पूर्वाधार

ओमिक्रोनले तुलनात्मक रुपमा गम्भीर बिरामी बनाउने सम्भावना कम देखिनुलाई भाइरसमाथिको जीतका रुपमा बुझ्न नहुने

काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेडरोज आध्यनोमले कोरोनाभाइरसको महामारी निकट भविष्यमा अन्त्य हुने सम्भावना नरहेको बताउँदै नयाँ भेरियन्ट ओमिक्रोनले तुलनात्मक रुपमा गम्भीर बिरामी बनाउने सम्भावना कम देखिनुलाई भाइरसमाथिको जीतका रुपमा बुझ्न नहुने उनले बताएका छन् ।

उनले विश्वका नेताहरुलाई चेतावनी दिँदै महामारी अहिले नै सकिने सम्भावना नरहेको भन्दै सक्रिय भएर महामारीविरुद्ध लाग्न आग्रह गरेका हुन् । पछिल्लो समय युरोपका विभिन्न देशमा ठूलो संख्यामा संक्रमित थपिइरहँदा उनले याे कुरा चेतावनीस्वरूप पत्रकार सम्मेलनमा बताएका हुन् ।

डब्लुएचओको जेनेभास्थित हेडक्वार्टरमा भएको पत्रकार सम्मेलनमा डा. आध्यनोमले गएको हप्ता विश्वभर ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या एक करोड ८० लाख रहेको बताए ।

ओमिक्रोनका कारण अस्पताल भर्ना हुने र कतिपय अवस्थामा मृत्यु पनि हुने गरेकाले कुनै पनि गल्ती नगर्न उनले आग्रह गरेका छन् । ओमिक्रोन भेरियन्ट अहिले तीव्र गतिमा फैलिरहँदा नयाँ भेरियन्ट आउन सक्ने चेतावनी पनि उनले दिएका छन् ।

महामारी नियन्त्रणमा लिनका लागि सावधानी अपनाउनेदेखि खोप अभियानलाई तीव्र पार्नुपर्ने र धनी देशले खोप नपाएका गरिब देशलाई सहयोग गर्नुपर्ने डब्लुएचओले बताएको छ ।

हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन् । पछिल्लाे दिनमा मात्र २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन् ।

अमेरिकामा ४ लाख ३२ हजार, इटलीमा २ लाख २८ हजार, ब्राजिलमा एक लाख ३२ हजार, अर्जेन्टिमा एक लाख २० हजार र बेलायतमा ९४ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक दिनमा विश्वमा १५ लाख ६३ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ७ हजार ६४० संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ४४३, रुसमा ६८८, बेलायतमा ४३८, फ्रान्समा ३७५ र ब्राजिलमा ३१७ जना रहेका छन् ।

निको हुनेमा इटलीमा २ लाख २० हजार, फ्रान्समा दुई लाख ७ हजार, बेलायतमा एक लाख १९ हजार, अर्जेन्टिनामा एक लाख दुई हजार, अमेरिकामा ९३ हजार र टर्कीमा ७७ हजार छन् ।

यता नेपालमा पनि पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५६२ जना संक्रमणमुक्त भएका छन् । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो ।

यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लाे दिन २ लाख १३ हजार १४८ जनाले खाेप लगाएका थिए ।

देशमा अहिले सक्रिय संक्रमितकाे संख्या ३९ हजार ४४ पुगेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत