरा राजनीतिक परिवारकी एउटि महिलालाई थाहा हुन्छ जो नेताकी स्वास्नी, आमा, छोरी, बुहारी भएर बाँचिरहेकी हुन्छे । आफ्नै व्यक्तिगत क्षमताका आधारमा केही गर्न खोजी भने पनि नेताको साइनो झुड्याएर पासो लगाइदिन्छ यहि समाजले र मर्नु न बौलाउनु बनाइदिन्छ मानसिकता । मन लागेका सबै कुरा बन्धकी बनाएर बाँचेका हुन्छन् प्रायः नेताका श्रीमती साइनोहरू । कति भोको पेट, कति नाङ्गो शरीर अनि कति चिसा रातहरू कटाएका हुन्छ्न् त्यसको लेखाजोखा नै हुँदैन । कतिपय महिलाले यस्ता जन्जिरमा जेलिएर बस्न नहुने सोचमा आफ्नो राजनीतिक करियर बचाउन बिबाह साइनोको सम्बन्ध विच्छेद गर्न समेत बाध्य भएका छन् ।
सिर्जना सिँह यस्तो पात्र हुन् जो सबै साइनोहरू जोगाउँदै असहज परिस्थितिलाई समेत सहज मानेर सम्पूर्ण व्यवहार व्यवस्थापन गर्दै आफ्नो राजनीतिक व्यक्तित्वलाई पुन: प्रत्यक्ष रूपमा सक्रिय भएर सार्वजनिक गरेकी हुन् । जो परोक्ष रुपमा सक्रिय छंदैथियो । यदि सिर्जना सिँहमा राजनीतिक चेत थिएन भने, एउटि बुहारी या पत्नीको मात्र हैसियत थियो भने हरेक पल कचकच गर्थिन् होला र यदि त्यसो भएको भए प्रकाशमान अहिलेको उचाइको नेता नभएर डिप्रेशनमा पो जान्थे कि के थाहा !
सरल, शालिन, धैर्यवान, सिर्जनाको व्यक्तित्व मापन यसरी पनि गर्न सकिन्छ कि ऊनी आफ्नो उम्मेद्वारीको भाषण गर्दैगर्दा अरूको विरोध गर्दिनन्, आफ्नै राजनीतिक प्रस्तावहरू मात्रै पेश गर्छिन् । कसैलाई पनि गाली गलौज गर्दिनन्, अरूको चरित्र हत्या गरेर आफ्नो चरित्र निर्माण हुने होइन झन सकिन्छ भन्नेमा उनको ज्ञान छ, विवेक छ । अरूलाई गाली गरेर ताली बटुल्ने संस्कार उनमा छैन । अरूलाई होच्याएर आफ्नो कद अग्ल्याउने निच सोच पनि छैन उनीसँग । सबैलाई सम्मान गर्दै अरूको अस्तिव समेत स्वीकार्दै आफ्नो अभिमत जाहेर गरिरहेकी छन् सिर्जना । उनीबाट धेरैले राजनीतिक सँस्कार सिक्न सकिन्छ र सिक्दा राम्रो हुन्छ । एउटी महिलाले घर व्यवहार सम्हाल्दै पनि राजनीतिक करियर बनाउन सकिन्छ, त्यसका लागि त्याग, तपस्या, धैर्यता, लगनशीलता, आत्मविश्वास, स्वाभिमान जस्ता विशेषता अपरिहार्य हुन्छ भन्ने जिउँदो प्रमाण हुन् सिर्जना सिँह ।
यसर्थ पनि सिर्जना सिँहलाई एक निर्भिक, निडर, शालिन , दिव्य व्यक्तित्व भएको नेताका रूपना हेरिनुपर्दछ, प्रकाशमान सिँहको स्वास्नी मात्र देख्ने आँखाको लेन्स फेरिनुपर्दछ भन्ने जोडदार माग अहिलेको जल्दोबल्दो मुद्वा बनेको छ र बन्नुपर्दछ ।
प्राप्त प्रतिक्रिया
यसरी नियाल्दै गर्दा महिलाले राजनीतिमा आफ्नो व्यक्तित्व निर्माण गर्न के अविवाहित रहनुपर्ने हो ? कि लोग्ने मर्नु नै पर्ने हो ? भन्ने अत्यन्तै संवेदनशील प्रश्न परोक्ष रुपमा हामीतिर नै तेर्सिएको छ । यसर्थ पनि सिर्जना सिँहलाई एक निर्भिक, निडर, शालिन , दिव्य व्यक्तित्व भएको नेताका रूपना हेरिनुपर्दछ, प्रकाशमान सिँहको स्वास्नी मात्र देख्ने आँखाको लेन्स फेरिनुपर्दछ भन्ने जोडदार माग अहिलेको जल्दोबल्दो मुद्वा बनेको छ र बन्नुपर्दछ ।
Great post
उत्कृस्ट ! पठनीय आलेख ! हाम्रा नेतृहरुको व्यावहारिक कठनाई अनि सोको समाधानको पाटो पनि … जय होस् !!!
क्या दामी कुरा सारै चित्त बुझ्यो मलाई । चस्माको लेन्स फेरिनु पर्छ ।
अहिलेको परीप्रेक्षमा सान्दर्भिक छ ।
लेख समय सान्दर्भिक छ मेम, सृजना सिंह एउटा नमुना पात्र जसले यस्तै भाेगिरहेका पात्रकाे प्रतिनिधित्व गर्छ
प्रतिकृया दिनुहोस