सामाजिक सञ्जाल फेसबुककाे चिनजानले एक करोड २२ लाख रुपैयाँ ठगी
- सागर बाेहरा
- १७ मङ्सिर शुक्रबार, २०७८ | १३:३३:०० मा प्रकाशित
काठमाडौं । प्रहरीले ठगीकाे आरोपमा दुई जनालाई नियन्त्रणमा लिएकाे छ । एक करोड २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका–१३, ताहाचलका २८ वर्षीय रोजन भुजेल रहेका छन् । उनीहरूमध्ये भुजेललाई बुधबार काठमाडौंको कालीमाटी र भण्डारीलाई बिहीबार काठमाडौंको एयरपोर्ट क्षेत्रबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिएकाे छ ।
पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा. बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लास्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गर्न आग्रह गरेका थिए ।
उनीहरूले सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई भण्डारी र भुजेलसमेतको बैंक खाता नम्बरहरू प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद नौ लाख ५० हजार रुपैयाँ र अरू मानिसबाट थप रकमसमेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुलेको छ ।
उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले बताएकाे छ ।
प्रतिकृया दिनुहोस