गाउँ सहर

सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जनाकाे मृत्यु, एक गम्भीर घाइते

काठमाडाैं । हाइड्रोपावरकाे पाइप परीक्षणका क्रममा पाइप पड्किँदा दुई जनाको मृत्यु भएकाे छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किएर बेहोस भएका दुई जनाको ओखलढुङ्गाको मिसन अस्पतालमा पुर्याउँदा मृत्यू भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिएका छन् ।

उक्त घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवासराज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको हो । घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडाैं पठाइएको प्रजिअ शाहीले बताए । घाइतेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए । मौसम सफा नहुँदा तत्कालै उपचारका लागि काठमाडाैं पठाउन नसकेपछि अस्पतालमामा लागेपछि डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत