आराध्यदेव सूर्य र छठी मैयाको आराधना गरी आज छठ पर्व मनाइँदै
- गाउँ सहर संवाददाता
- २४ कार्तिक बुधबार, २०७८ | ०६:३२:०० मा प्रकाशित

काठमाडाैं । आराध्यदेव सूर्य र छठी मैयाको आराधना गरी आज छठ पर्व मनाइँदैछ । छठ पर्वको मुख्य दिनआज, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । नेपालको तराई मधेशका सबै जिल्ला, काठमाडौंसहितका पहाडी जिल्लामा समेत आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
आज व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।
प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशयमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सिंगारिएको हुन्छ ।
छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।
छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ ।
छठ एउटा यस्तो पर्व हो, जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर गरिन्छ । भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
छठ पर्वलाई एक–अर्काको धर्म, भाषा र संस्कृतिलाई सम्मान गरेकाे र नेपालीले महान पर्वको रुपमा एकता, सौभाग्य र समानताको प्रतिकमा मानिएकाे छ । विगतमा तराई–मधेश क्षेत्रमा मात्रै छठ पर्व मनाइने गरेकोमा अहिले छठ पर्व राष्ट्रिय स्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमै यसको महिमा बढ्दै गइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस