सर्वाेच्च अदालतमा वकिलहरूकाे धर्ना सकियाे, प्रधानन्यायाधीश जबराले ताेके मुद्दामा पेसी
- २६ कार्तिक शुक्रबार, २०७८ | १२:५०:०० मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको वकिलहरूकाे आजको धर्ना सकिएको छ । धर्ना सकिएसँगै नेपाल बार एसोसिएसनको आन्दोलन भएको क्षेत्रमा परिचालित सुरक्षाकर्मी हटाइएको छ ।
प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ आज कानुन व्यवसायी धर्नामा बसेका थिए ।
तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए ।
कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोसहितका आरोप लगाउँदै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार निरन्तर आन्दोलनमा उत्रिएको छ ।
आइतवार पनि धर्नाका लागि बिहान साढे ९ बजे नै बारको प्रांगणमा भेला हुन र बिहान १० बजेदेखि साढे ११ बजेसम्म धर्ना दिइने बारले जनाएकाे छ ।
बारको आजको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वोच्च अदालत प्रवेश पाएका छन् । सर्वोच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ ।
प्रधानन्यायाधीश जबराले ताेके मुद्दामा पेसी
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आठवटा इजलासमा पेसी तोकेकोमा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । पेसी तोकिए पनि सुनुवाइ भने प्रारम्भ भएको छैन ।
प्रधानन्यायाधीशले मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस